सुन्दर यातायातको विद्युतीय बस सेवा सुरु, साझाले वैशाखबाट सुरु गर्ने

सुन्दर यातायातको विद्युतीय बस सेवा सुरु, साझाले वैशाखबाट सुरु गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २४, २०७६

 काठमाडाैँ । काठमाडाैँमा  पहिलो पटक विद्युतीय बससेवा  २०७६ भाद्र २३ गते  सोमबार देखि सञ्चालनमा  ल्याइएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले  सुन्दर यातायात प्रालिले भित्र्याएकँ दुई विद्युतीय बसको  विधवत रुपमा उद्घाटन गर्नुभए पछि विद्युतीय बससेवा सञ्चालनमा   आएको हो । 

 एक करोड ६२ लाख मूल्यमा  नेपाल भित्राएका बसमा ६० सिट रहेका छन् ।   कम्पनीका अनुसार  उक्त बस  चक्रपथमा  सञ्चालनका लागि अनुमति पाएको छ । बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को  स्थापना गरि सञ्चालनमा ल्याइएकाे हाे  ।

 विद्युतीय बसका लागि छुट्टै भाडादर नतोकिएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै भाडादर लागू हुने  कम्पनीले जनाएकाे छ । विद्युतीय कार्डको प्रयोगमा भने २० प्रतिशत छुट हुनेछ ।

उपप्रधानमन्त्री पोखरेलले बसमा बसेर प्रदर्शर्नीमार्गस्थित नेपाल पुलिस क्लबदेखि शहिदेगेट, सुन्धारा रत्नपार्कसम्मको यात्रासमेत गर्नुभएको थियो । यात्रापछि उहाँले बस आरामदायी रहेका र नेपालका लागि उपयुक्त रहेका बताउनुभयो । पोखरेलले भन्नुभयो, 'वातावरणीय र आर्थिक दुबै हिसाबले बस उपयुक्त छन् ।'सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले झण्डै नौ महीनासम्मको निरन्तर सङ्घर्षपछि बस सञ्चालनमा ल्याउन सम्भव भएकाे अनुभव सुनाउनु यो ।

 विद्युतीय बससम्बन्धी छुट्टै नीति नहुनु समस्याका रुपमा रहेको उहाँले औँल्याउनुभयो । थापाले भन्नुभयो, 'हामीले नीति चाँडो बनाउनुपर्‍यो भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई भनिरहेका छौँ ।'

उक्त अबसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने मन्त्रालयको कार्ययोजनामा रहेको जानाकारी दिनुभयाे । 

 नेपालमा विद्युत्को उत्पादन बढिरहेकाले सरकारले आन्तरिक रुपमा नै विद्युतको खपत बढाउँदै जाने लक्ष्य लिएको छ । अरु उद्यमीले पनि विद्युतीय सवारी साधन भित्र्याए सरकारको उक्त योजनामा सहयोग पुर्‍याउनुपर्नेमा उहाँको जोड छ ।

सेवा विस्तार गरिँदै विद्युतीय बस विस्तार गर्दै जाने सुन्दर यातायातले  जानकारी  दिएको छ । कम्पनीले अहिले दुई बसबाट सेवा शुरुवात गरेकामा थप ११ बस भित्र्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । कम्यपनीले यही वर्षभित्रमा ५० बस भित्र्याउने लक्ष्य राखेकाे छ ।

एक्कासि शेयर सदस्य रहेको प्रालिले काठमाडौँ उपत्यकासँगै प्रदेश नं– १ र ५ मा पनि बस विस्तार गर्ने योजना रहेकाे बताएको छ ।  यसरी विद्युतीय बससेवा सञ्चालनमा आएसँगै  साझा यातायातले पनि तीनै तहका सरकारसँगकाे सहकार्यमा साझा याताायतले विद्युतीय बस खरीदको तयारी  थालेकाे छ ।

कम्तीमा तीन सय बस खरीदका लागि दुई महीना पहिले नै नेपाल सरकारले  तीन अर्ब र प्रदेश नं– ३ ले  ३० करोडका साझाको शेयर खरीद गरिसकेको छ । 

 काठमाडौँ महानगरपालिकाले  १० करोड बराबरको साझाको शेयर खरीद गरेका थिए । सो रकमबाट बस खरीद गर्दा कस्ता बस, कति क्षमताका किन्नेलगायत विविध प्राविधिक विषयमा अध्ययन भइरहेको साझाले जनाएको छ । आगामी वैशाखसम्ममा थोरै सङ्ख्यामा भए पनि बस भित्र्याउने तयारी रहेको प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।