विरोधाभास

कथा

विरोधाभास

डा.भोजराज घिमिरे  |  साहित्य  |  भदौ २१, २०७६

‘ए आमा ! यो तीजमा त साँल्दिदीलाई लिन मान्छे पठाउनुपर्छ है ! अरू कोही जाँदैनन् भने बरू म आफैँ जाऊँला । बालाई बेलैमा भनिराख्नू नि !’, फुपू भन्यो भने अलिक परको जस्तो लाग्ने सोचेर त्यस घरका हरेक फुपूहरूलाई भदाले पनि दिदी नै भन्ने चलन थियो । त्यसैले जहिले पनि विद्रोह आफ्नी फुपूहरूलाई दिदी नै भनेर सम्बोधन गर्ने गर्थ्यो । अरूले पनि त्यसै गर्छन् ।

जवाफ थिएन विश्वेश्वरासँग । भान्साको काममा व्यस्त थिई ऊ । त्यसैले छोरालाई जवाफ दिने फुर्सद नभएको नाटक गर्न उसलाई सजिलो भयो ।

हुनत नन्द थिइन् तर विश्वेश्वराका लागि साइँली नानी साथी, सहेली मात्र थिइन् उनी । तिनका प्रति विश्वेश्वराको मुटुको कुनाकुनामा माया र सद्भाव भरिएको थियो । सक्ने र पाउने भए साइँली नानीका लागि केही त पक्कै गर्ने थिई उसले ।

विश्वेश्वरालाई पनि उसकी साइँली नानीले कुनै भूल गरेकी हुन् भन्ने लाग्दैन तर घरका लोग्नेमान्छे र उसकी आफ्नै सासूको दृष्टिमा भने साइँलीले ज्यादै ठूलो कुकर्म गरेर हिँडी भन्ने थियो । जिउँदी मान्छे हुन् आफ्नो संसारकी तर माइतीका आँखामा भने मरेतुल्य थिइन् साइँली नानी । कुलको ठूलो नाक खुकुरीले तासिदिइन् भन्ने आरोप लगाउँथे माइतीतिरका मान्छेले । त्यसैले विश्वेश्वराको घरमा साइँली नानीको नाम लिनसमेत प्रतिबन्ध लगाएझैँ भइसकेको थियो । लिन पनि कसैले लिँदैन थिए ।

कथम कदाचित् भुलेर कसैले नाम लियो भने त्यो अक्षम्य भूल ठहरिन्थ्यो । केटाकेटी भए सजाय मिल्थ्यो पनि तर ठूला मान्छे भने मूर्खमा दरिन्थे । स्वास्नीमान्छेले कसैले लिए त खाऊँला जस्तै गरेर ठूलो आँखा पल्टाइदिन्थे लोग्नेमान्छेले । त्यही भएर उसको दिलमा साइँली नानीप्रति जति नै ठूलो प्रेम र न्यानो सद्भाव भए पनि साइँली नानीका लागि केही भन्न र गर्न सक्ने स्थितिमा थिइन विश्वेश्वरा ।

बिर्सिन त कहाँ अरूले पनि बिर्सिएका होलान् र ? तर कुलको कलङ्कमा गनिएकी साइँली नानीलाई घरका मान्छेको व्यवहार देख्दा बिर्सिएजस्तै लाग्थ्यो । परिवारको कुनै जमघटमा बोलाइँदैनथ्यो । कुनै जायजन्मको खबर दिइँदैनथ्यो, मृत्युको खबर कानसम्म पुर्‍याइन्नथ्यो । त्यसैले माइतीघरको न खुसीमा सामेल हुन्थिन्, न त दुःखमा आँसु बगाउन पुग्थिन् विश्वेश्वराकी साइँली सानी ।

विश्वेश्वरा त स्वास्नीमान्छे थिई, भात–दाल पकाएर, चुह्लो–चौको पोतेर, भाँडाकुँडा मस्काएर, मेलापातमा दौडेर बस्ने एउटी स्वास्नीमान्छे अनि सन्तान् उत्पादन गर्ने फगत यन्त्र । घरभित्र होस् अथवा बाहिर, कतै पनि बोली र वचनको कुनै वजन र महङ्खव नभएकी फगत एउटी स्वास्नीमान्छे ।

विश्वेश्वराको प्रेम र सद्भावले निस्पृह रहन दिँदैनथ्यो । साइँली नानीप्रति त्यति बैगुनी बन्न दिँदैनथ्यो । साइँली नानी आउँथिन् । बारम्बार उनको यादमा आइरहन्थिन् । बुहार्तनको बोझ बढ्दा बुहारी भएर आउँथिन्, घाँस काट्न जाँदा सङ्गिनी बनेर आउँथिन्, गाईवस्तु सम्हाल्दा गोठालो भएर आउँथिन्, रोपाइँ जाँदा रोपाहार बनेर आउँथिन् । कुरा गर्ने मान्छे कोही नभेट्दा बहिनी भएर आउँथिन्, दुःखमा आँसु बगाउन सखी बनेर आइपुग्थिन्, सुखमा खुसी बाँड्न नन्द बनेर पनि आइपुग्थिन् । तर जति पटक आएकी छन्, केवल विश्वेश्वराको स्मृतिमा आएकी छन् । तर के गर्नु ? समय नै त्यस्तो थियो, उनको पारिवारिक हैसियत नै त्यस्तो थियो । त्यसैले जति विश्वेश्वराको यादको तरेलीमा साइँली नानी अल्झिएर रहन खोजे पनि केही गर्न सक्ने स्थितिमा थिइन विश्वेश्वरा– भलै त्यस घरकी एउटी पुरानी सदस्य भइसकेकी थिई ऊ । 

