एसीसी यु- १९: नेपालले श्रीलङ्कालाई दियो १६० रनको चुनौती

एसीसी यु- १९: नेपालले श्रीलङ्कालाई दियो १६० रनको चुनौती

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २०, २०७६

श्रीलङ्कामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लागि १६० रनको चुनौती दिएको छ ।

श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रनको योगफल बनायो । वर्षा बाधक बनेपछि ५० ओभरको खेललाई छोट्याएर ४२ ओभरमा झारिएको थियो ।

नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल केही समयको लागि प्रभावित बनेको थियो । नेपालका लागि सुरुवाती ब्याट्सम्यान रीत गौतमले अर्धशतक बनाए । उनले ८५ बल खेल्दै चार चौकाको मद्दतमा ५४ रनको योगदान दिएका हुन । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ४७, रसिद खानले १५ तथा हरि चौहानले १२ रन जोडे ।

आसिफ शेखले ७ रन जोड्दा अर्का सुरुवाती ब्याट्सम्यान पवन शरार्फ ४ रनमा बाहिरिए । श्रीलङ्काका दिलसान मधुशङ्का र नाभोद दिनुश्रीले तीन/तीन विकेट लिए भने आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक/एक विकेट झारे ।