फर्निचर तथा फर्निसिङ एक्स्पो, फर्नेक्स २०१९ : १२० बढी प्रदर्शकले सहभागिता जनाउने

फर्निचर तथा फर्निसिङ एक्स्पो, फर्नेक्स २०१९ :  १२० बढी प्रदर्शकले सहभागिता जनाउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २३, २०७६

काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९)को सबै तयारी पूरा भएको छ । फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोको सबै तयारी पूरा भएको जनाएको छ । संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार यही बुधबार उपराष्ट्रपति नन्दबहादुर पु्नले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

‘उपराष्ट्रपतिज्यूले बुधबार दिउँसो १ बजे एक्स्पोको उद्घाटन गर्ने निश्चित भएको छ । सोहीअनुसार हामीले एक्स्पोको सबै तयारी पूरा गरेका छौँ । विगत वर्षहरूमा जस्तै यस पटक पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता हुने हाम्रो अपेक्षा छ’, बस्नेतले भन्नुभयो ।

सातौँ संस्करणको फर्नेक्स, २०१९ राजधानीको भृकुटीमण्डपमा भदौ २५ गते बुधबारदेखि २९ गतेसम्म आयोजना हुँदै छ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले पनि एक्स्पोको सबै तयारी पूरा भएको बताउनुभयो । ‘विगत वर्षको तुलनामा अझै परिस्कृत रूपमा एक्स्पोको तयारी गरिएको छ । १२० बढी प्रदर्शकले एक्स्पोमा सहभागिता जनाउँदै छन्’, प्रधानले भन्नुभयो ।

फर्नेक्स, २०१९ को शीर्ष प्रायोजन जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डष्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्सा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ ।

त्यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एसोसिएसनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ ।

किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्नेछन् ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रूपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।