‘बीपी कोइरालाको डायरी’ सार्वजनिक

‘बीपी कोइरालाको डायरी’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ २२, २०७६

कठमाडौं : बीपी कोइरालाले वि. सं. २००८ देखि २०१३ सालसम्म लेखेका डायरीको पुस्तक ‘बीपी कोइरालाको डायरी’ आज आइतवार काठमाडौंमा लोकार्पण गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री तथा बीपी पुत्र डा. शशांक कोइराला, नरहरि आचार्य, डा. शेखर कोइराला, लेखक पुरुषोत्तम बस्नेत, डा. शोभाकर पराजुली, पत्रकार चन्द्रकिशोर, पुस्तकका सम्पादक तथा सङ्कलक पदमबहादुर थापा, अनुवादक महेश पौडेल र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।

लोकार्पण समारोहमा बैल्दै अनुवादक महेश पौडेलले आफूले अनुवाद गर्दा बीपीबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । बीपीलाई आजसम्म साहित्यकार र राजनीतिक व्यक्तित्वको रूपमा मात्र चिनेकोमा उहाँसित चित्रकारिताको पनि ज्ञान रहेको डायरी पढ्दा पाएको बताउनुभयो ।

यसैगरी डा. शेखर कोइराले यो पुस्तक डायरी मात्र नभएर युवा पिँढीका लागि संघर्षको अभिलेख रहेको बताउनुभयो । नेपाली कांग्रेसका बौद्धिक नेता नरहरि आचार्यले बीपी कोइरालाको डायरी आफूले तीन पटकसम्म पढिसक्दा पनि अझै चित्त नबुझेको र फेरि पढौँपढौँ लागिरहेको भन्दै उक्त डायरीमा नेपाली पाठकहरूका लागि विलकुलै नयाँ विषय र प्रस्तुति रहेको बताउनुभयो ।

भावुक मुद्रामा बाबासँगको आफ्नो संस्मरण सुनाउँदै नेपाली कांग्रेसका महामन्त्री तथा बीपी पुत्र डा. शशांक कोइरालाले यस पुस्तकले बीपीबारे अध्ययन गर्न चाहने र साहित्य, चित्रकारिता बुभ्mन चाहनेहरूका लागि अत्यन्तै महत्त्वपूर्ण र सहज हुने बताउनुभयो ।

कार्यक्रममा डा. शोभाकर पराजुलीद्वारा लिखित पुस्तक ‘लोकतन्त्र र समाजवाद’ र ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’को परिचर्चा भएको थियो । कार्यक्रम प्रकाशक शिखा बुक्सको आयोजनामा भएको थियो ।

‘बीपी कोइरालाको डायरी’को मूल्य ३५० रुपैयाँ रहेको छ भने ‘लोकतन्त्र र समाजवाद’को मूल्य ३७५ र ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’को मूल्य ९९५ रुपैयाँ रहेको छ ।