घरकी पुरानी सदस्य भएर पनि के हुन्थ्यो ? विश्वेश्वरा त स्वास्नीमान्छे थिई, भात–दाल पकाएर, चुह्लो–चौको पोतेर, भाँडाकुँडा मस्काएर, मेलापातमा दौडेर बस्ने एउटी स्वास्नीमान्छे अनि सन्तान् उत्पादन गर्ने फगत यन्त्र । घरभित्र होस् अथवा बाहिर, कतै पनि बोली र वचनको कुनै वजन र महङ्खव नभएकी फगत एउटी स्वास्नीमान्छे । त्यसैले उसको आग्रह, अनुनय, विनय, अनुरोध अनि उसले लगाएको घुर्की र देखाएको डर, केहीको कुनै अर्थ देखिँदैनथ्यो– त्यस घरका लोग्नेमान्छेका दृष्टिमा । त्यही भएर हो– साइँली नानीका बारेमा असल भावना मनमा पालेर राख्नुबाहेक अरू केही गर्न सक्ने स्थिति नभएको उसको ।

एक दिनको अघिपछि पारेर विवाह भएको थियो– विश्वेश्वरा र उसकी साइँली नानी विलक्षणाको । विश्वेश्वरा बुहारीका रूपमा भित्रिएकी भोलिपल्ट विलक्षणा कसैकी बुहारी भएर त्यो घरको आँगन छाडेर बहिरिएकी हुन् । तर दुर्भाग्य ! विवाह भएको केही महिनामै विलक्षणाको स्वामी अनन्तको यात्रामा निस्किहाल्यो । समाज त्यस्तै थियो । ‘लोग्ने टोकुवी’को आरोप लाग्यो । त्यो आरोपसँगै आइलागेको अपमान र मानसिक पीडा सहन नसक्दा माइती आएर बस्न बाध्य भएकी हुन् उनी । धेरै वर्षसम्म विश्वेश्वराको दाहिने हात भएर माइती घरको पिँढी पोतेर बिताएकी थिइन् उनले ।

छोराको प्रश्नले विश्वेश्वरालाई अतीततिर फर्किएर एकचोटि हेर्न बाध्य तुल्यायो । उसलाई लाग्यो– हरे ! केचाहिँ पाप गरेकी हुन् अनि कति नै ठूलो भूल गरेकी थिइन् र बिचरी साइँली नानीले ? सानो तिललाई पहाड बनाएका छन् यस घरका मान्छेले । कति न जघन्य अपराध गरेजस्तो गरेर त्यति ठूलो सजाय दिएका छन्– यस घर र समाजका ठालुहरूले । उनले गरेको जस्तो काम त समाजका लोग्नेमान्छेले सदैव गरिआएका हुन्, भोलि पनि गर्छन् । अरूको के कुरा गर्नु ? हाम्रै घरकै लोग्नेमान्छेले पनि गरेकै छन् । त्यसो गर्न यी लोग्नेमान्छेलाई भोलि पनि कसैले रोक्दैनन्, कुनै तगारो लाग्दैन । लोग्नेमान्छेजतिलाई त्यसरी छुट दिन सक्ने यो घर र समाजले साइँली नानीलाई चाहिँ किन दोषी ठहर्‍याएको होला ? कस्ता विभेदी हुन् यस घर र हाम्रा समाजका आँखाहरू ? एकै प्रकृतिका घटनालाई किन फरकफरक चस्मा लगाएर हेर्ने गरेको र हेर्नुपरेको होला ? एउटालाई हँसाउने अनि अर्कोलाई मार्ने ! हरे ! कस्तो मत्स्य न्याय गर्न सकेका होलान् ? परम्पराको माखेसाङ्लोभित्र जकडिएर किन यस गाउँका स्वास्नीमान्छेले बस्नुपर्ने ?’

त्यसरी विश्वेश्वराले सोच्दासोच्दै ‘हन, ए आमा ! मेरो कुरा सुन्दै नसुनेको कि तपाईंले सुन्नै नचाहेको ?’ भन्दै विद्रोहले गरेको प्रश्नले भने सोचमा एकोहोरिएकी विश्वेश्वरालाई हठात् ब्युँझाइदियो ।

अरूको के कुरा गर्नु ? हाम्रै घरकै लोग्नेमान्छेले पनि गरेकै छन् । त्यसो गर्न यी लोग्नेमान्छेलाई भोलि पनि कसैले रोक्दैनन्, कुनै तगारो लाग्दैन । लोग्नेमान्छेजतिलाई त्यसरी छुट दिन सक्ने यो घर र समाजले साइँली नानीलाई चाहिँ किन दोषी ठहर्‍याएको होला ? कस्ता विभेदी हुन् यस घर र हाम्रा समाजका आँखाहरू ?

