विराज विरासतको एक दशक

विराज विरासतको एक दशक

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १८, २०७६

नेपाली फुटबलमा विराज महर्जनको नाम सायदैले भुल्छन् । काठमाडौंका रैथाने विराजले फुटबल विरासतमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको खेलबाट राष्ट्रिय टिममा ‘डेब्यु’ गरेपछिको एक दशक उनी नेपाली राष्ट्रिय टिमका निर्विकल्प खेलाडीका रूपमा रहे ।

निर्विकल्प रक्षक

सन् २००८ पछिका ११ वर्ष उनले नेपाली फुटबलमा नम्बर एक डिफेन्डरको भूमिका निभाए । विराजले दक्षिण एसियाको फुटबलमा आफ्नो उत्कृष्ट रक्षापंक्तिको नमुना प्रस्तुत गरे । त्यही भएर उनले आफ्नो करिअरको ऊर्जाशील समयमा कहिल्यै पनि टिमबाहिर रहनुपरेन । विराज भन्छन्, ‘मैले आफ्नो करिअरको अधिकांश समय कडा मिहिनेत गरेँ, जसको परिणाम भनेको कहिल्यै पनि राष्ट्रिय टिमबाहिर रहनुपरेन ।’

मिजासिलो स्वभावका डिफेन्डर विराजले जीतसँगै हार पनि धेरै पटक महसुस गरेका छन् । जीतले स्वाभाविक उत्साह दिँदा हारको अनुभव कस्तो हुन्छ ? ‘मैदानमा उत्रँदै गर्दा त्यहाँ विराज मात्र हुन्न, हुन्छ त सिंगो देश । त्यसैले शत प्रतिशत जीतका लागि नै खेल्ने हो तर खेलाडी जति अघि गए पनि फर्कने ठाउँ राख्नुपर्छ’, विराज भन्छन्, ‘त्यही भएर हारलाई जीतको बाटो सम्झिएर चित्त बुझाउने गरेको छु ।’ उनले खेलाडीको जीवन भनेकै हार र जीतको संगम भएको, न सधैँ जीत हुने, न सधैँ हार नै हुने बताए । ‘त्यसैले यो दुवै कुरालाई मैले नजिकबाट नियालेको छु’, उनले भने ।

विराजले अफगानिस्तानसँग सन् २०१३ को साफ च्याम्पियनसीपमा जित्दाजित्दै हारेको स्मरण गर्दै भने, ‘जोर्डनसँग उसको मैदानमै ९ गोल खाएका थियौँ । त्यही हारले बेलाबेलामा दिमाग हल्लाउँछ तर फेरि जोर्डनलाई घरेलु मैदानमा बराबरीमा रोकेको क्षण साथमा भारतलाई हराएर साग गोल्ड मेडल जितेका क्षणले पुनः जीवनमा उत्साह सिर्जना गराउँछ ।’

सर्वाधिक खेल खेल्ने खेलाडी

करिअरको उत्तरार्द्धमा पुगेका विराजको अब ठूलो अपेक्षा छैन तर उनले आफ्नोतर्फबाट नेपाली टिमलाई शत प्रतिशत उपलब्धिका लागि प्रयास गरे । शान्त स्वभावका विराजले राष्ट्रिय टिमबाट नेपाली फुटबलमै सर्वाधिक ७१ क्याप जितेका छन् । उनी नेपाली राष्ट्रिय टिमबाट सर्वाधिक फुटबल खेल्ने खेलाडीको रूपमा रहेका छन् । उनले यसबीचमा नेपालाई धेरै उपलब्धिको हकदार बनाए । नेपालको रक्षा पंक्तिमा उनले आफूलाई सतिसाल बनाएर उभ्याए ।

विराजले यसबीचमा नेपालालई बंगबन्धु गोल्डकप, साग गोल्ड मेडल जिताए । कप्तानको रूपमा उनी सर्वाधिक सफल कप्तानसमेत बने । पछिल्लो समय उनले कुवेतविरुद्ध कप्तानको जिम्मेवारी निभाउँदै मैत्रीपूर्ण खेलमा राष्ट्रिय जर्सी लगाए । कुवेत र नेपालबीच गत मार्चमा भएको खेलका दौरान उनको कप्तानीमा भएका दुई खेलमा नेपालले पहिलो खेलमा बलियो कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा १–० ले पराजित भएको थियो ।

क्लोज क्याम्प गुमाए

कुवेतबाट फर्किएपछि विराज केही समयका लागि अमेरिका लागे । यसबीचमा राष्ट्रिय टिम भने कतार विश्व कपको दोस्रो चरणको छनोटको क्लोज क्याम्पमा रहेको थियो । बलिया राष्ट्रविरुद्धको खेलमा उनी केही समय अभ्यासबाहिर रहे । जब उनी नेपाल फर्किएर क्लोज क्याम्पको तयारी गर्दै थिए, त्यहीबीचमा उनको देब्रे खुट्टामा पिलो आयो, जसले गर्दा उनले मलेसियामा भएको मैत्रीपूर्ण खेल गुमाए । उनले विस्तारै आफूलाई रिकभर त गरे तर दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेविरुद्धको खेलमा स्थान बनाउन सकेनन् । विराजलाई प्रशिक्षक योहान कालिनले टिमबाहिर राख्ने निर्णय गरे ।

विराज भन्छन्, ‘नेपाली फुटबलले मलाई जति विश्वास गरेर यो अवस्थासम्म ल्यायो, त्यो सधैँ महत्त्वपूर्ण हुनेछ ।’ उनले राष्ट्रिय टिममा पुनरागमन गर्ने विश्वास लिए । ‘मैले प्रशिक्षकसँगको सल्लाहमै मलेसिया नजाने निर्णय गरेको थिएँ । त्यसपछि पुनरागमनको प्रयासमै रहेँ’, महर्जनले भने, ‘सायद कुवेत र ताइपेविरुद्ध पनि प्रशिक्षकले मेरो स्वास्थ्यलाई हेरेर नै निर्णय लिएको होला । अब घरेलु मैदानमा हुने खेलमा अवसर पाउने विश्वास लिएको छु ।’

हल्लाहरू धेरै चले

विराज पछिल्लो समय राष्ट्रिय टिममा नपरेपछि उनका बारेमा धेरै टीकाटिप्पणी भए । विराज भन्छन्, ‘धेरैले धेरै कुरा गरे । मैले डेब्यु खेलदेखि सायदै राष्ट्रिय ठूला प्रतियोगिताहरू गुमाएको छु । त्यसैले पनि धेरै खालका हल्ला चल्नु स्वाभाविक हो ।’

उनले अहिले टिममा नपर्नुमा आफ्नो खुट्टामा आएको पिलो नै मुख्य कारण भएको बताए । विराज भन्छन्, ‘देब्रे खुट्टामा एकै पटक पाँचवटा पिलो आए । यसको महसुस मैले गरेको थिइनँ । सुरुमा मैले सामान्य अवस्थाकै रूपमा लिएको थिएँ तर गाह्रो बनाउँदोरहेछ ।’ उनलाई रिकभरीका लागि दुई साता बढी समय लाग्यो ।

विराज पुन अहिले नियमित अभ्यासमा छन् । उनी विश्व कपको दोस्रो चरणकै खेलका दौरान दशरथ रंगशालामा हुने होम खेलहरूमा टिममा फर्किनेमा विश्वस्त छन् । उनी भन्छन, ‘म घरेलु मैदानमा पुनरागमन गर्ने प्रयासमा छु, मेरो प्रयास निरन्तर छ ।’