२४६ नारी मुक्तककारको संयुक्त कृति अमेरिकामा सार्वजनिक

२४६ नारी मुक्तककारको संयुक्त कृति अमेरिकामा सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ २०, २०७६

गैरआवासीय नेपाली संघको भाषा साहित्य उपसमितिले 'नेपाली मुक्तकमा नारी हस्ताक्षर' संयुक्त मुक्तक कृति प्रकाशनमा ल्याएको छ । कवि, मुक्तककार रमेश पौडेलद्वारा सम्पादित नेपाली मुक्तकमा नारी हस्ताक्षर संघको अमेरिकाको बोष्टनमा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलमा विमोचन गरियो । 

हरितालिका तीजको दिनमा पञ्चकन्यका साथमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो कृतिको विमोचन गर्नुभयो ।  कुलपति उप्रेतीले कवि पौडेलद्वारा सम्पादित सो कृति नेपाली मुक्तक विधामा कोशेढुंगा सावित हुने बताउनुभयो ।  नेपाली मुक्तकको शोध, खोज र सिर्जनामा लागेका सम्पादक कवि पौडेलले नेपाली मुक्तकले लोकप्रियता विश्वव्यापी रहेको बताउनुभयो ।

३०० पृष्ठमा विस्तारित सो कृतिमा समालोचकद्वय प्रा.डा. लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारीका मुक्तकसम्बन्धी पठनीय आलेखसमेत समावेश गरिएको छ । सो कृतिमा उषा शेरचनदेखि पछिल्लो पुस्ताका २४६ जना मुक्तककारको  परिचयसहित ४/४ वटा मुक्तक छापिएका छन् ।