नबोलीकन धरै पाइन विश्वेश्वराले । सम्झनाको तरेलीबाट बाहिर निस्किएर छोरोलाई सम्झाउँदै भनी– ‘खै म के भनुँ बाबू ! तेरी आमाको चल्ने भए तेरी साँल्दिदी उहिल्यै यस घरमा भित्रिसकेकी हुन्थिन् । मैले भनेको यस घरमा कसैले सुन्दैनन् । त्यसैले तेरा जेठाबा र तेरा बालाई भन् तँ आफैँ– साँल्दिदीलाई यसपालिको तीजमा बोलाउनुपर्‍यो भनेर । तँ त लोग्नेमान्छेमा गनिन्छस् बाबू ! कतै सुनी पो हाल्छन् कि तेरा कुरा बूढाहरूले ?’, लाचारी भरिएको स्वरमा भनी विश्वेश्वराले ।

आमाका कथनमा चित्त बुझाएर हो अथवा नबुझाएर हो, त्यो त विश्वेश्वराले बुझिन तर विद्रोहले भने उसकै मनोभावनाका वरिपरि रहेर ‘ए आमा ! साँल्दिदीले के त्यस्तो अपराध गरेकी थिइन् अनि हाम्रो घरमा फर्केर आउन नदिएका ? यस घरमा गरिने कुनै कार्जे र चाडपर्वमा दिदीलाई नबोलाएका ? दिदीले कुकर्म गरेको अथवा कुनै पाप गरेको त म देख्दिनँ । त्यही जाबो पुनर्विवाहले यस्तो नकाबन्दी सहेकी हुन् त ? कि अर्थोक पनि केही बिगारेर घर छाडेकी हु्न् ? त्यही बिहे मात्रै हो भने त यस्तो प्रतिबन्ध लगाउनु नपर्ने हो । दोस्रो बिहे गर्नु अहिलेको जमानामा कुन ठूलो कुरा भयो ? त्यस्तो बिहे अरूले पनि गरेकै छन् । अरू त फर्केर माइती आएकै छन् । साँल्दिदीलाई मात्र किन यति ठूलो सजाय दिएको आमा ?’ भन्दै आमाको मुखतिर हेर्‍यो ।

विश्वेश्वरा निरूत्तर रही । केही बोल्न सकिन । उसकी आमाको मौनतामा सहमति देख्दै विद्रोहले ‘हन, त्यति मात्रै हो त ? त्यो बिहेकै मात्र कुरा भए त ठीक भएन है ! हन, साँल्दिदीले अर्को बिहे गरेर के भो ? तिनको बिहेले यस घरका मान्छेको के बिग्रियो ? पिँडालुबारी त फाँडिएन, धानको भकारीमा आगो लागेको छैन । साँल्दिदीले सिकुवामा मुतिदिएकी होइनन्, ढिकी–जाँतोमा हगेकी पनि छैनन् ? अर्को बिहे त हाम्रै जेठाबाले गर्नुभएको होइन ? अर्को बिहे गर्दा केही बिग्रिहाल्ने भए त जेठाबाले गर्दा पनि बिग्रिन्थ्यो होला तर खै कसैले बिग्रेको कुरा गर्दैनन् ? एक पटकको घरव्यवहार बिग्रिएपछि दोस्रो बिहे गर्नु कुन ठूलो कुरा भो ? हाम्रा जेठाबाले मात्रै होइन, यस गाउँका बूढा खलक अरूले पनि गरेका छन् । बिचरी ती साँल्दिदीको के दोष ? सानै उमेर छँदा फुपाजु बितिहाल्नुभो । फुपाजु बितेपछि कर्मघरमा अडिनै दिएनन् । यता आएर त्यत्तिका दिन बिहे नगरीकनै बसेकी हुन् । जेठाबाले नगरेको भए सायद गर्ने थिइनन् होला । जेठाबाको सिको न गरेकी हुन् । जेठ्यामा स्वर्गे भएपछि जेठाबालाई एक्लो जिन्दगी बिताउन गाह्रो भयो भन्दै बिहे गरेको होइन ? दिदीलाई पािन त्यस्तो भएको हुँदो हो ? केवल पेटभरि खान पाएकै भरमा स्वास्नीमान्छे सन्तुष्ट हुनुपर्छ भन्ने ठान्दा हुन् हाम्रा घरका मान्छेले । खान र लाउन दिएपछि अरू कुनै इच्छा र रहर नै बोक्नुहुँदैन त स्वास्नीमान्छेले ? यदि बोक्नुहुँदैन भने अर्कै कुरा भो तर हुन्छ भने त्यस्ता इच्छा र रहर पूरा गर्न खोज्नु स्वाभाविक हो । काठ र फलाम त होइनन् नि साँल्दिदी । जिउँदी मान्छे हुन् । रहर र इच्छा छन् तिनका पनि । त्यसरी साँल्दिदीका इच्छा र रहर पिटिक्क भाँचिदिन मिल्छ त आमा– यस घरका ठूला मान्छेले ?’ भन्दै फेरि आमाको जवाफको प्रतीक्षा गरेझैँ गरेर हेर्‍यो आमाको मुखमा ।

