बढ्दो आत्महत्या : कारण र रोकथाम, भ्रम र यथार्थ
सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस

आत्महत्या एक यस्तो शब्द हो, जसले सबै बुद्धिजीवीहरूको ध्यान आकर्षित गर्छ । आत्महत्याको खबर सुन्नेवित्तिकै सबैलाई आश्चर्य र थकथकी लाग्छ । किन आत्महत्या गर्‍यो होला भन्ने कौतूहल भइहाल्छ । यसले गर्दा कुनै पनि विज्ञ समूहमा (डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, सामाजिक अभियन्ता, लेखक) एउटा बहसको सुरुवात जहिले पनि हुन्छ ।

आत्महत्या एक गम्भीर मानसिक स्वास्थ्य समस्या हो । यसले सबैको ध्यान तान्ने हुनाले यसको रोकथामको लागि ध्यान दिनुपर्ने हुन्छ तर यो वास्तवमा त्यति सहज भने छैन । यसका लागि आवश्यक सूचना प्रविधिलाई उपयोग गरेर, सफल रूपमा मानसिक रोगको उपचार गर्नुपर्छ । आत्महत्यासम्बन्धी जानकारी मूलक प्रचार*प्रसारलाई प्रोत्साहन गर्नुपर्छ, जसले गर्दा सबै उमेर समूहका मान्छेलाई यसबारे जानकारी गराउन सकियोस् ।

आत्महत्यासम्बन्धी केही तथ्यहरू:

१. हरेक वर्ष दश लाख मानिसहरूले आत्यहत्या गरी ज्यान गुमाउने गर्छन् ।
२. संसारमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्छन् र हरेक ३ सेकेण्डमा आत्महत्याको प्रयास गर्छन् ।
३. १५ देखि ३५ वर्षको उमेर समूहमा आत्महत्या ज्यान गुमाउनेमा दोस्रो कारण मानिन्छ ।
४. कुनै मान्छेले आत्महत्या गरेमा त्यसको गम्भीर नकारात्मक असर ६ जना स्वस्थ मान्छेलाई पर्छ ।
५. एउटा मान्छेको आत्महत्याको कारणले गर्दा समुदायमा सामाजिक, आर्थिक तथा मानसिक रूपमा गहिरो असर परिरहेको हुन्छ ।

आत्महत्या एउटै कारणले हुन्छ भन्ने हुँदैन, यसमा विभिन्न कारणहरू जोडिएका हुन्छन् । यसमा विभिन्न तत्त्वहरू मिसिएका हुन्छन्, जसमा वंशाणुगत, सामाजिक, मानसिक, सांस्कृतिक तथा वातावरणीय हुन्छन् । कुनै पनि मानिसले आत्महत्या गरेको खण्डमा किन गर्‍यो भनेर भन्न सजिलो छैन, किनभने सबैको अवस्था फरक भइरहेको हुन्छ र त्यस्तै अवस्थामा अर्को व्यक्तिले नगर्न पनि सक्छ । तर, कारण जेसुकै भए पनि आत्महत्याको कोसिस गरेमा यसलाई रोकथाम गर्न भने सकिन्छ ।

धेरैजसो आत्महत्या गरेका मानिसहरूमा राम्रोसँग निको हुने मानसिक रोग लागेको हुन्छ । तर, मानसिक रोग लागेको समयमै उपचार नगर्ने कारण नै प्रमुख हुन्छ । अविकसित देशमा मात्रै होइन, विकसित देशहरूमा पनि मानसिक रोगको उपचार नगरीकन नै बसेका हुन्छन् ।

विभिन्न मानसिक रोगमा आत्महत्याको सम्भावना भएको रोगहरूमा प्रमुख रूपमा डिप्रेसन (अवसाद) नै हो । त्यसपछि ‘पर्सनालिटी डिसअर्डर’, लागु पदार्थ तथा रक्सीको अत्यधिक सेवन, स्किजोफ्रेनिया आदि पर्छन् ।

डिप्रेसन भएका व्यक्तिहरूमा प्रायजसो मन उदास हुने, आफ्नो र आफ्नो भविष्य अन्धकार देख्ने हुन्छ । कुनै रमाइला कुुराहरूमा ध्यान जाँदैन र आत्महत्याको प्रयास पनि गर्छन् । तर, प्रायजसो डिप्रेसनको विभिन्न किसिमको सफल उपचार हुँदाहुँदै पनि रोग पहिचान हुँदैन । किनभने:
१. प्रायजसो मानिसलाई डिप्रेसन भएको बेलामा आफूलाई यो मानसिक रोग होइन र यसको इलाज चाहिँदैन भन्ने भ्रम छ ।
२. प्रायजसो यसको उपचार गर्न मानसिक रोग विशेषज्ञकहाँ जान डराउँछन् वा हिच्किचाउँछन् अनि अरू थेरापिष्टकहाँ गएर उपचार गर्दा गलत पहिचान हुन्छ ।

