अपर नौगाडकाे विद्युत् उत्पादन असोज पहिलो साताबाट

अपर नौगाडकाे विद्युत् उत्पादन असोज पहिलो साताबाट

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २०, २०७६

दार्चुला । दार्चुलाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले असोज पहिलो साताबाट विद्युत् उत्पादन  शुरु गर्ने भएको छ ।

आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको आयोजनाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने जनाएको हो ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट साढे आठ मेघावाटको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै विद्युत् उत्पादन गरेको अपि हाइड्रोपावरले माथिल्लो नौगाड जलविद्युत् आयोजनाको निर्माण पनि अन्तिम चरणमा पुर्‍याएको हो ।

यसअघि चैतभित्रै विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएकोमा साउन महीनाको बाढी र प्राविधिक कारणले निर्माण कार्यमा केही ढिलाइ हुन गएको आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले जानकारी दिनुभयो ।  एक अर्ब ८० करोडको लागतमा माथिल्लो नौगाड निर्माण हुँदैछ । आठ मेगावट विद्युत् थप भएसँगै सुदूरपश्चिममा भइरहेको विद्युत्को अनियमित कटौती पनि घट्नेअपेक्षा राखिएकाे छ । निजी क्षेत्र आकर्षित हुन नसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा अपि हाइड्रोपावर कम्पनीले एक आयोजना सम्पन्न गरेसँगै दोस्रो आयोजनाबाट विद्युत् उत्पादनको अन्तिम तयारी थालेको हो । अहिले वि

विसं २०७५ साउनको बाढीबाट निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएका कारण आयोजनाको लागत र समय थप गरिएको उहाँको भनाइ छ । गत साउनमा आएको बाढीले मात्रै आयोजनामा  १० करोडको क्षति भएको थियो ।

नौगाड गाउँपालिका–६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको विद्युत्गृहमा खसालिएको छ । पाइपलाइन (पेनस्टक)को लम्बाइ पाँच किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण शुरु गरिएको थियो । अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । यसका लागि नौ किलोमिटर लामो ३३ केभिए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको आयोजना इन्चार्ज कोइरालाले बताउनुभयो ।

विसं २०७२ भदौ २ देखि व्यावसायिक उत्पादन थालिएको नौगाड प्रथम जलविद्युत् आयोजना छोटो समयमै निर्माण सम्पन्न गरेको देशभरिकै नमूना योजना बनेको थियो । कोइरालाका अनुसार माथिल्लो नौगाड आयोजनाको बहुवित्तीय व्यवस्थापन नेपाल एसबिआइ बैंक लिमिटेडको अगुवाइमा प्रभु बैंक लिमिटेडसमेतको लगानीमा निर्माण भएको हो ।