आवरण हेरेर भित्री सौन्दर्य अनुमान हुँदैन

आवरण हेरेर भित्री सौन्दर्य अनुमान हुँदैन

निर्जला कक्षपति  |  दृष्टिकोण  |  भदौ २४, २०७६

कोही मान्छे झट्ट हेर्दा राम्रा देखिँदैनन् । न नाक राम्रो, न आँखा, न त ओठ नै । अनुहारको कुनै पनि अंग मिलेको हुँदैन ।  तर पनि व्यवहार गरेपछि अर्थात् भनौँ उसले आफूप्रति गरेको व्यवहारलाई हेरेर नराम्रा मानिस पनि निकै राम्रा लाग्छन् । मनपर्ने अर्थात् प्रिय लाग्ने गर्छन् ।
‘ब्यूटी’ शब्द प्रायः महिलासँग जोडिने शब्द हो । जब हामी राम्रीको कुरा गर्छौं, यो पनि महिलासँग जोडिएर आउने विषयवस्तु हो ।

कसैको विहेबारीको कुरो चलाउनुपर्‍यो भने सबभन्दा पहिले रूपकै चर्चा गरिन्छ । राम्री, नराम्री कस्ती छे ? भनेर सबभन्दा पहिले सोध्ने गरिन्छ । पुँजीवादी समाजले महिलाको सौन्दर्यलाई बिक्रीको साधन बनाएको भनेर नारीवादीहरूले आवाज नउठाएको होइन, तर जति नै आवाज उठाए पनि महिलाको रूप र सौन्दर्यले विश्वभर आफ्नो व्यापार व्यवसाय बढाउन प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा टेवा पुर्‍याइरहेको छ ।

केही वर्ष पहिले टेलिभिजनमा काम गर्दा देख्दा राम्री लाग्ने एक जना महिला काम गर्न आइन् । झट्ट हेर्दा रूप पनि राम्री लाग्ने, एक, दुईचोटि कुरा गर्दा गफ पनि मीठो लाग्ने । राम्री महिलाको गफ सुन्न केटाहरू पनि झुम्मिन्थे । तर, दुई, तीनचोटि गफिएपछि उनको बानी व्यहोराका कारण ती केटी साह्रै नराम्री लाग्न थालिन् । म तीे महिला साथीसँग टाढा नै रहन चाहन्थेँ ।

मलाई देखेपछि ‘मेरो डुब्लिकेट हो तिमी, धेरैले यस्तै भन्छन्’ भन्थिन् । म साह्रै दिक्क हुन्थेँ । एक दिन अलिक नजिकको साथीलाई भनेँ– ‘हिजोआज यी महिला फिटिक्कै मनपर्दैन, राम्री पनि एक रत्ति लाग्दैन ।’ साथीलाई पनि फिटीकै मन नपर्ने रहेछ । हामीले कुरा गर्‍यौँ– रूप मात्र त हेर्दा यो केटी राम्री नै छ, हामीलाई पहिले राम्री लाग्ने केटी अहिले आएर आफसे आफ किन यति धेरै नराम्री लाग्या होला ?

त्यसैले हामी भन्न सक्छौँ– यो ‘ब्युटी’ भन्ने कुरा मानिसको रूपमा सीमित छैन । मानिसको ट्यालेन्ट, उसले व्यक्त गर्ने विचार, उसको बानी व्यहोरा आदिले पनि ब्युटीलाई मापन गरिरहेको हुन्छ । खराब बोल्ने मानिस, अरूलाई दुःख दिने, हिंसा गर्ने, कुबिचार राख्ने मानिस हामीलाई राम्रो नलाग्नुको कारण पनि यही नै हो ।

मानिस मानिस सबै एक हुन् तर कतिपय पुरुषलाई राम्री महिलाहरू विशेष हुन्छन् भन्ने भ्रम रहेको हुन्छ । एक जना पुरुष सहकर्मी जहिल्यै सुनाउने गर्थे– मलाई फलानी केटीसँग कस्तो बोल्न मन लागेको छ । फलानी केटीसँग डेटिङ जाने पाए त ।’ उनको कुरा प्रायः यस्तै रहने गथ्र्यो । यो सुनेपछि ‘जाऊ न न बोल, डेटिङ जाऊ’ भन्थेँ तर उनको उत्तर रहने गथ्र्यो ‘त्यस्ती राम्री छ, हामीले भनेको के मान्ली र ?’