कहिलेकाहीँ डिप्रेसनको छुट्टै किसिमको लक्षण हुन्छ, जस्तो कि: जीउ भारी हुने, जीउ दुख्ने, छाती दुख्ने, जसले गर्दा डिप्रेसन पहिचान हुन गाह्रो भइदिन्छ अनि डिप्रेसन गहिरो भएर बस्न थाल्छ । निको नहुने रोग लाग्यो भनेर मान्छे आत्महत्या गर्न विवश हुन्छन् ।

प्रायः आत्महत्या गरेका मानिसहरूमा एक तिहाई मानिसहरू जाँड र रक्सीको कुलतमा फँसेका हुन्छन् । जाँड र रक्सीको कुलतमा फँसेका मानिसहरूमा ०५* देखि १० प्रतिशतले आत्महत्या गरी आफ्नो इह लीला समाप्त पार्छन् भने ५० प्रतिशतले आत्महत्याको प्रयास गर्छन् ।

कुनैकुनै गम्भीर प्रकारका शारीरिक रोग लागेका मानिसहरूको अध्ययनमा आत्महत्याको प्रबल सम्भावना रहेको हुन्छ । जस्तै: छारे रोग, क्यान्सर रोग (अर्बुद रोग), एचआईभी एड्स, मस्तिष्कघात आदि रोगहरू दीर्घ रोगको रूपमा लिइने हुँदा र यी रोग ठीक नहुने रोग भन्ने जनमानसको बुझाइले गर्दा पनि आत्महत्याको सम्भावना ज्यादै रहेको पाइन्छ ।

दीर्घ रोग भन्नाले यी रोगहरू बुझिन्छ:

१. मधुमेह
२. मिर्गौलासम्बन्धी रोग
३. कलेजो तथा पेटसम्बन्धी रोग
४. हड्डीको लामो समयको दुखाइ
५. मुटुसम्बन्धी रोग
६. यौनसम्बन्धी समस्याहरू ।

प्रायः पुरुषहरूमा आत्महत्या बढी देखिएको छ जबकि महिलामा आत्महत्याको प्रयास बढी देखिएको छ ।

  • उमेर समूहमा १५ देखि ३५ वर्षमा तथा ७५ भन्दा माथि उमेरकाले बढी आत्महत्या गर्ने देखिएको छ ।
  • पारपाचुके गरेका, विधवा, एकल बसेका मानिसहरूमा आत्महत्याको सम्भावना बढी देखिएको छ ।
  • व्यवसायहरूमा अत्यधिक तनावमा काम गर्ने मानिहरूमा जस्तै: डाक्टर, भेटेरेनरी, रसायनशास्त्री, फार्मासिष्ट र किसानहरूमा आत्महत्याको जोखिम ज्यादा देखिएको छ ।   
  • जागिर खोसिएका, अवकासप्राप्तहरूमा आत्महत्याको सम्भावना धेरै देखिएको छ ।
  • गाउँबाट शहरमा बसोवास सरेका तथा एउटा देशबाट अर्को देशमा बसाइँ सरेकाहरूमा पनि आत्महत्याको जोखिम बढी रहेको छ ।

धेरैजसो अध्ययनहरूले के देखाउँछन् भने आत्महत्या गर्नुपूर्व ३ महिनासम्म मानिस अत्यधिक तनावमा बसेको पाइएको छ । यी तनावहरू यस्ता छन् । 

१. श्रीमान्*श्रीमतीबीच झगडा
२. आफन्त, साथीभाई, प्रेमी, प्रेमिकाबीच झगडा
३. परिवार तथा साथीभाइसँग अलग भएको
४. आर्थिक नोक्सानी (व्यापार घाटा, अत्यधिक ऋण)
५. आफन्तको मृत्यु
६. नोकरीबाट निकालिएको, नोकरीबाट अवकास प्राप्त भएको
७.  आफूले गरेको गल्तीमा धेरै पश्चात्ताप गर्ने ।

नेपाल जस्तो देशमा सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने आत्महत्या गर्ने माध्यमहरू सजिलै पाइन्छन् । जस्तै: किटनाशक औषधि, डोरी, निद्रा लगाउने औषधिहरू, जुन बजारमा सजिलै पाइन्छ । किटनाशक औषधिमा कडाइका साथ प्रतिबन्ध लगाउने हो भने आत्महत्याको रोकथाममा धेरै सजिलो हुन्छ ।  

कसरी चिन्ने आत्महत्या गर्न लागेका व्यक्तिलाई ?

