मेडिकल कलेजले  निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएकाे संसदीय समितिकाे ठहर

मेडिकल कलेजले  निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएकाे संसदीय समितिकाे ठहर

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २१, २०७६

काठमाडाैँ ।  मेडिकल कलेजको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिले अधिकांश मेडिकल कलेजले नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएको जनाएको छ ।

मन्त्रिपरिषद्को विसं २०७५ असोज २६ गतेको बैठकले उपत्यकाभित्र एमबीबीएसका लागि काठमाडौँ उपत्यकाभित्र  ३८ लाख ५० हजार र उपत्यका बाहिर  ४२ लाख ४५ हजार शुल्क निर्धारण गरेको थियो ।

यसैगरी बीडीयसतर्फ  १९ लाख ३२ हजार निर्धारण गरेको थियो । हाल त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय, शैक्षिक प्रतिष्ठानअन्तर्गत २२ वटा मेडिकल कलेजमा सो तहको अध्ययन हुँदै आएको छ ।

उपसमितिले २०७६ भाद्र २० गते शुक्रबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै मन्त्रिपरिषद्को सो शुल्कसम्बन्धी निर्णय स्पष्टसमेत नभएको निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिले पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरिएको सो प्रतिवेदनमा सरकारले निर्धारण गरेका शुल्क कार्यान्वयन गर्न विश्वविद्यालय, प्रतिष्ठान, सम्बन्धित डीन कार्यालयले पर्याप्त पहलसमेत नगरेका जनाइएको छ ।

यसैगरी शुल्कका विषयमा सम्बन्धित विश्वविद्यालयका डीन कार्यालयले सहजता प्रदान गरे पनि वास्तविक योग्यताक्रम लागू गर्ने मनशाय पूर्ण नदेखिएको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, 'अधिकांश कलेजले नेपाल सरकारले तोकेभन्दा बढी शुल्क लिएको अध्ययनका क्रममा स्पष्ट देखियो ।' बढी शुल्क लिने कलेजको सम्बन्धन खारेजीका लागि निर्देशिका तयार गर्न, त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन सस्थान, काठमाडौँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता सार्वजानिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा सिट सङ्ख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क गर्न पनि प्रतिवेदनले सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनले चिकित्साशास्त्रअन्तर्गत सामूहिक प्रवेश परीक्षा उत्तीर्ण गरेकालाई अन्य विश्वविद्यालयअन्तर्गतका कलेजमा भर्ना हुन चाहेमा पुनः परीक्षा दिनु नपर्ने व्यवस्था मिलाउन चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको छ ।

यस्तै मेडिकल कलेजलाई सिट निर्धारण गर्दा १५० सम्मको सिट निर्धारण गर्न सकिने, सिट निर्धारणलाई वैज्ञानिक बनाउन मापदण्ड बनाउन पनि प्रतिवेदनले सुझाव दिएको छ । पत्रकार सम्मेलनमा संयोजक राईले कार्यान्वयनमुखी सुझाव मात्र प्रतिवेदनले दिएको चर्चा गर्दै चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई अन्त्य गर्न प्रतिवेदनले सहयोग गर्ने बताउनुभयो ।  सो उपसमितिमा उमेश श्रेष्ठ, एकबाल मिया, अगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जीसी र सन्तकुमार थारु सदस्य हुनुहुन्थ्यो ।

समितिको विसं २०७५ चैत २६ को बैठकले सो उपसमिति गठन गरेको थियो  ।