यात्रुको संख्या कम रहेको भन्दै निगमले घटायो ओसाका उडान

यात्रुको संख्या कम रहेको भन्दै निगमले घटायो ओसाका उडान

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ १७, २०७६

काठमाडौं : यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान सुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ ।

वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको संख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अब सातामा मंगलबार र शनिवार मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन मंगलवार, आइतवार र शनिवार उडान गर्ने कार्यतालिका थियो ।

ओसाकास्थित कन्साई इन्टरनेसनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो । त्यसयता जम्मा तीन उडान भएका छन् । पर्याप्त मात्रामा यात्रु नभएकाले उडान तालिका संशोधन गरी सातामा दुई दिन मात्रै ओसाका उडान गरिने निगमका सहायक प्रवक्ता सुलेख मिश्रले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार दशैँ, तिहार र त्यसपछिको समयमा हालको उडान संख्या बढाएर चार पुर्‍याइनेछ । सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको संख्या अपुग भएको भन्दै उडान स्थगन गरेको थियो । त्यसताका निगमले काठमाडौंदेखि चीनको साङ्घाई हुँदै ओसाका उडाउने गरेको थियो ।

निगमको ध्यानाकर्षण

नेपाल वायुसेवा निगमले आफ्नो संस्था र कार्यकारी अध्यक्ष मदन खरेलसँग जोडी विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष खरेल हाल अस्वस्थ्य हुनु भएकाले चिकित्सकको सल्लाहबमोजिम उपचारको सन्दर्भमा आराम गरिरहनुभएको स्पष्ट पारेको छ ।

चिकित्सकका अनुसार अध्यक्ष खरेल मौसमी भाइरल र टाइफाइडबाट सङ्क्रमित हुनुभएकाले कम्तीमा पाँच दिन आराम गर्नुपर्नेछ । कार्यकारी अध्यक्ष विश्राममा रहनुभएको प्रसंग अतिरञ्जित समाचारको रूपमा आएकोमा सोको खण्डन गर्दै निगमले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।