२०२२ विश्वकप एसिया छनोट: आज नेपाल कुवेतविरुद्ध भिड्दै

२०२२ विश्वकप एसिया छनोट: आज नेपाल कुवेतविरुद्ध भिड्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १९, २०७६

नेपाली राष्ट्रिय फुटबल टोलीले सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटको दोस्रो चरणमा आज कुवेतविरुद्ध प्रतिष्पर्धा गर्दै छ  । गत सेप्टेम्बरमा साफ च्याम्पियनसीप खेलेपछिको यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हो ।

समूह ‘बी’मा रहेको नेपालले अवे खेलअन्तर्गत कुवेत सिटीको जविर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा नयाँ इतिहास बनाउने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछ । उतारचढावपूर्ण अवस्थाबाट गुज्रिरहेको कुवेतको फुटबल र बलियो आत्मविश्वास बोकेको नेपाल दुवैका लागि पहिलो खेल प्रतिष्ठाका रूपमा रहेको छ ।

प्रशिक्षक योहान कालिनले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा रूपमा कुवेतविरुद्ध औपचारिक डेब्यु गर्नेछन् । सन् २००६ को विश्वकपबाट सुरु भएको यो फर्म्याटमा नेपाल यस पटक वरीयताका आधारमा सोझै दोस्रो चरण प्रवेश गरेको हो । त्यसैले पनि नेपालका लागि कुवेतविरुद्धको खेल अर्थपूर्ण छ ।

पहिलो पटक यो अवसर

सन् २००६ बाट सुरु भएको विश्वकपको यो फर्म्याटमा नेपालले समुह विभाजन भएर प्रतिष्पर्धा गर्न लागेको यो पहिलो मौका हो । यसअघि नेपालले सन् २०१४ को विश्वकप छनोटमा टिमोर लिस्टेलाई हराएर दोस्रो चरणको प्लेअफमा स्थान बनाएको थियो, जहाँ नेपाल जोर्डनसँग फराकिलो अन्तरले हार्दै प्लेअफबाटै बाहिरिएको थियो । विश्वकप छनोटमा वरीयताका आधारमा यो पटक नेपालले दोस्रो चरणको प्रतिष्पर्धाको समूहमै रहेर प्रतिष्पर्धा गर्न लागेको यो पहिलो पटक हो ।

नेपाल सन् २००६ को विश्वकपका लागि गुआमविरुद्ध पहिलो चरणमा प्रतिष्पर्धाका लागि छानिएको थियो तर नेपालले उक्त खेलबाट हात झिकेको थियो । सन् २००७ मा नेपालले ओमानसँग सन् २०१० को विश्वकपको पहिलो चरणमा प्रतिष्पर्धा गर्दा नेपाल पराजित भएको थियो । त्यस्तै, सन् २०१४ को विश्वकपका लागि भने नेपाल टिमोर लिस्टेलाई पराजित गर्दे दोस्रो चरण प्लेअफमा पुगेको थियो, जहाँ जोर्डनसँग पराजित भएको थियो । सन् २०१८ को विश्वकपमा नेपाल भारतसँग गुहाटीमा पहिलो चरणमा नै पराजित हुन पुगेको थियो  ।

मैत्रीपूर्ण खेलको त्यो शान

नेपालले कुवेतविरुद्ध गत चैतमा १९ वर्षपछि दुई मैत्रीपूर्ण खेलमा प्रतिष्पर्धा गरेको थियो । तत्कालीन समयमा नेपालले सबै राष्ट्रिय खेलाडीलाई कुवेत लगेको थिएन । अधिकांश युवा अनुहार लिएर कुवेतविरुद्ध भिडेका कालिनले राम्रो नतिजा निकालेका थिए, जसमा नेपालले पहिलो खेलमा कुवेतलाई बराबरीमा रोक्दा दोस्रो खेलमा १–० ले पराजय व्योहोरेको थियो  । यद्यपि, नेपालले प्रतियोगितात्मक खेलमा भने सन् २००० मा एएफसी एसियाकपका दौरान कुवेतविरुद्ध खेलेको थियो । त्यसपछि यो नै अर्को खेलका रूपमा रहनेछ । एसियाकपका दौरान नेपाल कुवेतसँग ५–० ले पराजित भएको थियो । तथापि, त्यसयताको अवस्थाको पछिल्लो नतिजा गत चैतको मैत्रीपूर्ण खेल नै हो । त्यसलाई आधार मान्दा कुवेतविरुद्ध नेपालले बलियो चुनौती दिने निश्चित छ ।

गोलरक्षक किरण चेम्जोङको उत्कृष्ट प्रदर्शन र प्रशिक्षक योहान कालिनको रक्षात्मक रणनीति सफल हुँदा कुवेत अप्रत्यासित नतिजाको सिकार भएको थियो । त्यसैले कुवेत बिहीवार तुलनात्मक रूपमा संयमित रहनेछ ।

६ खेलाडीको डेब्यु

तत्कालीन समयमा यु–२३ टिमका धेरै सदस्यहरू एएफसी च्याम्पियनसीप, २०२० को छनोटका लागि कतार रहेका थिए । यसले गर्दा कालिनले कुवेतविरुद्धको मैत्रीपूर्ण खेललाई प्रयोगका रूपमा समेत लिए । अधिकांश नयाँ अनुहार लिएर कुवेत पुगेका कालिनले तत्कालीन समयमा नेपालबाट दुई खेलमा ६ खेलाडीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएका थिए ।

कुवेतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा अजित भण्डारी, रवि पासवान, विमल राना, सन्तोष तामाङ र सुरज विश्वकर्माले डेब्यु गरेका थिए । त्यस्तै, दोस्रो खेलमा उनले आशिष लामालाई सुरुवाती लाइनअपमा नै राख्दै डेब्यु गराएका थिए ।