आतंकवादीले ध्वस्त बनाएको गान्धीको वाल पेन्टिङ अफगानिस्तानमा पुनर्स्थापना गरिंँदै

आतंकवादीले ध्वस्त बनाएको गान्धीको वाल पेन्टिङ अफगानिस्तानमा पुनर्स्थापना गरिंँदै

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २४, २०७६

काठमाडौं, एजेन्सी । सन् २०१७ को मे महिनामा आतंकवादीले बम हमला गर्दै ध्वस्त बनाएको भारतका अहिंसावादी नेता महात्मा गान्धीको वाल पेटिंग एक पटक फेरि काबुलस्थित भारतीय दुतावासको पर्खालमा पुनः देख्न पाइने भएको छ ।

गान्धीको पेटिंग नष्ट गरिएको उक्त हमलामा १४० जना मारिएका थिए । अफगानिस्तानका कलाकारको समूह आर्टलर्डसले गान्धीको १५० औं जन्म जयन्ती अघि यसलाई तयार पारेका हुन् । 

उक्त पेटिंगमा गान्धीको सन्देश अंग्रेजी तथा फारसीमा लेखिएको छ । यसमा लेखिएको छ– जुन दिन प्रेमको शक्ति सत्ता मोहमाथि हावी हुन्छ त्यस दिन संसारलाई शांतिको अर्थ राम्रोसँग थाहा हुनेछ । कलाकारको भनाई छ, गान्धीलाई श्रद्धांजलि दिने यो उपयुक्त तरिका हो । ३२५ वर्गफिट पेटिंग ७ जना कलाकारले बनाएका हुन् । 

आर्टलर्डसका प्रमुख ओमैद फरीदीका अनुसार अफगानी जनता गान्धीको शांतिपूर्ण तथा अहिंस्रक तरिकाको तरिफ गर्छन् । अफगानिस्तानमा उनको पहिचान सँधै शान्तीका लागि उभिने व्यक्तिका रुपमा रहेको छ ।

यो पहिचानलाई कायम राख्नु जरुरी छ । आर्टलर्डस अफगानिस्तानको शिक्षा प्रणालीमा कला–संस्कृतिलाई जोड्ने पक्षधरको रुपमा रहेको छ । यसकारण संस्थाले संसारभरका महिला कलाकारलाई आउन तथा संस्थासँग जोडिनका लागि प्रोत्साहित गर्ने गर्छन ।