यो सत्ता तिम्रो पनि हो

यो सत्ता तिम्रो पनि हो

शिवप्रसाद सत्याल  |  साहित्य  |  भदौ २१, २०७६

सुन्नुस् न !
अघि उहाँले वाचन गरेको कविता सुन्नुभयो ?
गरिबी, अभाव, पीडा रोदनका 
भारी बोकेका, कोदालो खनेका, हातमा ठेला उठेका
यस्तैयस्तै अनेकन कुरा थिए ।

उहाँले कवितामा भन्नुभयो–
‘गरिब र निमुखाको आवाज सुन
भारी बोक्नेहरूको पीडा सुन ।’

मेरो हातको रोलेक्स घडीको टिकटिक
शासन बोकेर हिँड्दाको पीडा
म यस्तो सुनिरहेको छु 
बाँकी निम्छरा कुराहरू तिमीहरूले सुने हुँदैन ?

किसानले बेलैमा मल, बिउ नपाएका
ग्वामे साइँलाहरूले न्याय नपाएका
युवाले रोजगारी नपाएका
किसानले बजार नपाएका 
यस्तैयस्तै विषय कविता बन्ने देशमा

मैले सत्ता नपाउँदा
मैले राम्रो मन्त्रालय नपाउँदा
अनि मैले पार्टीमा राम्रो पद नपाउँदा
यी विषय कविताका विषय बने ?

तेह्र वर्षमा बलात्कृत निर्मलाहरूको कथा
तिम्रो कवितासंग्रहको मूल कविता बनेछ
चौध वर्षमा बाबु बनेका महाराजको कथा
कविता हुनसक्यो ?

कविहरू एकाङ्गी छन्
पक्षपाती र विभेदकारी छन्
बीसे नगर्चीको वयान लेख्ने श्रवणले 
महाराजको महावाणी लेख्यो ?
कतारको कहर लेख्ने सुदेशले 
क्यानबेरा, क्यानडा वा क्यालिफोर्नियाको सम्पन्नता लेख्यो ?

तिमी देख्छौ–तिम्री छिमेकी बुढी आइमाईको फरिया फाटेको
म देख्छु– मेरो मर्सिडिज बेञ्जको सिट फाटेको
तिमी देख्छौ– तिम्रो छिमेकी बूढो भरियाको तालु खुइलिएको
म देख्छु– मेरो बेन्टलीको जुत्ता खुइलिएको

तिमी तिमी सोच्छौ– पेट पाल्न पसिना बगाउनुपर्छ
म सोच्छु– सत्ता पाल्न रगत बगाउनुपर्छ
पसिना ठूलो कि रगत ?
तिमी भन्छौ– पसिना बगाएको पाएको एक बटुको खोलेको सम्मान गर
म भन्छु– रगत बगाएको पाएको सत्ताको रक्षा गर ।

तिमी अन्याय देख्छौ
म समानता देख्छु
तिमी रोग, भोक, शोक, अभाव, अस्तव्यस्त र पीडा देख्छौ
म समृद्धि र सम्पन्नता देख्छु ।

तिमीले जे देख्यौ, मैले त्यो देखिनँ
मैले जे देखेँ, तिमीले त्यो देखेनौ
हो, तिमीले कविता लेख्यौ
मैले जीवन लेखेँ ।

र त आज तिमी
फुटपाथमा किनेको कमिजको बाहुला माथि सार्दै
हरिया नसा देखाउँछौ
कलेटी परेका ओठ थरथर कमाउँदै
चोर औँला ठड्याएर सत्तालाई खबरदारी गर्छाै ।

म भन्छु– छोडिदेऊ न कवि
यो सत्ता तिम्रो पनि हो 
भाग नखोज, संरक्षण गर 
तिम्रो कविगोष्ठीमा गह्नाउने पसिनाको दुर्गन्ध रोक्न
पेरिसको पर्फ्यूम किनिदिऊँला ।