समाज, परिवारबाट सहयोग नपाए मान्छेले आत्महत्या गर्छ : समाजशास्त्री प्रा.डा. उप्रेती

समाज, परिवारबाट सहयोग नपाए मान्छेले आत्महत्या गर्छ : समाजशास्त्री प्रा.डा. उप्रेती

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  भदौ २४, २०७६

नेपाली समाजमा पछिल्लो समय आत्महत्या भयानक बन्दै गएको अवस्था छ । हरेक क्षणजसो मान्छेले आत्महत्या गरिरहेको तथ्यांकले देखाएका छन् । वास्तवमा आत्महत्याको समाजशास्त्रीय पक्ष के हो ? यस विषयमा त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख समाजशास्त्री प्रा.डा. लयप्रसाद उप्रेतीसँग लोकसंवाद डटकमले गरेको कुराकानी प्रस्तुत छ ।

मानिसले आत्महत्या किन गर्छ ?

मानिसले आत्महत्या गर्ने विभिन्न कारणहरू हुनसक्छन् । तर, मेरो आफ्नो समाजशास्त्रीय र मानवशास्त्रीय बुझाइमा जब मानिसले ऊ बसेको समाजमा या परिवारमा उसले अपेक्षा वा आशा गरेको कुरा पाउनसकेन, त्यो परिवारमा उसले माया मामता प्राप्त गर्नसकेन, सम्मान प्राप्त गर्नसकेन, उसलाई परेको समस्यामा उसले सहानुभूति प्राप्त गर्नसकेन, ऊ जुन घरमा, जुन समाजमा, जुन समुदायमा बस्छ, ती मान्छे, ती परिवारका सदस्यले सहानुभूतिपूर्वक उसलाई सहयोग गरेनन् भने उसले म यो समाजमा बाँच्नुको के अर्थ छ ? भन्ने आफूले आफैँलाई प्रश्न गर्छ ।

उसलाई कसैबाट नैतिक, आर्थिक सहयोग छैन, कसैले माया, सद्भाव केही पनि गर्दैन र उसले कहीँ पनि सहयोग पाउँदैन भने त्यसपछि त्यो मान्छे डिप्रेसनमा जानसक्छ । त्यसलाई ‘ल्याक अफ इन्टिग्रेसन’ भनिन्छ । इन्टिग्रेसनमा अघि मैले भने ४–५ वटा कुराहरू हुन्छन् । त्यसमा ऊ मर्न चाहँदैन । अर्को इन्टिग्रेसनका यी जम्मै ४–५ वटा कुराहरू नभएपछि मान्छे डिप्रेसनमा गएर उसले आत्महत्या गर्ने हुन्छ ।

स्पेनमा क्याथोलिक धर्म मान्ने मान्छेहरू छन् । त्यहाँका एक जना समाजशास्त्रीले त्यहाँ आत्महत्या कम भएको पाए । किनभने क्याथोलिक धर्ममा एकले अर्कालाई सहयोग गर्ने चलन छ । त्यहाँ सरसहयोगका कुराहरू हुने भएको हुनाले त्यहाँचाहिँ आत्महत्या कम छ । तर, त्यो प्रोटेस्टेन्ट धर्म मान्ने मान्छेहरू बढी व्यक्तिवादी प्रवृत्ति भएका कारण त्यस्ता मुलुकमा चाहिँ बढी आत्महत्याका घटनाहरू भएको उनले पत्ता लगाए ।

समाज जति मिलेको हुन्छ, समाजमा जति एकता हुन्छ, त्यति नै त्यहाँ आत्महत्याका घटनाहरू कम हुन्छन् । आत्महत्या मानव समाजको उत्पत्तिदेखि अहिलेसम्म हुँदै आएको छ । हिजोआज मिडियाहरूले गर्दा बढी थाहा पाउँछौँ । समाजशास्त्रीय र मानवशास्त्रीय हिसाबले म के भन्छु भने हिजो हाम्रो ग्रामीण समाजमा अत्यन्तै बढी एकता भएको हुनाले, पारिवारिक ऐक्यबद्धता भएको हुनाले, हातेमालो गरेर बसेको हाम्रो समाज भएकाले, हिजोको ग्रामीण समाजमा निश्चित रूपले आत्महत्या कम थियो ।

