अफगानिस्तानमा कार बम विस्फोटमा परी दर्जनको मृत्यु

अफगानिस्तानमा कार बम विस्फोटमा परी दर्जनको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १९, २०७६

अफगानिस्तानको राजधानी काबुलको सास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुृर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा परी अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । उक्त विस्फोट प्रहरीचौकी नजिकै भएको थियो । विस्फोट भएको सो स्थानमा राष्ट्रिय सुरक्षा निर्देशनालयको कार्यालय, अमेरिकी दूतावास र नेटोको नेतृत्वमा रहेका सेनाहरू रहेका थिए ।

अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अवस्थामा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट घटनाहरू भइररहेका छन् । काबुलको आवासीय क्षेत्रमा गत सोमबार भएको विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् । यस विस्फोटमा परी अन्य ११७ व्यक्ति घाइते भएका थिए । सोमबार बम विस्फोट भएको यस समयमा अमेरिकी विशेष दूत जाल्मे खलिलजाद अफगानिस्तानको राजधानी काबुलमा प्रस्तावित सम्झौताको बारेमा छलफल गर्न आउनुभएको थियो ।

उहाँ अफगानिस्तानमा तालिबान लडाकु र अमेरिकाबीच शान्ति सम्झौता हुन लागेको यस अन्तिम समयमा यहाँ रहेका अमेरिकी सेना फर्काउने विषयमा सम्झौताका लागि आउनुभएको थियो । आज भएको कारबम विस्फोट केही दिनयता तालिबान लडाकुले गरेको यो चौथो ठूलो आक्रमण हो ।

सप्ताहन्तमा अफगानिस्तानको उत्तर भागमा पर्ने दुई प्रमुख शहरमा भएका भीषण आक्रमणमा दर्जनौं सुरक्षाबल र नागरिक मारिनुका साथै घाइते भएका छन् । अल कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित ट्विन टावर आक्रमणपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो ।

उक्त समयमा एक लाख ३० हजारभन्दा बढी अमेरिकाको नेतृत्वमा नेटो सेना अफगानिस्तानमा प्रवेश गरेका थिए । सन् २०१४ को डिसेम्बरमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै प्रायः नेटो सेना अफगानिस्तानबाट आआफ्नो देश फर्किएका थिए । सोही समयबाट हालसम्म करिब १४ हजार अमेरिकी सेना अझै अफगानिस्तानमा रहेका अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको थियो ।

ठूलो सङ्ख्यामा नेटो आवद्ध सेना अफगानिस्तानबाट फर्किएपछि यहा सुरक्षाकर्मी, सरकारी अधिकारी र सर्वसाधारण जनता लक्षित आक्रमणमा वृद्धि भएको छ । यतिखेर भने अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौतीको चर्चा शुरु भएको छ । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आठ हजार ६०० सेना मात्र अफगानिस्तानमा रहने बताउनुभएको थियो । वासिङ्गटनले गत बिहीबार अफगानिस्तानमा रहेका अमेरिकी सेनाको सङ्ख्या आठ हजार छ सयमा झार्ने घोषणा गरेको थियो ।

तालिबान लडाकू समूहसँग अमेरिकाले गरिरहेको शान्ति वार्ता टुङ्गो लाग्न लागेको बेला उक्त घोषणा भएको बताइएको थियो । सन् २००१ सेप्टेम्बर ११ मा भएको न्युयोर्क र वासिङटनमा करिब तीन हजारको ज्यान जाने गरी भएको आक्रमणको एक महिनापछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुश प्रशासनले सन् २००१ को अक्टोबर ७ मा अफगानिस्तानमा अमेरिकी सेना पठाउने निर्णय गरेको थियो ।

अफगानिस्तानमा उक्त समयमा कट्टरपन्थी तालिबान शासकले ओसामा बिन लादेन र उनको नेतृत्वमा रहेको अल कायदा नामक आतंककारी संगठनलाई शरण दिइरहेको थियो । ट्विन टावरमाथि आक्रमण सोही समूहले गरेको थियो । यसै कारण उक्त संगठनमाथि अमेरिकाको नेतृत्वमा कारबाही सुरु भएको थियो । अमेरिकी सेनाको नेतृत्वमा पछि केही नेटो सैन्यको पनि सहभागिताबाट अफगानिस्तानमा तालिबानमाथि कारबाही थालियो र यसलाई आतङ्कवादविरुद्धको युद्ध भनिएको थियो ।

सन् २०१४ को डिसेम्बरमा अमेरिकी नेतृत्वमा रहेका प्रायः सैनिक अफगानिस्तानमा फर्किसकेका थिए । अमेरिका र अफगानिस्तानबीच भएको सम्झौताअनुरूप १२ हजार ५०० विदेशी सैनिक अफगानिस्तानमा रहने सम्झौता भएको थियो । हाल यस संख्यालाई अझै कटाएर आठ हजार ६०० जना मात्र अमेरिकी सेना अफगानिस्तानमा राख्ने विषयमा अमेरिकाले प्रस्ताव गरेको छ ।

उता, अफगान तालिबानसँग अमेरिकाले शान्तिवार्ता जारी राखेको बताइएको छ । शान्ति वार्ता जारी रहेका बेला यता अमेरिकाले भने अफगानिस्तानबाट सेना कटौतीको प्रस्ताव गरेको थियो । तालिबान लडाकु समूहले भने आक्रमणको क्रमलाई अन्त्य गरेको छैन ।