तीज समीक्षा : गोडाको पानी र हाम्रो सामाजिक यथार्थ
भदौ २२, २०७६

तीजका बारेमा केही वर्षयता विभिन्न संचार माध्ययममार्फत् अत्यधिक मात्रमा लेख, बहस र छलफलहरू हुँदै आएका छन् । तीजको औचित्यमाथि नै थुप्रै प्रश्न उठ्न थालेका छन् । तीजका गीतका बारेमा थुप्रै प्रश्न उठिसकेका छन् ।

महिना दिनसम्म खाने ‘होटल–दर’का बारेमा आलोचना त कति हो कति । तीजको इतिहास, धार्मिक या सांस्कृतिक पक्षका बहस पनि धेरै भएका छन् । यीबाहेकक केही नयाँ विषय यहाँ उठाउने प्रयास गरिएको छ ।

तीज सकिएलगत्तै एउटा विषयले बहुत कुत्कुती लगायो र केही थप विषयको बारेमा यहाँ लेख्न जरुरी लाग्यो । जब ‘जनता जान्न चाहन्छन्’ भन्दै देशका अधिकांश मिडिया कभर गरेर बोल्ने ऋषि धमलाकी श्रीमतीले धमलाको गोडाको पानी खाँदै गरेको फोटो बाहिरियो, सँगै महिलाहरूले तीजमा दर खाने संस्कारको नाउँमा होटेलमा बियर तान्दै गरेको फोटो पनि आयो । यी विषय अहिलेको नेपाली समाजका स्वाभाविक घटना हुन् तर हामी अस्वाभाविक रूपमा व्याख्या गरिरहेका छौँ । जे देख्यो, भाइरल बनाएर सामाजिक संजालमा टीका टिप्पणी गर्दैमा हाम्रो समय मात्रै बर्बाद गरिरहेका छौँ ।

वास्तवमा हामी केका पछाडि दौडिरहेका छौँ भन्ने प्रश्न यहाँ उठ्न जरुरी छ । जबकि, धमलाकी श्रीमती आफैँले उक्त फोटो खिच्न लगाएर संजालमा पोष्ट गरेको स्वीकार्दै आफ्नो स्वतन्त्रताको कुरा उठाउनुभएको छ । मूलतः उहाँले श्रीमान्लाई भगवान् शिवको रूपमा स्वीकार गरेर आफूलाई पतिब्रता नारीको रूपमा देखाउन खोज्नुभएको हो । धमला–पत्नीले एउटा अन्तवार्तामा भन्नुभयो, ‘म आफ्नो श्रीमान्को गोडाको पानी खान्छु, यो मेरो इच्छा हो । यो खाएवापत मैले जे सजाय भोग्नुपर्छ भने म तयार छु तर सधैँ खान्छु । र, त्यो फोटो पनि मैले नै सामाजिक संजालमा पोष्ट गरेको हो ।’

यसले दिने सन्देश भनेको श्रीमान् देवता र श्रीमती गोडाको पानी खानुपर्ने दासी आइमाई मात्रै हुन् या दुवैमा आकाश र जमिनको लैङ्गिक विभेद अझै छ र यो अझै रहन जरुरी छ । यो हेर्दा एक जनाको कुरा जस्तो लागे पनि त्यो तहकी नारीको बुझाइको स्तर त्यहाँ छ भने सामाजिक रूपमा हामी कहाँ छौँ भन्ने जटिल प्रश्न हो ।