१. घुस, घुस्याहा प्रवृत्तिको मानिस, जसले धेरै साथीहरू बनाउन सक्दैन ।
२. विभिन्न किसिमको मानसिक रोग लागेका मानिसहरू ।
३. जाँड र रक्सीको कुलत लागेका व्यक्तिहरू ।
४. व्यक्तित्व विकासमा कमी भएका मानिसहरू, जो आफ्ना गल्तीहरूबाट पाठ नसिक्ने, चाँडै झर्किने र रिसाउने, अरूलाई माया देखाउन नसक्नेहरू ।
५. पहिले आत्महत्याको प्रयास गरिसकेकाहरू ।
६. भर्खरै आफन्तको मृत्यु, पारपाचुके भएका र छुट्टिएर बसेकाहरू ।
७. परिवारमा कसैले आत्महत्या गरेको भएमा त्यस्ताहरू ।
८. कसैले अकस्मात् आफ्नो मरणपछिको इच्छापत्र लेख्ने मनसाय व्यक्त गरेमा ।
९. कसैले आत्महत्या गर्छु भनेर व्यक्त गर्ने पत्र लेखेर राखेमा ।
१०. कसैमा लामो वा दीर्घ रोग लागेमा ।

आत्महत्यासम्बन्धी भ्रम र यथार्थ:

१. भ्रम: जसले आत्महत्याको कुरा गर्छ, उसले आत्महत्या  गर्दैन ।
यथार्थ: आत्महत्या गर्ने मानिसले केही न केही संकेत दिएको हुन्छ, जसले गर्दा उसले आत्महत्या गर्नसक्ने हुन्छ ।
२. भ्रम: आत्महत्या गर्ने मानिसले मर्न खोजेको हो ।
यथार्थ: धेरैजसो मानिसमा आत्महत्या गर्ने कि नगर्ने भनेर दोधार भएको हुन्छ ।
३. भ्रम: आत्महत्या गर्नेलाई बचाउन सकिँदैन ।
यथार्थ: तर धेरैजसोलाई बचाउन सकिने सम्भावना जहिले पनि हुन्छ ।
४. भ्रम: आत्महत्याको बारेमा सोध्नुहुँदैन । सोधीखोजी गर्दा आत्महत्या गर्न प्रेरित गर्नसक्छ ।
यथार्थ: आत्महत्या गर्नेबारेमा सोधीखोजी गर्दा आत्महत्या गर्न प्रेरित गर्दैन ।

रोकथामका उपायहरू:

आत्महत्या कम गर्नका लागि समुदायमा आधारित मनोशिक्षासम्बन्धी कार्यक्रम समाजका विभिन्न समुदायमा दिनु आवश्यक छ । व्यक्तिको मनोवैज्ञानिक पक्षलाई ख्याल गरेर घर परिवार र साथीहरूबाट प्रोत्साहन, हौसला एवं मनोवैज्ञानिक, मनोचिकित्सक, मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताको उचित मनोविमर्श, मनोचिकित्सा एवं उपचारबाट आत्महत्याको बढ्दो क्रमलाई रोकथाम गर्न सकिन्छ ।

संचार माध्यमहरूले आत्महत्या रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । आत्महत्या रोकथामका लागि तनाव, असुरक्षा, असमानता, घरेलु हिंसा, सांस्कृतिक विचलन कम गर्न मनोवैज्ञानिक मनोविर्मश एवं जीवन उपयोगी सीपहरू र तालिम दिएर व्यक्तिलाई आत्मनिर्भर बनाउन सके आत्महत्यालाई रोकथाम गर्न सकिन्छ।

मानसिक रोगीहरूका लागि विशेष मानसिक स्वास्थ्य नीति बनाउन र त्यसको कार्यान्वयन गरी मानसिक स्वास्थ्य केन्द्र र मनोविमर्शकर्ताको व्यवस्था गरी आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ।

 


लेखक मनोरोग चिकित्सक संघकका अध्यक्ष तथा काठमाडाैँ मेडिकल कलेजको मनोरोग विभागका प्रमुख हुनुहुन्छ ।