बीपीको युरोप यात्रा : केही सम्झना

बीपीको युरोप यात्रा : केही सम्झना

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  भदौ २४, २०७६

१ सेप्टेम्बर (१७ भाद्र)

इडिन्बर्ग : शहरको अध्ययन गर्ने उद्देश्यले बाहिर निस्किएँ । साँझ थकित भएर फर्र्किएँ । यस घुमाइले मलाई शहर पनि देखायो र एक्लोपनलाई बिर्सन सहयोग पनि गर्‍यो । मैले घुमेका स्थानहरूमा काइटन हल, जहाँबाट शहरको सुन्दर दृश्य र समुद्र किनार देखिन्छ, सर्वोच्च पहाडको टुप्पोमा रहेको विशाल महल, होलिउड दरबार (जुन स्कटलेण्डकी महारानी फेरीको दरबार थियो र जहाँ उनको र लर्ड डासलीको घर पनि थियो), जोन नोको घर आदि थिए ।

स्कोटलेण्डवासीहरू राष्ट्रवादी छन्– पूर्ण वा आंशिक रूपमा । इडिन्बर्गभित्र इतिहास वा साहित्यका हस्तीहरूप्रति समर्पित धेरै स्थानहरू छन् । साहित्यमा उनीहरूका नायक भनेकै सर वाल्टर स्कोट हुन्, जसको स्मारक शहरको बीचमा बनाइएको छ र यो वास्तुकलाको एक उत्कृष्ट नमुना पनि हो । कवि रोबर्ट बर्नको स्मारक भने त्यति आकर्षक छैन । उनी अलिक अपहेलित कवि जस्ता लेखिन्छन् । स्कोटहरू स्काटलेण्डकी महारानी मेरी तथा बोनी चाल्र्सलाई असाध्यै माया गर्दारहेछन् ।

महलभित्र अवस्थित युद्ध स्मारक पनि महङ्खवपूर्ण मानिँदोरहेछ ।

४ सेप्टेम्बर (२० भाद्र)

विदेश विभागको कार्यलयमा लर्ड रिडिङसँग भेट भयो । उनले भने– बेलायतसँग आर्थिक सहयोग मागिएको खण्डमा उनी नेपाललाई सहयोग गर्न तयार छन् । त्यस दिन यु तिन मौङ ग्यीमा खाना खायौँ ।

अन्तर्राष्ट्रिय सदनमा भारतीय समाजवादीहरूको एक समूहलाई उद्बोधन गरियो र उनीहरूसँगै रातीको खाना खाइयो । लण्डनको मेरो बसाइ निकै व्यस्त रह्यो ।

५ सेप्टेम्बर (२१ भाद्र)

म लण्डनबाट स्टोकहोमतर्फ उडेँ । विमान समाउने हतार भएको बेला मलाई एउटा ट्याक्सी ड्राइभरले झुक्यायो । लाग्यो, विदेशीका लागि लण्डन पनि सुरक्षितचाहिँ रहेनछ ।
स्टोकहोम पुगेपछि बडो मुस्किलले बास बस्नका लागि एउटा होटल फेला पारेँ । अन्ततः मैले एउटा कोठा पाएँ ।

६ सेप्टेम्बर (२२ भाद्र)

स्टोकहोम : मैले त्यहाँ ‘एन’ लाई भेटेँ । उनको साथमा निकै सौहाद्र्रपूर्ण कुराकानी भए ।

८ सेप्टेम्बर (२४ भाद्र)

जनरल सुरेन्द्र र उनकी श्रीमतीलाई बिदा गर्न विमानस्थल गएँ । यहाँका समाजवादी साथीहरूले त्यति सहयोग गरेनन् । उनीहरू ज्यादै बेपरवाह र सन्तुष्ट खालका रहेछन् । मैले स्विडेन आएर समय र पैसा खर्च गरेर निकै ठूलो गल्ती गरेछु । विगत २५ वर्षदेखि समाजवादी पार्टी यहाँको सत्तामा थियो । र, आज हामीले देख्ने गरेको आमजनताको सुखद जिन्दगी यसै पार्टीका कारणले भएको हो ।

९ सेप्टेम्बर (२५ भाद्र)

स्टकहोम : म अन्तर्राष्ट्रिय सचिव मार्केससँग बाहिर गएँ । स्विडेनको कुल जनसङ्ख्या ७० लाख रहेछ । तर, यहाँका ऊर्जावान् जनताले स्टकहोमलाई एक सुन्दर शहर बनाएका रहेछन् र देशलाई झनै आकर्षक । यहाँ ऊर्जाको मूल स्रोत भनेको जलविद्युत रहेछ ।

११ सेप्टेम्बर (२७ भाद्र)