‘म के भनुँ बाबू !’‘ भन्न चाहन्थी विश्वेश्वरा तर बोली भने फुटेन । उसकी आमाले जवाफ दिन्न भन्ने थाहा पाइसकेपछि विद्रोह आफैँले धेरै कुरा बुझेजस्तो गरेर ‘हन, साँल्दिदी केटाकेटी थिइनन् । उमेर पुगिसकेकी थिइन् । आफ्नो भलो, कुभलो सोच्न सक्ने नै थिइन् । बिहे गर्ने रहर पलायो होला । कसैले सोधिखोजी गरेनन् । आफैँ केटा खोजिन् । मनपरेको थियो, बिहे गरिन् । ल भन्नु त– त्यो बिहेले यो घरका मान्छेको के बिगार गर्‍यो ? बरू भन्नु न पैसा नै पो बच्यो । हन, कस्ता हुन् यस घरका मान्छे ? लोग्नेमान्छेले चाहिँ जति पटक बिहे गरे पनि हुने तर लोग्ने मरेकी स्वास्नीमान्छेले चाहिँ आजीवन त्यत्तिकै बस्नुपर्ने ? अचम्म ! कस्तो रीत अनि कस्तो परम्परा छ्या ! हाम्रो घरको ! मरेको लोग्नेको नाम जपेर जिउँँदो लास बन्दै जीवन बिताउने आदेश दिन पनि कसरी सकेका होलान् हाम्रा घरका बूढापाकाले ? यो त अति नै भएन भन्या ? कति निर्दयी बन्न सकेका होलान् हँ हाम्रा घरका ठूला मान्छे ?’, विश्वेश्वराको दिमागै तिलमिलाउने गरी प्रश्नमाथि प्रश्न राख्यो ।

छोराको कुरामा सहमत भए तापनि विद्रोह गर्ने क्षमता थिएन विश्वेश्वरामा । त्यसैले अरू कसैले सुन्लान् कि भन्ने डरले ‘छिः केके भन्छ भन्छ यो केटो त ! चुप लाग् । यसरी तेरा थाङ्ने कुरा सुन्न थालेँ भने त भात पनि पाक्दैन’‘ भन्दै तरकारी काट्नतिर लागी ।

आमाको पारिवारिक हैसियत नबुझेको थिएन विद्रोहले । हजुरआमा र काका घरैमा थिए । आमालाई भनेझैँ गरेर उनीहरूलाई पनि आफ्नो असहमति सुनाउन चाहन्थ्यो । त्यसैले बोल्न छाडेन । कुराको शृङ्खलालाई झन् अगाडि बढाउँदै भन्यो– ‘अचेल त गाउँमै स्कुल खुलेको छ । प्रौढ शिक्षा पनि चलेका छन् । घरघरमा रेडियो टेलिभिजन छन् । पत्रपत्रिका पढेकै छन्् । यस गाउँका लोग्नेमान्छे प्रायः साक्षर भइसके भन्दा पनि हुन्छ । चेतनाको कमी रह्यो भनौँ भने त्यो पनि देखिँदैन । पर स्कुलको चौतारोमा बसेर कुरा गर्न थाले भने आकाश–पताल नै जोड्छन् । नचाहिँदा तर्क गर्नुपर्‍यो भने सबै एक हात अगाडि नै सर्छन् । आर्थिक रूपले पनि सक्षम नै छन् । मान्छेको जिन्दगीमा यति धेरै परिवर्तन आइसक्यो तर सोच भने के भएको हो कुन्नि ? धमिराले खाएको रुख जस्तो सधैँभरि फुस्राको फुस्रै । के त्यसमा पनि परिवर्तन आउनुपर्ने होइन त ? अरूका घरमा त आएन आएन रे, कमसेकम हाम्रो घरमा त आउनुपर्ने हो । तर खै के भयो ? चेतनाको ज्योतिले कुसंस्कारका महलहरू डढाएर खरानी पार्नुपर्ने होइन ? खै त त्यस्तो भएको हाम्रो घरमा ?’

छोरोलाई न ‘तेरा कुरा ठीक हुन्’ भन्न सकी विश्वेश्वराले, न त ‘बेठीक’ नै । संस्कार, परम्पराका नाममा आफ्ना घर र समाजले थोपरेका मूल्य मान्यताहरू उसलाई पनि ठीक लागेका त होइनन् तर परम्परादेखि नै चलिआएका संस्कार मन नपराउँदैमा भत्काउने साहस कहाँ जुट्नु उसको ? जुटेको छैन । त्यसैले चित्त नबुझे पनि मानेकी छे, अनुसरण गरेकै छे– बिनाप्रतिवाद । त्यस्ता संस्कार र परम्परा अनुसरण गर्दै जाँदा विश्वेश्वरालाई कहिलेकाहीँ लाग्थ्यो– ‘म बाँचेको समाज मेरो आफ्नै हो । राम्रै हुन्छ भनेर त समाजले पनि संस्कार र मर्यादाका सीमा तोकिदिने होला नि ! त्यस्तो सीमा तोकिएपछि त त्यसभित्र सबैले बस्नै पर्‍यो नि !’ तर पनि विश्वेश्वरालाई लाग्छ– ‘हरे, कस्तो विडम्बना ! राम्रा ठाानिएका परम्परा र संस्कारका आवरणमा त यस्तै नचाहिँदा घटनाहरू हरहमेसा समाजमा घटिरहेका छन् । परिवर्तनको राग जति गाए पनि जातीय र लैङ्गिक विभेद र उत्पीडनहरू त अझै पनि समाजमा कायमै छन् ।’