तीजको सामाजिक प्रभाव

तीज यो वर्ष पनि निकै होहल्लाका साथ सकिएको छ । धङ्धङी भने अझै बाँकी नै छ । तीजका गीत र पहिरनले हाम्रा फेसबुकका वालहरू प्रायः रातै भए । तीजको आकर्षण केही वर्षदेखी गैरहिन्दुमा पनि बढ्दै गएको छ । यसको मुख्य कारण तीज नारी स्वतन्त्रता र मनोरंजनको चाड भनेर बुझ्दै आइएको छ । हुन पनि हो कि त जस्तै लाग्ने । हिन्दु संस्कारका महिलाले कुर्कुच्चा देखाएर नाच्न हुदैन भन्ने रुढीवादी धारणाले जकडेको समाजमा नाच्न पाएको छ, गाउन पाएको छ, महिना दिन अगाडिदेखि नै दर भनेको छ । होटल र पार्टी प्यालेसहरू बुक गर्दै पुराका पूरा स्वतन्त्रता झल्किने गरी नाचगान र खानपानमा व्यस्त बनेका छन् दिदीबहिनीहरू । यो दृश्य देखेपछि अन्य गैरहिन्दु नारीहरूलाई पनि रहर जाग्नु स्वाभाविकै हो ।

अहिले सबै नेपालीकै हो यो पर्व भन्दै सबैले मान्न थालेको देखिन्छ । खास तीजको वास्तविक अर्थ बुझेर मानेका भने पाइँदैन । तीज उत्तर भारतमा पनि मनाइन्छ । यो पर्व नेपाली महिलाहरूले पृथ्वी र भवगान् शिवको पूजाआराधना गरेर निराहार व्रत बसी तीन दिनसम्म मान्दै आएको देखिन्छ ।

तीजको व्रतको औचित्य नै लिङ्ग पूजा हो । धार्मिक ग्रन्थमा यसको महत्त्व होला तर भौतिकवादमा यसको कुनै अर्थ छैन । लिङ्ग पूजा लैङ्गिक विभेदको चरम रूप हो भनेपछि यसका राम्रा, नराम्रा पक्षको बोरमा उल्लेख गरिरहनु जरुरी छैन । यो एक हिन्दु सनातन र सामन्ती समाजको विभेदकारी रूप हो । स्वतन्त्रताको नाउँमा यसको रूप बदलिएको छ तर सार खोज्दै जादाँ उहीँ पुग्छ, जो धमला–पत्नीमा देखियो ।

अर्को विषय आजका महिलाहरूले तीजमा स्वतन्त्रताका नाउँमा महिनौँ होटल र पार्टी प्यालेसमा कक्टेल खाए भनेर थुप्रै आलोचनाहरू भए । गण्डकी प्रदेशका प्रमुखले त यो विकृति हो भनेर जथाभावी तीज मनाउन बन्देजको आह्वान् नै गरे । यदि नेपाली महिलाहरूले यसरी तीजको समयमा महँगा सारी र गरगहना नकिन्ने हो भने भारत र चीनको व्यापार कति घट्थ्यो होला, सोचौँ त ! हामी आफैँबाट संचालित छैनौँ, नवसामन्तवाद र पुँजीवादको घेराभित्र जकडिएका छौँ, त्यसैले संस्कारको नाउँमा हामी आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक रूपमा दिनानुदिन स्खलित हुँदै छौँ ।

‘हिजो सासू र आमाजूबाट पीडित थियौँ महिलाहरू’ भन्दै स्वतन्त्रताको नाउँमा भड्किला तीज गीतहरूमा नाच्दा आधुनिक सभ्यताको खोक्रो खोलभन्दा के चिज छ हामीसँग ?

मुख्य कुरा त शहरमा  महिनौँसम्म दर खाएर आधुनिक नारीको संज्ञा दिन खोज्ने अनि तीजको दिन श्रीमान्को गोडाको पानी खाने धमला–पत्नी आधुनिक मोडेल, कलाकार प्रतिनिधि नै हुनुहुन्छ हाम्रो समाजकी । उहाँले यसलाई आफ्नो स्वतन्त्रताको रूपमा परिभाषित पनि गर्नुभएको छ ।  लैङ्गिक स्वतन्त्रतामाथिको एउटा गम्भीर प्रश्न यो हो या होइन ?