म बोनमा थिएँ । सोसलिस्ट डेमोक्रेटिक पार्टी (एसडीपी)को कार्यालय गएँ । त्यसपछि बर्मेली दूतावासमा इयागे र तीन पे तथा भारतीय दूतावासमा श्री मजुमदारलाई भेटेँ । मलाई जर्मनी अत्यन्त हार्दिक र न्यानो देश लाग्यो । मलाई यो न्यानो किन पनि लाग्यो भने म यहाँ स्विडेनबाट आएको थिएँ र स्विडेन युरोपभरिकै सबैभन्दा चिसो मुलुक हो । तर, यहाँका जनता निकै रमाइला छन् । पार्टी पनि जीवन्त छ । यहाँका चर्चाहरू निकै सुरुचिपूर्ण भएको पाएँ ।

१२ सेप्टेम्बर (२८ भाद्र)

मैले केही समय एसपीडीको कार्यालयमा बिताएँ । त्यसपछि म पार्टीले संचालन गरेको एउटा स्कुल हेर्न गएँ । एसडीपी आफ्नै कार्यालय पनि अत्यन्त व्यवस्थित तरिकाले संचालित थियो । लेबर पार्टीको यातायात कार्यालयभन्दा यो के मानेमा विशिष्ट थियो भने समाजवादी उद्देश्यका लागि एसडीपी बढी जुझारु, बढी क्रान्तिकारी तथा बढी प्रतिबद्ध देखिन्थ्यो ।

१४ सेप्टेम्बर (३० भाद्र)

म हेनोभर पुगेँ । त्यहाँको नगर निगमले सिटी हलमा आयोजना गरेको एउटा स्वागत समारोहमा सरिक भएँ ।

१५ सेप्टेम्बर (३१ भाद्र)

म हेनोभरबाट बर्लिन पुगेँ ।

१६ सेप्टेम्बर (१ असोज)

म औद्योगिक प्रदर्शनी हेर्न गएँ । त्यो निकै विशाल प्रदर्शनी थियो ।

२८ सेप्टेम्बर (१३ असोज)

म बोनबाट पेरिस पुगेँ । बाटोमा देखिएको फ्रान्सेली प्रान्त समथर र कृषि क्षेत्र रहेछ । हामीले यात्रा गरिरहेको त्यस क्षेत्रमा पहाड कतै पनि देखिएन ।
फ्रान्सभन्दा बेल्जियमको औद्योगिक विकास अझ बढी लाग्यो । त्यहाँ स्विडेनमा जस्तै गाउँ र शहरबीचको भिन्नता खासै धेरै लागेन ।

म त्यस दिन अपराह्न पेरिसमा थिएँ । आगन्तुकहरूका लागि पेरिसले तुरुन्तै कुनै सम्मोहन फ्याँकिदिन्छ । यसले झ्याप्पै आकर्षण गरिदिन्छ । लण्डनमा भने त्यस्तो हुँदैन । लण्डनलाई बुझ्न समय लाग्छ र बुझेपछि विस्तारै आकर्षण बढ्छ । किनकि उसको सम्मोहन चरणबद्ध रूपमा बढ्दै जाने खालको छ । पेरिसले जस्तो अर्को कुनै पनि शहरले मलाई तत्काल आकर्षण गर्नसकेन । कोही पनि पेरिससँग पहिलो भेटमै आकर्षित हुन सक्छ ।

२० सेप्टेम्बर (५ असोज)

म एउटा बसमा चढेर घुमघामका लागि निस्किएँ । रातको समयमा पेरिस निकै झलमल देखिन्थ्यो तर म थाकेको हुँदा धेरै रमाउन सकिनँ । मैले बेब्बरलाई भेटेँ । उनी र उनकी श्रीमतीसँग उनीहरूकै दूतावासमा खाना खाएँ । उनले मलाई युगोस्लाभिया भ्रमणको निम्तो दिए ।

२३ सेप्टेबर (८ असोज)

मैले जुरिचको भ्रमण गरेँ । ताल र नदीले सजिएको यो एउटा सुन्दर शहर रहेछ ।

२९ सेप्टेम्बर (१४ असोज)

म भियानामा थिएँ । त्यहाँ उपप्रधानमन्त्री ओलाफ स्कोल्ज र समाजवादी पार्टीका महासचिव प्रोबोस्ट तथा पार्टीका सिद्धान्तकार चेर्नर्सलगायतका समाजवादी नेतालाई भेटेँ ।

२ अक्टुबर (१७ असोज)

म युगोस्लाभियाको भिल्लोच पुगेँ ।

४ अक्टुबर (१९ असोज)

युगास्लाभ ट्रेड युनियनका अध्यक्षसँग भेट भयो । मैले कम्युनिस्ट पार्टीका एक सिद्धान्तकार बोरिस जिह्रल (सीपीभित्रको जीजीका सदस्य तथा समाजवादी मोर्चाका सदस्य)लाई पनि भेटेँ । यसले मलाई जिलास कसरी पार्टीको नीतिबाट भट्किरहेका थिए र आनै अराजक प्रकृतिको नीति अवलम्बन गरिरहेका थिए भन्ने बुझ्न सहयोग गर्‍यो । जिलासको आरोप थियो– पार्टीले कुनै पनि उपयोगी कार्यसम्पादन गर्न सकिरहेको छैन ।

