जापानी प्रधानमन्त्रीले पुटिनलाई भेट्ने, क्षेत्रीय सरोकार र शान्ति सम्झैताबारे छलफल हुने

जापानी प्रधानमन्त्रीले पुटिनलाई भेट्ने, क्षेत्रीय सरोकार र शान्ति सम्झैताबारे छलफल हुने

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १८, २०७६

जापानका प्रधानमन्त्री सिन्जे आबे बुधबार रुसतर्फ प्रस्थान गर्नुभएको छ । तीन दिने भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत भेट्नेगरी उहाँ रुस प्रस्थान गर्नुभएको हो ।

भेटका क्रममा उहाँहरूबीच क्षेत्रीय सरोकारका विषय, शान्ति सम्झौतालगायतका विषयमा छलफल हुने तय भएको छ । रुसतर्फ प्रस्थान गर्ने बेलामा आबेले भन्नुभयो, 'मैले राष्ट्रपति पुटिनसँग खुला रूपमा छलफल गर्नेछु, हामीबीच शान्ति सम्झौताका नयाँ चरणहरूका बारेमा कुराकानी हुनेछ ।' प्रधानमन्त्री आबेले राष्ट्रपति पुटिनलाई बिहीवार भेट्ने तय भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

त्यसको अघिल्लो दिन रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधवार भेटवार्ता गर्नुभएको छ । रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा उहाँहरूका बीचमा वार्ता भएको अधिकारीहरूले जनाएका छन् ।

पूर्वी आर्थिक मञ्च (इस्टर्न इकोनमिक फोरम)को बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी हाल रुस पुग्नुभएको छ । रुसको आयोजनामा सन् २०१५ देखि भ्लाडिभोस्टकमा वर्षैपिच्छे आयोजना हुने यस सम्मेलनमा एसियाली मुलुकहरूबीच आर्थिक साझेदारी प्रवर्द्धनका विषयमा छलफल हुने गर्छ ।

रुसले सन् २०१४ मा क्रिमियालाई कब्जा गरेपछि पश्चिमी राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएसँगै रुसले यो मञ्च स्थापना गरेको थियो ।