३४ हजार ९८० बिरुवा रोपेर  काङ्ग्रेसले दोस्रो चरणको जागरण अभियान प्रारम्भ गर्ने

भदौ २४  असाेज ७ सम्म १५ दिने अभियान चल्ने

३४ हजार ९८० बिरुवा रोपेर  काङ्ग्रेसले दोस्रो चरणको जागरण अभियान प्रारम्भ गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले २०७६ भदौ २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेस नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण प्रारम्भ गर्ने  जनाएको छ । 

जागरण अभियानका बारेमा जानकारी दिन २०७६ भदौ १९ गते बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अभियान विपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन भदौ २४ गते प्रारम्भ भई असोज ७ गते उक्त अभियान समाप्त हुनेछ ।

दोस्रो चरणको अभियान अन्तर्गत पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ लक्ष्य राखिएको छ । 

 जागरण अभियानको दोस्रो चरणमा पूर्वघोषणा अनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा  केन्द्रित अभियान सम्पन्न गरिनेछन् । जस अनुरूप हरेक क्षेत्रमा एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटिने समेत प्रवक्ता  शर्माले जानकारी  दिनुभयो । 

काङ्ग्रेसले प्रथम चरणमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको थियो । जागरण अभियानको प्रथम चरण वैशाख २५ मा प्रारम्भ भई जेठ २५ मा समापन गरिएको थियो ।

एक महिने प्रथम चरणपश्चात् दोस्रो चरण १५ दिनको रहेको छ । प्रवक्ता शर्माले भन्नुभयो, 'अभियानका औपचारिक कार्यक्रम छरितो हुने र वक्ता सीमित सङ्ख्या तथा बढी अन्तरक्रियात्मक हुनेछन् । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका कार्यक्रम निर्धारण गरिएको छ ।'

 ३५ हजार बिरुवा रोपिने विपी कोइरालाको १०६औँ जन्म जयन्तीको प्रतीक स्वरूप १०६ बिरुवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षारोपण गरेर दोस्रो चरणको अभियानको देशव्यापीकरण उद्घाटन गरिनेछ ।

यसरी एकै दिन ३४ हजार ९८० बिरुवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्‍याउने कार्यक्रम तय गरिएको छ । केन्द्रीय तहबाट अभियान क्रममा केवल एउटा मात्रै सभा निर्धारित गरिएको छ । असोज ७ गते अन्तिम दिन जिल्ला स्तरीय विरोध प्रदर्शन गरिने तय भएको जनाइएको छ ।

त्यसबाहेक अभियानमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो । नागरिक पङ्क्तिमा सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै वितृष्णा समाजमा बढ्दै गएको भन्दै काङ्ग्रेसले अभियानका क्रममा देश व्यापीरूपमा सामाजिक संवादमा सहभागी हुने योजना बनाएको प्रवक्ता  शर्माले बताउनुभयो ।

समाजका विभिन्न समुदाय, वर्ग, पेसा र क्षेत्रका जनतासँग सरकारसँग अपेक्षा के थिए र आजको समयमा कस्तो परिणाम अनुभूति र समीक्षा गरिरहनुभएको छ, आजको अवस्थामा काङ्ग्रेससँग अपेक्षाहरू के छन् ? लगायत प्रश्नमा स्थानीय तहमा वडा स्तरीय सामाजिक संवाद कार्यक्रमहरू आयोजना हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

सामाजिक विसङ्गतिविरूद्ध जागरण अभियानका क्रममा बोक्सी प्रथा, दाइजोको निहुँमा भएका उत्पीडन, जातीय छुवाछुत र विभेद, बाल श्रम शोषण, घरेलु हिंसा, चेलीबेटी बेचबिखन, छाउपडीलगायत अन्य विसङ्गतिहरूका विरुद्ध आवश्यक चेतना अभिवृद्धिमा पार्टीको सहभागिता रहने पार्टी कार्यालयले जनाएको छ । त्यस्तै अभियान क्रममा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिनेछन् । 

३३० प्रदेशसभा क्षेत्रमा औसत ३०० युवाका बिचमा विपीको विचार र संस्कारलाई कार्यक्रम क्रममा सम्प्रेषण गर्दा समग्रमा एक लाख युवासँग संवाद र सम्प्रेषण १५ दिनको अवधिमा हुने उहाँले जानकारी गराउनुभयो । 