‘म बाँचेको समाज मेरो आफ्नै हो । राम्रै हुन्छ भनेर त समाजले पनि संस्कार र मर्यादाका सीमा तोकिदिने होला नि ! त्यस्तो सीमा तोकिएपछि त त्यसभित्र सबैले बस्नै पर्‍यो नि !’ तर पनि विश्वेश्वरालाई लाग्छ– ‘हरे, कस्तो विडम्बना !

यस्तो सोच्दासोच्दै विश्वेश्वरा आफ्नै अतीत र वर्तमानलाई खोतल्न पुगी । त्यसरी खोतलिरहँदा उसलाई लाग्यो– ‘कति कठोर थिए म यस घरमा भित्रिँदा घरका रीतिरिवाज, परम्परा, संस्कार, पारिवारिक नियम र व्यवहारहरू ! अहिले थोरै परिवर्तन आएको छ, थोरै हलुका छ । तर हिजोको सङ्कीर्णता आज पनि मनग्यै छ । स्वास्नीमान्छेलाई हेर्ने हिजोको जडता आज पनि छँदै छ । आफ्नो शिर ठाडो गरेर स्वास्नीमान्छेले बोल्न र दह्रो गरी आफ्ना कुरा राख्न हाम्रै घरमा अझै पाइएको छैन । बरु चित्त बुझेन भने विद्रोहले आफ्नो कुरा राख्न पाउला तर मैले खै पाएकी ? म जस्तै त हुन् अरू पनि । हामी महिलामध्ये कसैले बोल्ने साहस गर्‍यो भने अझै पनि पोथी बासेकै ठहरिन्छ यस घरमा । त्यही भएर घरका लोग्नेमान्छेको बुझाइ नै हामी स्वास्नीमान्छेको बुझाइ हुने गरेको छ । यस्तो देख्दा त कहिलेकाहीँ लाग्छ– सिउँदोमा सिन्दूर परेकै दिन आफ्नो दिमाग बन्धकी राख्न पुगिएछ । आफ्नोबारेमा सोच्ने अधिकार लिलाम गरिएछ । विरोध गरूँ, विद्रोह गरूँ त कसको विरूद्धमा गरूँ ? आफ्नै लोग्नेको गर्नुपर्छ, आफ्नै सासू–ससुराको गर्नुपर्छ, आफ्नै जेठाजु र देवरको गर्नुपर्छ । त्यसो गर्ने ताकत नै छैन । गरिहालियो भने एक्लै परिन्छ । विद्रोह गरेर एक्लै बाँच्न सकिँदैन । यही घर र समाजमा बस्नुपर्छ । समाजमा बसिसकेपछि त्यसले तोकिदिएका मूल्य मान्यताभन्दा बाहिर गएर बाँच्न सकिने कुरा भएन । त्यही भएर त अन्यायी छन् संस्कार, विभेदपूर्ण छन् सामाजिक मान्यता र परम्परा भन्दाभन्दै पनि मानी आइएकै छ । प्रतिफल राम्रै आउने घटना घट्दा पनि समाजले अस्वीकृत गर्‍यो भने त्यस्ता घटना अथवा व्यवहार सबै अरू हामीले अस्वीकार गर्नै परेको छ ।’

सोच्दै जाँदा विश्वेश्वरालाई लाग्यो– ‘अरूलाई पर्दा ठीकै लागे पनि त्यही कुरा आफूलाई पर्दाचाहिँ ग्रहण गर्न अलिक अप्ठ्यारै हुँदोरै’छ । समाजले त हरेक पाइलामा लोग्नेमान्छे र स्वस्नीमान्छेका बीचमा अलग व्यवहार गर्ने गरेको छ । त्यस्तो फरक व्यवहार देख्दा कसको मन नभाच्चिँदो होला तर खोई गुनासो गर्न कसले सकेको छ ? दुःख कसले प्रकट गरेको छ ? कसैले गरेका छैनन् । हामी स्वास्नीमान्छे भनेकै सहनुको पर्याय त होला नि !  नचाहिँनदो बन्देज लगाउँदा पनि सहेकै छौँ, अनावश्यक आरोप लगाउँदा पनि सहेकै छौँ ।’

विश्वेश्वराले सोची– ‘नौ महिनाको अवधिमा एकै प्रकृतिका दुइटा घटना घटेका हुन् हाम्रा घरमा तर ती घटनालाई अलगअलग चस्माले हेर्‍यो हाम्रो घर र समाजले । यस घर र गाउँका मुखियाहरूले उस्तै प्रकृतिको घटनामा किन अलगअलग निर्णय दिएका होलान् ? एउटालाई सहज रूपमा स्वीकार्ने अनि त्यसको खुसीमा रमाउने तर त्यही समाजले त्यस्तै प्रकृतिको अर्को घटनालाई चाहिँ किन दुत्कारेको होला, किन नकारेको होला, किन घृणाका दृष्टिले हेर्न पुगेको होला ? पुरूष जातिलाई त्यस्तो कार्य गर्न उत्प्रेरित गर्ने हाम्रो समाजले महिलाले त्यही काम गर्न खोज्दा किन दुरुत्साहन गर्ने ? कस्तो न्याय हो यो ? के यस्तै होइन त मत्स्य न्याय भनेको ?’