अघिल्लो पुस्ता र तीज

विक्रमको चालीसको दशकभन्दा अगाडिका प्रयाः सबै हिन्दु ग्रामीण महिलाहरू तीजमा निराहार व्रत बसेर अहिलेसम्म श्रीमान्को गोडाको पानी खाएर मात्रै अन्न खाने गर्थे । यो अत्यन्तै विभेदपूर्ण र खराब पुरुषवादी समाजको लैङ्गिक विभेद हो तर हामीले भनेर हाम्री हजुआमालाई ‘अब हजुरबाको गोडाको पानी नखानुहोस्, अब व्रत नबस्नुहोस्’ भनेर उहाँ टेर्नु हुने देखिँदैन किनकि उहाँ त्यही गर्नमा आनन्दित हुनुहुन्छ । संस्कार खराब होस्, विभेदपूर्ण होस् तर मान्छेको दिमागमा गडिसकेपछि त्यो यति मज्जाले भासिँदोरहेछ कि त्यसबाट छुटकारा लिनै चाहँदैन मान्छेको मानसिकताले ।  

तीजको व्रतको औचित्य 

तीजको व्रतको औचित्य नै लिङ्ग पूजा हो । धार्मिक ग्रन्थमा यसको महत्त्व होला तर भौतिकवादमा यसको कुनै अर्थ छैन । लिङ्ग पूजा लैङ्गिक विभेदको चरम रूप हो भनेपछि यसका राम्रा, नराम्रा पक्षको बोरमा उल्लेख गरिरहनु जरुरी छैन । यो एक हिन्दु सनातन र सामन्ती समाजको विभेदकारी रूप हो । स्वतन्त्रताको नाउँमा यसको रूप बदलिएको छ तर सार खोज्दै जादाँ उहीँ पुग्छ, जो धमला–पत्नीमा देखियो ।

संस्कार र संस्कृतिको नाउँमा हामीले कुसंस्कारलाई भने अँगालिरहेका छौँ बरु अमूल्य लोकसंस्कृतिहरू संगिनी र बालन भने भुल्दै आएका छौँ ।
सामान्य प्राकृतिक कुरा महिलामा हुने महिनावारीलाई बिगारेर पाप र धर्मको संज्ञा दिएर आज पनि कैयौँ नेपाली महिलाहरू महिनामा सात दिन या कुनै ठाउँ पाँच दिन चुह्लो र धारा, मन्दिरलगायतका कथित पवित्र भन्ने ठाउँमा छुन र पस्न  पाउँदैनन् । नेपालको मध्य र सुदूरपश्चिमका धेरै जिल्लाहरूमा छाउपडी प्रथाको रूपमा छाउगोठमा सात दिनसम्म बस्दा कैयौँ बलात्कार र सर्पको टोकाइका घटनाहरू हामीले सुन्दै आएका छौँ । यो प्रथाको अन्त्य गर्न त्यो क्षेत्रमा सयौँको संख्यामा सरकारी तथा गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूले काम पनि गरेका छन् । अझै गरिरहेका पनि छन् तर एउटा म आफैँ पुगेर देखेको घटना यहाँ उल्लेख गर्न जरुरी ठान्छु ।

जब म कैलालीको एउटा गाउँमा एउटा कार्यक्रममा पुगेँ, एउटा शिक्षित घर रहेछ– श्रीमान् श्रीमती दुवै जना कलेजमा शिक्षण गर्दारहेछन् । तर, श्रीमती महिनावारी हुँदा त्यही छाउगोठमा बस्दी रहिछन् । उनीहरूको शिक्षा पनि पुरानै, विचार पनि पुरानै, त्यही कारण उनीहरू परिवर्तन हुन नसकेको देखियो । अझ ठूला खान्दान र कुलघराना भनिने ठकुरी खलकको त छुवाछुत र लैङ्गिक विभेद झनै जटिल छ । यो सामन्ती समाजको निकै गहिरो प्रभाव अझै पनि नेपाली समाजमा छ ।

