नेपाल एसीसी यु- १९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो

नेपाल एसीसी यु- १९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २२, २०७६

नेपाल एसीसी यु- १९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छ ।

नेपालले बिहीबार भएको खेलमा श्रीलङ्कासँग ५ विकेटको हार व्यहोरेको थियो । नेपालले दिएको २६२ रनको विजयी लक्ष्य बंगलादेशले ४ बल बाँकी छँदै पूरा गर्‍यो । अकबर अलीले सर्वाधिक ९८ रनको योगदान गरे । यस्तै, टोहिद हृदोयले ६०, समिम होसनले तथा महमुदुल हसन जोयले ४० रन बनाए ।

नेपालका लागि कमल सिंह ऐरीले २, रसिद खान र हरि गौचनले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो । नेपालका लागि सन्दीप जोरा र पवन सर्राफले उत्कृष्ट प्रदर्शन गरे ।

टेष्ट राष्ट्र बंगलादेशविरुद्ध नेपाली ओपनर ऋत गौतम र पवनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे । गौतम ३२ रनमा आउट भए तर पवनले सम्हालिएर कुशल मल्लसँग ३९ रनको साझेदारी गरे ।

नेपाली कप्तान रोहितकुमार पौडेलसँग उनले १४ रनको साझेदारी गरे । त्यसपछि सन्दीपसँग १४ रनको साझेदारी गरेका उनी ८१ रनमा आउट भए । त्यसअघि कुशल २८, रोहितकुमार १४ रनमा आउट भएका थिए । सन्दीप ३७ बलमा ५६ रन बनाएर पेभेलियन फर्किए ।