विश्वेश्वरालाई लाग्यो– ‘विद्रोहले भनेजस्तै कुन ठूलो कुरा थियो र त्यो ? तर समाजका आँखाले ठूलो बनाइदियो । के आफ्नो जिन्दगीको फैसला आफैँ गर्ने स्वतन्त्रता हुँदैन त स्वास्नीमान्छेलाई ? कोसित बिहे गर्ने र कोसित जीवन बिताउने भन्ने प्रत्येक मान्छेका नितान्त व्यक्तिगत कुरा होइनन् र ? त्यस्तो निर्णय गर्ने अधिकार प्रत्येक मान्छेलाई हुँदैन त ? त्यस्तो अधिकारको उपयोग गर्ने वातावरण निर्माण गर्नु के आधुनिक सोच र मान्यतायुक्त सुसंस्कृत समाजको परिचायक होइन र ? किन जातीय बन्देज ? केको लैङ्गिक विभेद ? किन लोग्नेमान्छे र स्वास्नीमान्छेका बीचमा असमान व्यवहार ?’ प्रश्न पनि साथै उठ्यो विश्वेश्वराको मनमा ।

त्यसरी अतीत नियाल्दै र सम्झिँदै जाँदा विश्वेश्वरा एकचोटि फेरि उसकी साइँली नानीको जिन्दगीभित्र पस्न पुगी । ‘करिब पच्चीस वर्ष अगाडि विवाह भएको हो उनको । त्यस बखत साइँली नानी सानै उमेरकी थिइन् । बिहे गरेको केही महिनामा नै पढ्न भनेर साइँली नानीका लोग्ने वनारस गए । उमेर पनि सानै र खसम पनि घरमा नभएकाले साइँली नानी त्यतिबेला माइतमै बस्दै थिइन् । म पनि उमेरकी त सानै थिएँ तर मेरो भाग्यमा सायद बिहेपछि माइती बस्नै लेखेको छैन । पच्चीस वर्ष अगाडि सुरू भएको बुहार्तनको बोझ अझैसम्म पनि थामिरहेकै छु । बेलाबेलामा ज्वाइँ नारानको कुशलमङ्गलको खबर पनि आउने गर्थे । सबै ठीकठाक नै थियो साइँली नानीको जिन्दगीमा– बिहे गरेको केही वर्षसम्म । एक साँझ गंगाजीमा पौडी खेल्न गएका ज्वाइँ डुबेर मरेको दुःखद खबर अकस्मात् आइपुग्यो । उता, लोग्ने के मर्‍यो, यता जहाजै डुब्यो बिचरी साइँली नानीको । बैगुनी समाजले त्यो घटनाको सारा दोष साइँली नानीको भाग्य र तिनको चिनामाथि थोपर्‍यो । लोग्ने टोकुवी बनेर माइतीमै बस्न बाध्य भइन् । त्यसपछि हो– नियतिले हामी नन्द–भाउजूलाई झन् नजिक बनाइदिएको । आफ्ना मनका कुण्ठा, चिन्ता, पीर र पीडालाई आफूभित्र कैद गर्दै बीस वर्षभन्दा बढी नै बिताएकी थिइन् साइँली–नानीले– भान्साकोठा र बाहिरको काममा मलाई सघाएर । मसित कहिल्यै गुनासो गरिनन्, कहिल्यै नाखुस भएको देखाइनन् । सायद आफूमाथि भएको झेललाई नियतिको खेल ठानेर स्वीकारेकी थिइन् ।’

सम्झँदै जाँदा विश्वेश्वराले त्यस्तै अर्को घटना सम्झिन पुगी । ‘त्यस्तै प्रकृतिको घटना केही वर्षपछि फेरि हाम्रै परिवारभित्र दोहोरिँदै देखापर्‍यो । दाउन्नेको बस दुर्घटनामा परेर विद्रोहका जेठाबा बाँचे तर साथै यात्रा गरिरहेकी मेरी जेठानी बसले किचेर ठहरै परिन् । छन त गुनिली थिइन् बुढिया । ठूलो परिवार, धेरै गँुडका केटाकेटी तर कसैलाई आफ्नो र पराई नठानी सबैलाई समान व्यवहार र माया गर्थिन् । लोग्नेको पनि औधी नै सेवा गर्थिन् । त्यस्ती पत्नी बितेपछि भने विद्रोहका जेठाबालाई अलिकति गाह्रो त हुने नै भयो । तैपनि छोराबुहारी र नातिनातिनाको मुख हेरेर बसेको भए हुन्थ्यो बूढाले । तर घरबाहिरका अरू मान्छेका कुरा सुने, मन चञ्चल बनाए । मनका पखेटा चल्न थालेपछि के रोक्न सकिन्थ्यो ! पत्नी वियोग भएको चार महिनाभित्रै ‘राँडाको जिन्दगी बिताउन त निकै गाह्रै पो हुँदोरहेछ’ भन्दै हिँड्न थालेका थिए बूढा ।’