अभियानका कार्यक्रम मध्ये वडा स्तरीय अन्तरक्रिया पार्टी सुदृढीकरण र प्रभाव विस्तारका सन्दर्भमा गाउँ–गाउँमा रहेका नेता कार्यकर्ताको भावना बुझ्न महत्त्वपूर्ण हुने काङ्ग्रेसको बुझाइ छ । वडाको विकास निर्माणमा पार्टीको भूमिका, गाउँ–नगरपालिकाको कार्य समीक्षा तथा समग्रमा काङ्ग्रेस सुदृढीकरणका लागि आवश्यक कार्यबारे वडा स्तरीय विशेष छलफल हुनेछन् ।

शहीद परिवार र द्वन्द्व पीडितसँग अन्तरक्रिया जागरण अभियानका क्रममा पार्टीका केन्द्रीय प्रतिनिधि र अन्य नेता कार्यकर्ता आजको स्थिति बुझ्न पार्टीका अग्रज, तथा शहीद परिवारप्रति श्रद्धा प्रकट गर्न उहाँहरूको घर आँगनमा पुग्नु हुने कार्यक्रम तय गरिएको छ ।

साथै अभियानको प्रथम चरणमा ३१ हजार ६४२ जना काङ्ग्रेसमा प्रवेश गर्नुभएको जानकारी दिँदै प्रवक्ता शर्माले दोस्रो चरणमा यो भन्दा ठुलो सङ्ख्या विभिन्न राजनीतिक दल परित्याग गरेर काङ्ग्रेसमा समाहित हुने अपेक्षा प्रवक्ता शर्माले गर्नुभयो । 

यसै गरी स्थानीय सरकारहरूको दुई वर्षे समीक्षा पनि गरिनेछ । साथै काङ्ग्रेसको नेतृत्व रहेका तहमा जनभावनाअनुरूप अझ प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने र निर्वाचित प्रतिनिधिबिच पर्याप्त समन्वय र एकता कसरी बढाउने सम्बन्धमा पनि अन्तरक्रिया हुने बताइएको छ । जागरण अभियानका क्रममा पार्टीका सबै जिल्ला कार्यसमितिले अभिलेख सङ्कलनलाई गति दिने, सबै प्रदेश क्षेत्रमा युवा केन्द्रित विशेष संवादको सहजीकरण गर्ने, प्रदेशसभा क्षेत्रका जागरण कार्यक्रमको आवश्यक समन्वय गर्ने, असोज ७ गते अन्तिम दिन जिल्ला स्तरीय विरोध प्रदर्शनको तयारी, व्यवस्थापन र नेतृत्व गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  

अभियानका क्रममा पार्टीको भ्रातृ र शुभेच्छुक संस्थाहरूले अभियान सफल बनाउन तोकिएका कार्यक्रमहरूमा आफ्नो संयन्त्र परिचालन गर्नेछन् । जागरणका अन्य कार्यक्रममा सहभागिताबाहेक भ्रातृ र शुभेच्छुक संस्थाको विशेष तयारी असोज ७ गतेको प्रदर्शनको व्यापकताका लागि केन्द्रित गर्ने पार्टीको तयारी छ । समयावधि सकिएका भ्रातृ र शुभेच्छुक संस्थाहरूले केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयबमोजिम अधिवेशन तयारीका लागि विषय प्रारम्भ गर्नेछन् ।

जागरण अभियानका क्रममा नेपाली जनसम्पर्क समितिहरूले विदेशमा रहेका सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै राजदूतावास र कन्सुलेटमार्फत सरकारसमक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेस गर्नेछन् । साथै समयावधि सकिएका जनसम्पर्क समितिहरूले केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयबमोजिम अधिवेशन तयारीका लागि आवश्यक प्रारम्भ गर्ने सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँमा रहेका पार्टीका जिल्ला सम्पर्क समितिहरूले जागरण अभियानका क्रममा अभियानको प्रचारका लागि भूमिका निर्वाह गर्नेछन् । जागरण अभियानको अवधिमा पर्ने संविधान दिवस असोज ३ गते नेपालको संविधान निर्माणमा ‘काङ्ग्रेसले गरेको नेतृत्व, संविधानका विशेषता र आजको दायित्व विषयक’ कार्यक्रम (अन्तरक्रिया या विचार गोष्ठी) प्रदेशसभा कार्यसमितिको आयोजना गर्ने, साँझ सबै गाउँ–नगरका निश्चित चोक बजारमा दीप प्रज्वलन गरिनेछ भने जागरणको अन्तिम दिन असोज ७ गते बढ्दो महँगी, भ्रष्टाचार (वाइड बडी, न्यारोबडी प्रकरणलगायत), बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक भनिएका विधेयक र कुशासनका विरुद्ध जिल्ला स्तरीय विरोध प्रदर्शन र सभा गरिने  समेत प्रवक्ता शर्माले जानकारी  दिनु भएको छ ।