फेसबुकका सिइओ जुकरबर्गलाई  जेल हाल्न अमेरिकी सांसदकाे माग

फेसबुकका सिइओ जुकरबर्गलाई  जेल हाल्न अमेरिकी सांसदकाे माग

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २०, २०७६

काठमाडौँ, एजेन्सी । अमेरिकी सांसद रान वाइडेनले पछिल्लो हप्ता दिएको एक अन्तरवार्तामा फेसबुकका सिइओ मार्क जुकरबर्गलाई जेल हाल्नुपर्ने बताएका छन् । किनकि उनले डेटा लिकको  मामिलामा अमेरिकी नागरिकसँग धेरै पटक झुट बोलिसकेका छन् । उनले अगाडि भने, जुकरबर्गलाई व्यक्तिगत रूपमा पनि यसका लागि जिम्मेवार मानिनुपर्छ । उनले धेरै मानिसलाई दुःख पुर्‍याएका छन् । वाइडेनको यो अन्तरवार्ता ४ सेप्टेम्बरमा मिडियामा आएको छ ।  

वाइडेनले २०१८ मा कंज्यूमर डेटा प्रोटेक्शन बिलको प्रस्ताव पेस गरेका थिए । यस अन्तर्गत फेडरल ट्रेड कमिसन (एफटीसी) का उपभोक्ताको निजता उल्लङ्घन गर्ने कम्पनीका विरुद्ध कडा कारबाही गर्ने अधिकार प्राप्त हुनेछ । प्रस्तावमा दोषी कम्पनीका खिलाफ कारबाही गर्ने अधिकार प्राप्त हुनेछ भने दोषी कम्पनीका अधिकारी विरुद्ध २० वर्षको जेल सजाय तथा ५० लाख डलर जरिवाना भुक्तानी गनुपर्ने प्रावधान छ ।

जुलाईमा एफटीसीले फेसबुकमाथि ५ अरब डलरको जरिवाना लगाएको थियो । यो एफटीसीद्वारा कुनै पनि सूचना प्रविधि कम्पनीमाथि लगाएको अहिलेसम्मको सबैभन्दा ठुलो जरिवाना हो ।

एफटीसीले मार्च २०१८ मा प्राइभेसीको मामिलामा फेसबुकका विरुद्ध जाँच सुरु गरेको थियो । एफटीसीले भनेको छ, रिसर्च फर्म कैंब्रिज एनालिटिक्सले फेसबुकको ८.७ करोड प्रयोगकर्ताको निजी डेटा हासिल गरेको थियो । फेसबुकले यसबारेमा आफ्ना प्रयोगकर्तालाई जानकारी दिनुपर्थ्यो ।