बूढाका दौँतरी पनि के कम ? उकास्नसम्म उकास्थे । ‘स्वास्नी नभएको लाग्नेमान्छेलाई बुढेसकालमा गाह्रै हुन्छ । छोरा छन्, हेर्छन् भनेर के गर्नु ? बुहारीको पछि लाग्दैमा फुर्सद हुँदैन छोराहरूलाई । उस्तै परे त हेर् है जेठा ! बिरामी परेका बाखतमा एक चम्ची पानी खुवउने मान्छेसम्म पनि कोही हुँदैन नि ! अझै त केटी खोज्दा पाउने उमेर छ तेरो । पछि दाँत खुस्केपछि त गाह्रो पर्छ नि ! अहिले धेरै ठालु नपल्टी, बेलैमा बिहे गर्’ भन्दै उचाल्थे । यी आँखाले हेर्दाहेर्दै जेठानीको वर्ष दिनको काम सकिएको एक हप्ताभित्रै बूढाले दियो–कलश पुजेर एक जना बालविधवालाई भित्र्याइहाले– कान्छी पत्नीका रूपमा । समाजका हर्ताकर्ता र धनी मान्छे, आफूभन्दा धेरै कम उमेरकी मान्छेसित बिहे गर्दा पनि कुनै लोग्नेमान्छेका आँखाले नराम्रो देखेनन्, कुनै मुखले नराम्रो भनेनन् ।

त्यो घटना सम्झेपछि भने त्यस्तो प्रश्न उठ्दा ऊ आफैँले उत्तर दिन सक्दिनँ भन्ने जान्दाजान्दै पनि विश्वेश्वराले प्रश्न राखेर आफ्नो परीक्षा लिई । उसले सोधी– ‘कति अन्याय गर्न जानेको हो यो समाजले ? भाउजू मरेको एक वर्षभित्रै अर्की श्रीमती ल्याउन दाजुचाहिँलाई प्रोत्साहन गर्ने यो समाजले त्यसै घरकी साइँली छोरीलाई चाहिँ त्यतिका वर्ष माइतीको आँगन रूँगेर बस्दा पनि किन अर्को बिहा गर् भन्न नसकेको ? कलिलो उमेरका उमेरजन्य रहर र इच्छाहरू किन देख्न र बुझ्न नसकेको होला ? साइँली नानीले पहिरेको सेतो लुगाभित्र लुकेको वैँस र वैँसजन्य स्वाभाविक शारीरिक चाहनालाई किन ठम्याउन नसकेको होला ? दाजुको गाह्रोसाह्रो बुझ्ने समाजले बहिनीचाहिँको गाह्रोसाह्रो किन बुझ्न नचाहेको होला ? के लिङ्गकै आधारमा यति ठूलो विभेद गर्न पाइन्छ ? मान्छेका रहरमाथि बञ्चरो हान्न पाइन्छ ?’

आमालाई सोधेको कुनै प्रश्नको उत्तर नपाएपछि अन्त्यमा फेरि विद्रोहले भन्यो– ‘ए आमा ! म एउटा अर्को प्रश्न सोध्छ,– नरिसाईकन जवाफ दिने हो ?’ अतीतमा हराइसकेकी विश्वेश्वरालाई छोराको बोलीले झसङ्ग बनाइदियो । जवाफ दिन सक्दिनँ होला भन्ने थियो सायद उसको मनमा । त्यसैले केही नसुनेको जस्तै गरी ।

विद्रोहले फेरि उही प्रश्न अर्कोचोटि दोहोर्‍यायो । प्रश्न सुनेर ‘के हो भन् न ? जवाफ दिन हुने र मैले दिनसक्ने रहेछ भने दिऊँला । नहुने र नसक्ने रहेछ भने चुप लागूँला’ भन्दै बचाउको बाटो राखेर जवाफ दिई विश्वेश्वराले ।

‘नढाँटीकन जवाफ दिने भए मात्र सोध्छु’, विद्रोहले भन्यो ।

‘भनी नै सकेँ नि जवाफ दिनुपर्ने र सक्ने भए दिन्छु भनेर । सोधी हेर् अनि जवाफ दिने कि नदिने ठहर त्यसैबेला गरूँला’, प्रत्युत्तर थियो विश्वेश्वराको ।

विधवा जिन्दगी माइतीघरमै बिताइसकेकी उसकी साँल्दिदी आफ्नै जेठ्दाइको पुनर्विवाहले उत्साहित बनेर हो अथवा समाज र घरका मान्यताका विरोधमा विद्रोह गर्न मन लागेर हो अथवा जिन्दगीको एक्लोपनाबाट दिक्क भएर हो अथवा अरू कुनै कारणले हो– जेठाबाको विवाह भएको नौ महिनाभित्रै एक जना विधुरसित आफैँ विवाह गरेको घटना ताजा भएर विद्रोहको मस्तिष्कमा ठोक्किन आइपुग्यो ।