पार्टीको पाँचौँ काङ्ग्रेसका बेला जीपी तथा प्रशासनभित्र निजामती सेवाको सबलीकरणको घोर आलोचना भइरहेको थियो । त्यसैले स्थानीय एकाईलाई थप अवसर तथा कार्यक्रम दिने नयाँ नीति बनाइएको थियो । निजामती क्षेत्रको यो नयाँ एकता र सबलीकरणको नीतिलाई जिलासले आफैँ अन्तिम बिन्दुसम्म पुर्‍याउनु थियो । उनले जीपीभित्र विद्यमान कुनै पनि सङ्गठित चेतनाको उपयोगलाई अस्वीकार गरेका थिए । यसमाथि जिलास ज्यादै व्यक्तिवादी पनि थिए । उनले विदेशी संचार माध्यम तथा हुलाकपत्रका माध्यमबाट युगोस्लाभियाको व्यवस्थाका विरुद्ध आन्दोलन पनि सुरु गरे ।

रुसमा हालसालै देखिएको प्रवृत्तिका सम्बन्धमा उनको विचार थियो– यो प्रवृत्तिले अझै कुनै ठोस आकार लिएको थिएन र ओटालिनवाद र नयाँ प्रवृत्तिबीच अझै पनि संघर्ष जारी थियो । पोजनानमा घटेका जस्ता घटनाले ओटालिवादीहरूकै हात बलियो बनाएको थिए । उनको हालैको तिस्सोआ र टापुको भ्रमण रुस र युगोस्लाभियाका बीचको गतिरोध हटाउने प्रयास थियो । रुस भने विविध सामाजिक, आर्थिक र राजनीतिक पृष्ठभूमिमा विभिन्न देशमा समाजवादी प्रयोगवादको सम्भावनाको सिद्धान्तलाई स्वीकार गर्ने मनस्थितिमा थियो । तर, जिलास ठान्थे– रुसद्वारा गरिएको पूर्वी युरोपका देशहरूको शोषण राजनीतिक र आर्थिक दुवै प्रकृतिको थियो ।

मैले मारिया वाइफानसँग पनि भेटघाट गरेँ । उनी मेहताको पछाडिएका अर्थतन्त्रको बाध्यताको सिद्धान्तसँग समहत थिइन् । उनको मतअनुसार अल्पविकसित अर्थतन्त्रहरूमा पश्चिमा शैलीको संसदवाद लाद्नु गलत हुनेछ ।

उनी एक व्यापक र सटिक आर्थिक आन्दोलनको पक्षमा थिइन्, जसले समाजवादी, कम्युनिस्ट पार्टी र प्रगतिशीलहरूलाई गोलबद्ध गरोस् । उनी भन्थिन्– ‘इटाली र फ्रान्स जस्ता पूर्वी युरोपका देशमा भएको जनआन्दोलनको प्रतिनिधित्व गर्नसक्ने कम्युनिस्ट पार्टीसँग सहकार्य तथा परामर्श गुर्न उपयुक्त हुनेछ ।’ उनी ठान्थिन्– कम्युनिस्ट पार्टीले बेलायत अथवा स्केन्डेनियाली देशमा भएका जनआन्दोलनहरूको प्रतिनिधित्व गर्दैन । त्यसैले युगोस्लाभियाको उनीहरूसँग कुनै पनि सरोकार छैन । उनी निकै फरासिलो कुराकानी गर्ने मान्छे रहिछन् ।

१५ अक्टुबर (२८ असोज)

पहाडको बाटो कारमा सवार भएर म जाग्रेब पुगेँ । जाग्रेब युगोस्लाभियाको दोस्रो ठूलो शहर हो । म यहाँ क्रान्तिको सङ्ग्रहालयमा पनि गएँ । हामीले नेपालको मुक्ति आन्दोलनको सम्झनामा पनि यस्तै सङ्ग्रहालय बनाउन सक्थ्यौँ । मैले केही मान्छेलाई एउटा क्लबमा भेटेँ । तीमध्ये एउटाले मलाई आधुनिक साहित्यको प्रवृत्तिबारे बतायो । युद्ध र क्रान्तिका बेला साहित्य क्रान्तिको आवश्यकतामा केन्द्रित थियो र सामाजिक चित्रण मात्रै प्रस्तुत गरिरह्यो, जसले काला र गोराका विभाजन रेखाहरू स्पष्टै चित्रित गर्‍यो । रुससँग अलग भएपछि स्वतन्त्रताको नयाँ र स्वस्थ प्रवृत्ति पनि विकास भएको कुरा उसले मलाई सुनायो ।

१३ अक्टुबर (२८ असोज)

एयर फ्रान्सको विमानबाट भारततर्फ प्रस्थान ।

(महेश पौड्यालले अनुवाद/सम्पादन गर्नुभएको शिखा बुक्सबाट हालै प्रकाशित ‘बीपी कोइरालाको डायरी’ पुस्तकबाट । बीपीले उक्त डायरी वि.सं. २००८-०१३ बीचमा लेख्नुभएको हो ।)