मुगाबेः स्वतन्त्रता सेनानीदेखि तानाशाहसम्म

मुगाबेः स्वतन्त्रता सेनानीदेखि तानाशाहसम्म

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २०, २०७६

अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा काला जातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दु्खद रह्यो । स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा ३७ वर्ष शासन गर्नुभयो तर बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा उहाँ पदच्यूत हुनुपरेको थियो ।

नोभेम्बर २०१७ मा राष्ट्रपतिको पदबाट बहिर्गमन भएलगत्तै उहाँको शारीरिक अवस्था अत्यन्त नाजूक हुन थालेको थियो । बेलायती उपनिवेश रोडेसियाका शासक अल्पसंख्यक अश्वेतबाट जिम्बाबेलाई स्वतन्त्र बनाउन उहाँको मुख्य भूमिका रहेको थियो । मुलुक स्वतन्त्र भएसँगै प्रधानमन्त्री बन्नुभएका रोबर्ट मुगाबेले प्रतिद्वन्द्वी राजनीतिक शक्तिलाई दमन गर्नुका साथै देशको अर्थतन्त्र रसातलमा पुर्‍याउनुभयो । झण्डै आठ वर्ष राजनीतिक बन्दीका रूपमा बिताउनुभएका मुगाबे त्यसपछि छापामार बन्नुभएको थियो । तर, मुलुक स्वतन्त्र भएसँगै सन् १९८० मा भएको आमनिर्वाचनबाट उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।

प्रधानमन्त्रीका रूपमा उहाँले सुरुवाती दिनहरूमा जातीय मध्यस्थताको मार्ग लिएको भन्दै अन्तर्राष्ट्रिय जगतबाट राम्रो समर्थन प्राप्त गर्नुभयो । उहाँले बहुसंख्यक काला जातिको शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा निकै राम्रा कार्यक्रमहरू अगाडि बढाउनुभयो तर उहाँको चमक निकै तीब्र गतिमा फिका हुन थाल्यो ।

मुगाबेले जिम्बाबेको स्वतन्त्रताका लागि जिम्बाबे अफ्रिकी नेसनल युनियन (जानु) र यसको सशस्त्र फौजको नेतृत्व सम्हाल्नुभएको थियो । सन् १९७४ मा जेलमुक्त हुँदा उहाँले उक्त युनियनको सर्वोच्च नेताका रूपमा आफूलाई उभ्याउनुभएको थियो । सशस्त्र संघर्षकै समयमा जिम्बाबे अफ्रिकन पिपुल्स युनियन (जापु)को नेतृत्व गर्नुभएका अर्का नेता जोसुवा एन्कोमोलाई मुगाबेले पहिलो निशाना बनाउनुभएको थियो ।

मुगाबेले गृह मन्त्रालयको जिम्मेवारी दिइएका एन्कोमोलाई सन् १९८२ मा सरकारबाट हटाउनुभयो । मुगाबेले माटाबेलेल्यान्ड प्रान्तमा ठूलो परिमाणमा हतियार फेलापरेको भन्दै एन्कोमोलाई पदच्यूत गर्नुभएको थियो । मुगाबेलाई जिम्बाबेका बहुसंख्यक सोना जातिको समर्थन प्राप्त थियो । यहीबीच उत्तर कोरियालीबाट तालिम प्राप्त पाँचौँ ब्रिग्रेडले झण्डै २० हजार विपक्षीहरूको हत्या गरेको थियो ।

तर, सत्तामा आएको झण्डै दुई दशकपछि जिम्बाबेमा रहेबसेका गोरा जातिको जग्गा जमिन जबर्जस्ती हडप्ने नीति ल्याएपछि मुगाबेको अन्तर्राष्ट्रिय शाख अझ गुमेको थियो । तैपनि अफ्रिकाका अधिकांश देशमा मुगाबेप्रति सम्मान थियो । मुगाबेले आफ्नो शासनकालमा ल्याउनुभएका केही विवादास्पद नीतिहरूका कारण विदेशी लगानीकर्ताहरू जिम्बाबेबाट पलायन हुनुका साथै आर्थिक स्थिति रसातलमा पुगेको थियो ।

मानवअधिकारको चरम उल्लंघन गर्नुका साथै चुनावमा व्यापक धाँधली गरेको आरोप उहाँमाथि लागेका थिए ।