प्रधानमन्त्री रिझाउँदै डा. दिव्या ५ ठाउँ नियुक्त, मन्त्री रिझाउँदै डा. सुबोध ३ ठाउँमा

प्रधानमन्त्री रिझाउँदै डा. दिव्या ५ ठाउँ नियुक्त,  मन्त्री रिझाउँदै डा. सुबोध ३ ठाउँमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ २३, २०७६

काठमाडौं ।  मिर्गौला रोग उपचारको क्षेत्रमा चर्चित नाम हो- प्रा.डा. दिव्यासिंह शाह । शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुखसमेत रहनुभएकी शाहको नेतृत्वमा एक दशक अगाडि नेपालमा नै सर्वसुलभ शुल्कमा मिर्गौला प्रत्यारोपण सेवाको सुरुवात भएको थियो । यसले गर्दा मिर्गौलाका सामान्य तथा जटिल प्रकारका बिरामीको पहिलो रोजाइमा पर्न सफल चिकित्सक हुनुहुन्छ, डा. शाह ।

तर, पछिल्लो समय चिकित्सकीय दक्षताले मात्र नभएर राजनीतिक नियुक्तिको हिसाबले पनि सधैँ चर्चामा रहन सफल चिकित्सक पनि हुनुहुन्छ, डा. शाह । स्पष्ट राजनीतिक धारमा नदेखिए तापनि देशका प्रमुख राजनीतिक दलको नेतृत्वलाई  संधै रिझाएर विभिन्न पदमा लाभ लिन सफल देखिनुहुन्छ, प्रा‍.डा. शाह ।

प्रत्यक्ष रूपमा कुनै पनि राजनीतिक दलसँग संलग्न नरहे पनि प्रा.डा. शाह मुलुकका कार्यकारी प्रमुख तथा दुई तिहाईको वामपन्थी सरकारका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली निकट हुनुहुन्छ । शक्तिको आडमा विभिन्न सरकारी नियुक्ति तथा ‘पावर एक्सरसाइज’मा उहाँको प्रभाव अनौठो छ । प्रा.डा. शाहको मुख्य जागिर त्रिवि चिकित्सा अध्ययन संस्थान र त्रिवि शिक्षण अस्पताल हो । यस्तै, उहाँ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि नेफ्रोलोजी एण्ड ट्रान्सप्लान्ट विभागमा कन्सल्टेन्ट नेफ्रोलोजिष्टका रूपमा कार्यरत हुनुहुन्छ । यो उहाँको व्यावसायिक संलग्नता हो तर पछिल्लो समय प्रधानमन्त्री ओलीसँगको निकट भएकै आधारमा उहाँले विभिन्न स्थानमा राजनीतिक नियुक्ति पनि खाइरहनुभएको छ ।

स्वास्थ्यको पाँच उच्च स्थानमा प्रा.डा. दिव्या नियुक्त

१२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको विशेषज्ञको हिसाबले शाह तीन वर्षयता प्रम ओलीको प्रमुख निजी चिकित्सक हुनुहुन्छ । उहाँको यो पहिलो राजनीतिक नियुक्ति प्रधानमन्त्री ओलीको निजी चिकित्सकका रूपमा भएको हो । उसो त उहाँ ओली प्रधानमन्त्री नहुँदा पनि ओलीको निजी चिकित्सकका रूपमा कार्यरत रहँदै आउनुभएको छ ।