शहरी समाजमा भनेको अत्यन्तै बढी प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्रतिस्पर्धामा सबै मान्छे सफल हुन्छन् भन्ने पनि हुँदैन । सबै मान्छे सफल नभइसकेपछि असफलताको पुजरावृत्तिले उसको बाँच्ने आधार कोही पनि हुँदैन । गाउँमा व्यक्तिलाई केही पर्‍यो भने सघाउने मान्छे हुन्छन् तर शहरमा त्यस्तो सघाउने मान्छे नै हुँदैन ।

हिजोको निर्वाहमुखी अर्थतन्त्र भएको बेलाको हाम्रो गाउँको समाजमा जति हाम्रो ऐक्यबद्धता थियो, अहिले आधुनिक समाजमा रूपान्तरण हुँदै जाँदा त्यो विस्तारै हामी व्यक्तिवादी समाजमा बढी रूपान्तरण हुन्छौँ । पुँजीवाद भनेको यस्तो अर्थ व्यावस्था हो, जसमा व्यक्तिवाद सँगसँगै आउँछ । यहाँ अपेक्षाहरू पूरा गर्न सकिएन भने तपाईंमा प्रश्न उठ्छ कि म किन बाँच्ने ?

हामीसँग विगतको ट्रेण्ड कस्तो थियो र अहिलेको कस्तो छ ?

अहिले बढिरहेको ट्रेण्डको कुरा के छ भने, धेरैजसो आफू आत्मनिर्भर नभईकन विवाह गर्ने । आफू आर्थिक रूपले स्वतन्त्र भएको छैन कोही पनि मान्छे तर उसले विवाह गर्छ । अनि त्यसपछि समस्या हुन्छ, अनि यस्तो खालको प्रवृत्ति देख्न सकिन्छ ।

अर्को कुरा, शहरी समाजमा भनेको अत्यन्तै बढी प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्रतिस्पर्धामा सबै मान्छे सफल हुन्छन् भन्ने पनि हुँदैन । सबै मान्छे सफल नभइसकेपछि असफलताको पुजरावृत्तिले उसको बाँच्ने आधार कोही पनि हुँदैन । गाउँमा व्यक्तिलाई केही पर्‍यो भने सघाउने मान्छे हुन्छन् तर शहरमा त्यस्तो सघाउने मान्छे नै हुँदैन ।

हिजोको जुन हाम्रो एकतापूर्ण समाज थियो, त्यो अहिले व्यक्तिवादी समाजमा रूपान्तरण भएको हो । समाजले हिजो त्यो व्यक्तिलाई सहयोग गर्थ्यो, परिवारले गर्थ्यो । अहिले उसले आफ्नो खुट्टामा आफैँ उभिनुपर्ने हुन्छ । यी तमाम कुराहरू भइसकेपछि मान्छेमा निरासा बढेर जाने कुरा भयो ।

धेरैजसो के देख्न सकिन्छ भने धेरै पटक प्रतिस्पर्धामा फेल भएर जागिर नपाएको मान्छेले आत्महत्या गरेको छ, विवाह असफल भएपछि पनि आत्महत्या गरेका पाइन्छ ।

पारापाचुकेले हामीलाई त्यो निष्कर्षमा पुर्‍याउँछ कि पुर्‍याउँदैन ?

पारापाचुके पनि विभिन्न किसिमका हुन्छन् । पारापाचुकेका कारण केही मान्छे, जसले मेरो जिन्दगीमा अब केही पनि छैन, सकियो भन्ने एक किसिमका कमजोर हृदय भएका मान्छेले आत्महत्या गर्छन् । पारापाचुके हुनु भनेको एकदमै समान्य कुरा हो । सबै पारापाचुकेमा आत्महत्या पनि हुँदैन । तर, कुरा के हो भने तपाईंलाई जटिल परिस्थितिमा कुनै पनि आफ्नो परिवार, आफ्नो साथी सर्कल या समाजका, तपाईंका आफ्ना भनाउँदा मान्छेले अलिकति पनि सहयोग नगर्ने हो भने त्यो मान्छे बाँच्दैन ।