राफेल नाडाललाई युएस ओपनको उपाधि

राफेल नाडाललाई युएस ओपनको उपाधि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २३, २०७६

यस वर्षको अमेरिकी ओपन लनटेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । यो उनको १९औँ ग्रान्डस्लाम उपाधि हो । नाडालले रुसका डानिल मेडभेडेभलाई संघर्षपूर्ण ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा पराजित गरेका थिए ।
 
नाडालले अन्तिम सेटमा नाटकीय रूपमा विजय हासिल गरेका थिए । ३३ वर्षीय बायाँहाते खेलाडी नाडाल अर्का स्टार खेलाडी रोजर फेडेररसँगै ग्रान्डस्लामको उपाधि होडमा छन् । फेडररले २० वटा ग्रान्डस्लाम उपाधि जितेका छन् ।
 
केन रोजवालले सन् १९७० मा ३५ वर्षको उमेरमा अमेरिकी ओपनको उपाधि जितेका थिए । विजय भएपछि नाडालले आफ्नो टेनिस करिअरमा यो सर्वाधिक भावपूर्ण क्षण रहेको सुनाए । विजयपछि उनको आँखाबाट आँसु झरेको भिडियो फुटेज सार्वजनिक भएको थियो । विश्व वरीयतामा नम्बर २ मा रहेका नाडालले ३८ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाएका थिए । उनले यसअघि अमेरिकी ओपनको उपाधि सन् २०१०, २०१३ र २०१७ मा जितेका थिए ।
 
आफूले ३० वर्षको उमेर पार गरेपछि नाडालले पाँचवटा ग्रान्डस्लाम उपाधि जितेका छन् । आइतबार राती खेलिएको यो प्रतियोगिता झण्डै ४ घण्टा ५० मिनेट चलेको थियो । त्यसैगरी, महिला एकलतर्फ क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी थिइन् । बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रहेको थियो ।
 
सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितेकी थिइन् । बायनाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । क्यानडाकी कुनै किशोरीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो । सेरेना विलियम्सले फ्लसिङ मिडोजको फाइनल हारेको यो लगातार दोस्रो वर्ष हो । सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन् । सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेकी छन् ।