उहाँको दोस्रो नियुक्ति क्याबिनेट चिकित्सक हो । हाल क्याविनेट चिकित्सकमा वरिष्ठ फिजिसियन तथा कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्मासहित प्रा.डा. शाह रहनु भएकाे  छ । यस्तै, डा. दिव्याको तेस्रो नियुक्ति स्वास्थ्य मन्त्रालयअन्तर्गतको अंग प्रत्यारोपण समितिको अध्यक्ष । यो मन्त्रालयअन्तर्गतको प्रभावशाली समिति मानिन्छ । यसले नेपालमा कुन अस्पताललाई र कुन चिकित्सकलाई कुन अंग प्रत्यारोपणका लागि मान्यता दिने वा नदिने भन्ने संवेदनशील निर्णय गर्छ, जुन निर्णयको प्रमुख निर्णयकर्ता प्रा‍‍‍‍.डा. शाह नै हुनुहुन्छ । प्रा.डा. शाहको चौथो राजनीतिक नियुक्ति शक्तिशाली चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष सिफारिस समिति सदस्य हो । सो आयोगमा लोकसेवाका आयोगका अध्यक्षको नेतृत्वमा हुने भए पनि उपाध्यक्ष सिफारिस समितिमा शाहकै प्रमुख वर्चश्व चल्ने गरेको चिकित्सा क्षेत्रमा चिकित्सकहरूको गुनासो पनि सुनिँदै आएको छ ।

यस्तै, शाहको अर्को नियुक्ति हो- विवादास्पद राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद् सदस्य । प्रधानमन्त्रीकै विशेष इच्छामा विवादास्पद राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद् सदस्यमा पनि दिव्याको नियुक्ति भएको बताइन्छ । यति मात्र नभएर बेलाबेलामा चिकित्सा शिक्षा सुधारका लागि भन्दै अनशन बस्दै आएका आईओएमका चिकित्सक प्रा.डा. गोविन्द केसी अनशन बसेको बेलामा समेत केसीको माग र सरकारसम्म उहाँले समन्वय गरेको पाइन्छ ।

नेकपा निकट राष्ट्रिय चिकित्सक संघका एक समदस्य भने विशेषज्ञ चिकित्सको हिसाबले डा. दिव्या प्रधानमन्त्रीको निजी चिकित्सक हुनु धेरै राम्रो भए पनि अन्य राजनीतिक नियुक्ति भने अस्वाभाविक रहेको बताउँछन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूको जुन खालको स्वास्थ्य संवेदनशीलता छ, त्यसमा विशेषज्ञ चिकित्सकको हिसाबले उहाँको नियुक्ति हुनु धेरै राम्रो हो तर अन्य नियुक्तिमा भने उहाँले विज्ञ तथा अन्य कारणले भन्दा पनि प्रधानमन्त्रीलाई रिझाउन सफल भएको देखिन्छ ।‘

स्वास्थ्यमन्त्री यादवको नियुक्तिमा जता पनि डा. सुबोध

यस्तै, हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालिरहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई रिझाएर विभिन्न नियुक्ति लिन सफल चिकित्सक हुनुहुन्छ, ग्यास्ट्रो सर्जन प्रा.डा. सुबोध अधिकारी । लामो समयसम्म वीर अस्पतालमा कार्यरत रहेका प्रा.डा. अधिकारीलाई हाल स्वास्थ्यमन्त्रीले स्वास्थ्यका महत्त्वपूर्ण स्थानमा नियुक्ति दिँदै आउनुभएको छ ।

सुरुमा मन्त्री यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा निमित्त उपकुलपतिको नियुक्ति दिनुभएको थियो । पछि न्याम्सको चार वर्षे पदाधिकारीको नियुक्त गर्दा प्रा.डा. अधिकारीलाई मन्त्री यादवले आफ्नो कोटाबाट रेक्टरमा नियुक्त गर्नुभएको थियो । राजनीतिक हिसाबले समाजवादी पार्टी निकट नरहे पनि मन्त्री यादवले उहाँलाई हाल लागिएको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन समितिको अध्यक्षको जिम्मेवारी पनि दिनुभएको छ ।

प्रा.डा. अधिकारीको पछिल्लो राजनीतिक नियुक्ति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद् सदस्यमा हो । यी सबै नियुक्ति उहाँलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गर्नुभएको हो । पछिल्लो समय मन्त्री यादवले खाली रहेको नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा समेत अधिकारीलाई नियुक्त गर्न लागिरहेको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो ।

यता, स्वास्थ्यमन्त्री उपेन्द्र यादव सचिवालयले भने प्रा.डा. अधिकारीलाई मन्त्री निकट भएर भन्दा पनि उहाँको कामप्रतिको लगाव र अनुभवको हिसाबले नियुक्त गरिएको बताएको छ ।