यदि मानिस सधैँ सत्कर्म गर्छ, सकारात्मक सोच राख्छ, खराब काम गर्दैन, अरूको कुभलो हुने काम गर्दैन भने तपाईंभित्र भएको ‘ब्युटी’ बाहिर आफसे आफ प्रस्फुटन हुन्छ । सौन्दर्यका प्रसाधनले महिलाको रूपलाई केही समयका लागि निखार्न मद्दत पुर्‍याउलान् तर साँच्चीकै मानिसले आफनो ब्युटी कायम राख्न सत्कर्म गर्नै पर्छ । सकारात्मक हुनै पर्छ । लगनशील भएर आफनो काममा लाग्नै पर्छ । आफूभित्र रहेको चेतनालाई फराकिलो पार्नै पर्छ ।

तपाईंको सोच र तपाईंले गर्ने कार्यले तपाईंको सुन्दरतालाई थप उचाइमा पुर्‍याइरहेको हुन्छ । मीठो बोली वचन र राम्रो बानी व्यवहार भएको मान्छे हामीलाई जहिल्यै सुन्दर लाग्ने गर्छ ।

प्रायः मानिसहरू ब्युटी अर्थात् सुन्दर शब्दको भोका हुन्छन् । सबैको चाहना हुन्छ– मलाई राम्रो छ भनेर भनिदिऊन् । महिलाहरूलाई रूपको वर्णन गरिदिएपछि के नै चाहिन्छ र ? भन्ने पनि गरिन्छ । तर, राम्रो अथवा राम्री यो दुवै शब्द महिला, पुरुष दुवैको लागि उत्तिकै प्रिय हुन्छ । कोचाहिँ व्यक्ति दंग नपर्ला र आफ्नो रूपको वर्णन गरिदिँदा ! पुरुषलाई पनि ‘तपाईं आज ह्याण्डसम देखिनुभएको छ’ भनेर भनिदियो भने निकै नै दंग पर्छन् ।

प्राचीनकालमा देवताहरूको पालामा समेत रूपको वर्णन गरेको पाइन्छ । सेतो वर्णकी, मृगको जस्तो आँखा भएकी अर्थात् मृग नयनी, लामो कालो कपाल, सलक्क परेको जीउ डाल, छिनेको कम्मर आदिआदि । महिलाको रूपको चर्चा सर्वत्र गर्ने चलन छ । यही भएर होला कतिपय महिलाहरू आफूलाई राम्री देखाउन लाखौँ रुपियाँसमेत खर्चन्छन् । महँगा प्रसाधनको प्रयोग गर्छन् र महँगा कपडासमेतको प्रयोग गर्न पछिपर्दैनन् ।

मानिस मानिस सबै एक हुन् तर कतिपय पुरुषलाई राम्री महिलाहरू विशेष हुन्छन् भन्ने भ्रम रहेको हुन्छ । एक जना पुरुष सहकर्मी जहिल्यै सुनाउने गर्थे– मलाई फलानी केटीसँग कस्तो बोल्न मन लागेको छ । फलानी केटीसँग डेटिङ जाने पाए त ।’ उनको कुरा प्रायः यस्तै रहने गथ्र्यो । यो सुनेपछि ‘जाऊ न न बोल, डेटिङ जाऊ’ भन्थेँ तर उनको उत्तर रहने गथ्र्यो ‘त्यस्ती राम्री छ, हामीले भनेको के मान्ली र ?’

सबै मानिस उत्तिकै राम्रा हुन्छन् । सबै मानिसभित्र आआफ्नै किसिमको राम्रोपन हुने गर्छ । मानिसभित्र रहेका राम्रा गुणहरू कसैले उजागर गर्न पाएका हुन्छन्, कसैले हुँदैनन्, फरक यत्ति मात्र हो । बाहिरी आवरण त एउटा देखिने स्वरूप मात्र हो । यसलाई हेरेर मात्र मूल्यांकन गर्नु उपयुक्त हुँदैन ।