हामी जे बाहिर देख्छौँ त्यसको पछाडि यो खराब रहेछ भन्दै उछितो काढ्नै आफ्नो केही गर्ने ऊर्जाशील समयको बर्बादी गर्छौं । विभिन्न पत्रपत्रिका तथा मिडियामा क्रान्तिकारी विचार पनि पोख्छौँ । जब वास्तविक जीवन भोगाइमा घरभित्र छिर्छौं, हामी अर्कै रूपमा प्रस्तुत हुन्छौँ । अनि कहिलेकाहीँ त यी दुवै चरित्रको बिम्ब एउटै पात्रमा देख्दा दिग्भ्रमित पनि हुन्छौँ । त्यही दिग्भ्रमित पात्रको प्रतिनिधि बिम्ब मात्रै हुनुहुन्छ– धमला र उहाँकी पत्नी ।

यही महिनावारीको  विषयलाई पापको रूपमा लिएर तीजको तेस्रो दिन पञ्चमीमा दत्तिउनको डाँठले ३६५ पटक अर्थात् वर्षभरीको पाप पखाल्न नुहाउने चलन छ । वास्तवमा एकातिर गाउँमा र पुराना रुढीवादी सोचले अझै नछाडेको अवस्था, अर्कातिर शहरिया महिलाहरूको स्वतन्त्राको नाउँमा उपभोक्तावादी उच्छृ्रङ्खल ठूलो विकृति बनेको छ । यी दुवै पक्ष आजको नेपाली समाजमा अनावश्यक विषय हुन् । यी दुवै असल संस्कृति होइनन् ।

तीजको संगिनी गीत र नृत्य (गाउँदै गोलो घेरा बनाएर नाच्ने) संस्कृति थियो । संगिनीमा पनि माइतीमा सासू र श्रीमान्ले गरेका विभेद र अपमानका पीडाहरू तीजमा आमासँग माइतीमा आउँदा गाउने विरहको भाका थियो । यसको संगीत र ताल भने निकै सुन्दर थियो । यो प्रायः लोप नै भइसक्यो ।  अहिलेको समाजमा सासूहरू धेरै पीडित छन् । समय बदलिएको छ । छोरा–बुहारी शहर या विदेशमा । सासूआमा र बा चुह्लो र घर रुङ्दै गाउँमा ।

निष्कर्ष

नेपाल वर्गीय सन्दर्भमा कुरा गर्दा मध्यम वर्ग र निम्न मध्यम वर्गको बाहुल्य रहेको तर थोरै उच्च वर्ग (इलिट)हरूले शासन गर्दै आएको मुलुक हो । यस्तो मुलुकमा आमूल परिवर्तनका लागि विभिन्न समयमा राजनीतिक आन्दोलनहरू हुन्छन्, भइरहेका छन् । परिवर्तन भयो भनेर जनता उचालिन्छन्– कहिले लोकतान्त्रिक शक्तिको नाउँमा, कहिले कम्युनिस्टको नाउँमा तर ती आन्दोलनहरू इलिट वर्गकै कब्जामा खेलिरहेका हुन्छन् । अहिले पनि हेर्दा सर्वहारा वर्गको नेतृत्व गर्नेजस्तो सरकार छ तर इलिट वर्गकै नेतृत्व रहेको देखिन्छ ।

यहाँ किन यो प्रसंग जोड्न खोजिएको हो भने ऋषि धमला र उहाँकी पत्नी प्रतिनिधि पात्र मात्रै हो । उहाँहरू बाहिर देखिनुभयो तर आज कैयौँ नेता, अभियन्ता, कम्युनिस्ट, गैरकम्युनिस्ट आदिका घरका श्रीमतीहरूले निराहार व्रत बसेर श्रीमान्का गोडाको पानी खाए । कोही देखाएर खान्छन्, कोही यो गलत हो भन्ने बुझीबुझी कसैले देख्ला कि भनेर भित्र कालो कोठामा पसेर खान्छन् र खुवाउँछन् । यो नै अहिलेको नेपाली समाजको यथार्थ चरित्र हो ।

