अमेरिकामा नेपाली मुक्तक वाचन

अमेरिकामा नेपाली मुक्तक वाचन

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ २३, २०७६

अमेरिकामा पहिलो पटक नेपाली मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा न्यूयोर्कमा भएको कार्यक्रममा दुई दर्जन बढी स्रष्टाले आफ्ना रचना सुनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा नेपाली समुदायको पहिचान स्थापित गराउन यस्ता साहित्यिक कार्यक्रमले ठूलो सहयोग पुग्ने धारणा राख्नुभयो । नेपालबाट कार्यक्रममा सहभागी हुन आएका मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले मुक्तक आकारमा सानो भए पनि यो लेख्न त्यति सजिलो नभएको र मोटो गद्य पुस्तकभन्दा उत्कृष्ट मुक्तक शक्तिशाली हुने बताउनुभयो ।

डा. तारा निरौलाले शक्तिशाली विधा मुक्तकप्रति साहित्यकारको आकर्षण बढेकोमा खुसी व्यक्त गर्नुभयो । साहित्यकार डा. मधु माधुर्यले नेपाली मुक्तकको इतिहास निकै पुरानो भएको जानकारी दिँदै वर्तमानमा मुक्तक विधाप्रति साहित्यकारहरूको आकर्षण बढ्नु राम्रो पक्ष हो भन्नु भयो । सञ्चारकर्मी शैलेश श्रेष्ठले कार्यक्रममा वाचित मुक्तकबाट आफू आनन्दित भएको र आगामी दिनमा मुक्तक लेखनतिर लाग्ने बताउनुभयो ।

मुक्तककार, गजलकार आनन्द श्रेष्ठले नेपाली मुक्तक विधाको विकास र विस्तारका लागि न्यूयोर्क महानगरमा पनि नियमित कार्यक्रमहरू गर्ने योजना सुनाउनुभयो । कार्यक्रममा नदिया लिवाङ, ज्योतिकुमार श्रेष्ठ, विजया सिंखडा, व्याकुल पाठक, अच्युत सिग्देल, शान्ता अधिकारी घिमिरे, पद्मा लिंखा मगर, डा. गोविन्द कोइराला, रश्मि भट्ट, विनोद रोका, कुन्ती थापा, लक्ष्मी श्रेष्ठ, पुष्पा अधिकारी, किशनसिंह धामी, पुनम काफ्ले, पुरुषोत्तम पन्थी, कमला प्रसाईं, कविनविक्रम शाह, बद्री पौडेल, ज्योति पौडेल, जानुका वस्ती ढकाल, पुष्कर बराल, सौरभ कारञ्जित, सिर्जना शर्मालगायतले मुक्तक वाचन गरेका थिए ।