जिल्ला अदालतको आदेशविरुद्ध उच्चअदालत पुगे रवि लामिछाने

जिल्ला अदालतको आदेशविरुद्ध उच्चअदालत पुगे रवि लामिछाने

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १७, २०७६

काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परी पाँच लाख रुपैयाँ धरौटी राखेर रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्चअदालत पुगेका छन् ।

 

आफूलाई पाँच लाख रुपैयाँ धरौटी तिराउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै लामिछानेले मंगलबार पाटन उच्चअदालतको हेटौँडा इजलासमा निवेदन दिएका हुन् ।

निवेदनमा उनले अदालतको आदेशबाट आफू अन्यायमा परेको उल्लेख गरेका छन् । आफूले आत्महत्याका लागि पुडासैनीलाई दुरुत्साहन नगरेको उनले दाबी गरेका छन् । अदालतले आफूलाई साधारण तारिखमा रिहा गर्नुपर्ने र विदेश जान रोक लगाउन नहुने जिकिर लामिछानेले गरेका छन् ।

२० साउनमा चितवनको एउटा होटलको कोठामा पुडासैनी झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । आत्महत्या गर्नुअघि उनले आफ्नो मोबाइल फोनमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै खिचेको भिडियो सार्वजनिक भएलगत्तै प्रहरीले तीनै जनालाई काठमाडौंबाट पक्रेर चितवन लगेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै उनीहरूविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको थियो । सोहीअनुसार सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध मुद्दा चलाएको थियो ।

पुडासैनीलाई आत्महत्या गर्न ’दुरुत्साहन’ गरेको अभियोग लागेका लामिछाने र कँडेल जिल्ला अदालत चितवनले ९ भदौमा क्रमशः पाँच र तीन लाख रुपैयाँ धरौटी लिएर छाडेको थियो । अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गरिएको थियो ।