तर, हामी जे बाहिर देख्छौँ त्यसको पछाडि यो खराब रहेछ भन्दै उछितो काढ्नै आफ्नो केही गर्ने ऊर्जाशील समयको बर्बादी गर्छौं । विभिन्न पत्रपत्रिका तथा मिडियामा  क्रान्तिकारी विचार पनि पोख्छौँ । जब वास्तविक जीवन भोगाइमा घरभित्र छिर्छौं, हामी अर्कै रूपमा प्रस्तुत हुन्छौँ । अनि कहिलेकाहीँ त यी दुवै चरित्रको बिम्ब एउटै पात्रमा देख्दा दिग्भ्रमित पनि हुन्छौँ । त्यही दिग्भ्रमित पात्रको प्रतिनिधि बिम्ब मात्रै हुनुहुन्छ– धमला र उहाँकी पत्नी ।

अहिले एकथरी क्रान्तिकारी महिलाहरूलाई संकट आइलागेको छ । जो महिलाहरू आफूलाई सर्वहारा वर्गको प्रतिनिधित्व गर्छु भनेर मार्क्सवादी दर्शनअनुसार समाजमा विभेदको अन्त्य गर्न लागे र लागिरहेका छन्, उनीहरूलाई नै तीज जस्ता पर्वले चिप्ल्याइदिएका छन् । राजनीतिक रूपमा कम्युनिस्ट भन्ने अधिकांश महिला नेतृहरूलाई तीज प्रश्न बनेर  उभिएको देखिन्छ ।

एकातिर मार्क्सवादी मुुठ्ठी उठाएर गलत संस्कार र संस्कृतिलाई गलत भनेर सावित गर्न नसक्नु उनीहरूको बाध्यता जस्तै बनेको देखिन्छ । तीजलगायत अन्य चाडवर्वहरू समाजमा नदेखियोस्, भित्रभित्रै मानौँ  या लुकाऔँको अवस्था छ । मान्ने कि नमान्ने दुविधामा छन् । एउटा ठूलो जत्था नै पुँजीवादमा रुमल्लिएर भव्य तीज मानिरहेको छ । राजनीति पनि गर्नु छ । निम्तो बहिष्कार पनि गर्नु भएको छैन । तीज मान्न खासै रहर पनि छैन ।

विस्तारै उनीहरू  तीजका पार्टी, भोजहरूमा देखा पर्न थालेका छन् । खासमा जित्नुपर्ने विचारले हारिरहेको र जो कामै नलाग्ने समाजमा विभेद ल्याउने विषयले नै जितिरहेको छ अहिलेको हाम्रो समाजमा । अझै केही वर्ष तीजका लेख रचनाहरू छापिने नै छन् । कालान्तरमा जब तीजको औचित्य लोप हुँदै जाने छ, त्यो पनि आफैँ लोप हुँदै जान्छ अर्थात् पुरुषहरूले ‘बीच्चबीच्चमा’ पसेर नाच्न थाल्नु नै यसको औचित्य हराउनु हो । जबसम्म लिङ्ग पूजा गरिन्छ, तबसम्म  लिङ्ग विभेद रहन्छ ।

कुनै समय या कालान्तरमा यो लोप हुन्छ र लैङ्गिक विभेदको पर्व तीजको विकृत रूप पनि लोप हुन्छ । समान हिसाबले पारिवारिक भेटघाटको दिनसम्म रहनसक्छ । त्यसपछि ऋषि धमला र उहाँकी पत्नी तथा सन्तानले गोडाको पानी खाने र खुवाउने गर्नेछैनन् ।