एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग ५ विकेटले पराजित

एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग ५ विकेटले पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २०, २०७६

एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पराजित भएको छ । श्रीलङ्काको राजधानी कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको हो ।

टस जितेर नेपालले ब्याटिङ रोजेको थियो । नेपालले ४२ ओभरमा नौ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । १६० रनको विजयी लक्ष्य श्रीलङ्काले ३३.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल रोकिएको थियो । वर्षा बाधक बनेपछि ५० ओभरको खेललाई ४२ ओभरमा झारिएको थियो ।

श्रीलङ्काका लागि कामिल मिश्राले अर्धशतक प्रहार गरे । उनले ६२ बलको सामना गर्दै ५५ रन बनाए । यस्तै, आहन विक्रमासिङ्घेले ३०, अभिष्का थारिन्दुले अविजित २५, निपुन धनञ्जय परेराले १८, रविन्दु रसन्थाले १५ तथा नाभोद प्रनभिस्थाले १२ रन जोडे ।

बलिङतर्फ नेपालका लागि रासिद खानले २ तथा सागर ढकाल, कमलसिंह ऐरी र पवन सर्राफले एक/एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सुरुवाती ब्याट्सम्यान रीत गौतमले अर्धशतक बनाए । उनले ८५ बल खेल्दै ४ चौकाको मद्दतमा ५४ रनको योगदान दिए । कप्तान रोहितकुमार पौडेलले ४७, रसिद खानले १५ तथा हरि चौहानले १२ रन बनाए ।

बलिङतर्फ श्रीलङ्काका लागि दिलसान मधुशङ्का र नाभोद दिनुश्रीले तीन/तीन तथा आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक/एक विकेट लिए ।

नेपालले अर्को खेल भदौ २२ गते बङ्गलादेशसँग खेल्नेछ । एसिया कपमा नेपाल समूह ‘बी’मा रहेको छ । उक्त समूहमा श्रीलङ्का, बङ्गलादेश र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।