त्यसरी आमालाई प्रश्न राखिरहँदा विद्रोहका अगाडि करिब सत्र वर्षको विधवा जिन्दगी माइती घरमै बिताइसकेकी उसकी साँल्दिदी आफ्नै जेठ्दाइको पुनर्विवाहले उत्साहित बनेर हो अथवा समाज र घरका मान्यताका विरोधमा विद्रोह गर्न मन लागेर हो अथवा जिन्दगीको एक्लोपनाबाट दिक्क भएर हो अथवा अरू कुनै कारणले हो– जेठाबाको विवाह भएको नौ महिनाभित्रै एक जना विधुरसित आफैँ विवाह गरेको घटना ताजा भएर विद्रोहको मस्तिष्कमा ठोक्किन आइपुग्यो । आफैँसम्म मात्र प्रश्न सीमित राख्दै भन्यो– ‘जेठाबालाई बिहे गर्नका लागि सुर्‍याउने हाम्रो समाजले तिनकै साइँली बहिनीको इच्छा बुझ्ने प्रयत्न किन गरेन ? लामो जिन्दगी एक्लै बिताउन कठिन पर्छ । त्यसका लागि एउटा साथीको खाँचो पर्छ भन्ने किन सोच्न सकेन ? साइँली ! हेर्, तेरो खाऊँलाऊँ भन्ने उमेर अझै बाँकी छ, अर्को बिहा गर् भन्ने सल्लाह दिन किन उचित ठानेन ? समाजले भनेन भन्दैमा साँल्दिदी चुप लागेर बस्नु किन पर्थ्यो ? तिनको धैर्यको बाँध कमजोर भयो होला, टुट्यो । बिहे गरिन् । साँल्दिदीको पुनर्विवाहको निर्णयलाई जेठाबाको जस्तो सहज रूपमा किन ग्रहण गर्न सकेन यो घरले ? किन पथभ्रष्ट आइमाईको प्रतिमूर्ति ठान्दै दुत्कारेको हो हाम्रो समाजले ? कुन ठूलो भूल थियो र त्यसरी यस समाज र घरबाट तिरस्कृत र बहिस्कृत हुनुपरेको हो साँल्दिदीले ?’

‘यस्तै द्वैध चरित्र प्रदर्शन गर्नबाहेक आइमाईलाई भोग्या र सेविकाको रूपमा मात्र लिने रूढिवादी समाजले अरू के गर्न सक्छ ? यही नै त होला नि स्वाभाविक स्वभाव यस्तो पुरातन सोचग्रस्त आदिम समाजको’ ठान्यो विद्रोहले ।

‘लोग्नेमान्छेको त जातै त्यस्तो । सधैँ विभेद गरेकै थिए, गरे तर विधवा हजुरआमालगायत गाउँभरिका स्वास्नीमान्छेले साँल्दिदीको किन विरोध गरेका होलान् ? किन तिरस्कार गरेका होलान् ?’ मसिनो गरेर नियाल्न खोज्यो हरेक प्रश्नसँग गाँसिएका उत्तरलाई । तर ती कुनै पनि उत्तरले स्वाभाविक कारण बनेर विद्रोहको मनलाई शान्त पार्न सकेनन् । साँल्दिदीको पुनर्विवाहले नारी जातिको अपमान भएको, त्यस कार्यले स्वास्नीमान्छेको शिर झुकाइदिएको र मुहारमा कालो पोतिएको ठहर गर्दै उसकै घरका स्वास्नीमान्छेले पनि पथभ्रष्टको कित्तामा राखेको कुरा विद्रोहले सहज मान्नै सकेन ।

प्रश्न त विद्रोहले आफ्नी आमालाई नै राख्न खोजेको हो तर उसकी आमा फगत एउटी महिला र घरकी सबैभन्दा कमजोर सदस्य हो भन्ने बुझ्नासाथै प्रश्न राख्नका लागि खुल्न खोजेका उसका ओठ एकाएक बन्द हुन पुगे । न विद्रोहले प्रश्न राख्न सक्यो, न त उसकी आमाले नै उत्तर दिने बाध्यता पैदा भयो । आमा–छोरा भने मुखामुख गरेर एकअर्कालाई हेरिरहे । त्यसो गरिरहँदा दुवैका मन र मस्तिष्क अनि नजरमा समाजले गरेको विरोधाभासपूर्ण व्यवहार निकै बेरसम्म आइरहे ।

भान्साबाट फनक्क फर्केर पिँढीमा आयो विद्रोह । भर्खरै बाहिरबाट फर्केका जेठाबा उसकी नयाँ जेठ्यामासँग बोल्दै थिए । साँल्दिदीलाई माया गर्ने मनले तिनको ठाउँमा नयाँ जेठ्यामालाई भेट्यो । अनायासै उसको मुखबाट ‘जेठाबा, यसपल्टको तीजमा साँल्दिदीलाई बोलाउनुपर्छ है !’ फुत्किहाल्यो ।

जेठाबाले त सायद कुनै जवाफ दिन आवश्यकै ठानेनन् तर उसकी नयाँ जेठ्यामाले भने ‘छिः के भन्छ, यो केटो ?’ भन्दै मुख अर्कोतिर बटारिन् ।
    
अटवा, १६ कार्तिक २०६८