ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनलाई पदबाट बर्खास्त

ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनलाई पदबाट बर्खास्त

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २५, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन् । बोल्टनसँग आफ्नो असहमति रहेका कारण आफूले उनीसँग पदबाट राजीनामा मागेको ट्रम्पले बताएका छन् ।

उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए । सन् २०१८ यता पदमा रहेका बोल्टन ट्रम्पका तेस्रा सुरक्षा सल्लाहकार हुन । ट्रम्पको ट्विटलगत्तै बोल्टनले पनि पछिल्लो घटनाक्रमका बारेमा आफ्ना मत सार्वजनिक गरेका थिए । उनले आफूले राजीनामा बुझाएपछि ‘ट्रम्पले त्यसबारे भोलि कुरा गरौँ’ भनेको उल्लेख गरेका छन् ।

बोल्टनले भने आफैँले राजीनामा दिएको बताउँदै उचित समयमा आफ्नो भनाई सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् ।

घटना सार्वजनिक भए लगत्तै बोल्टनले प्रत्यक्ष प्रसारणमा रहेका फक्स न्यूजका एक जना प्रस्तोतालाई एसएमएस सन्देश पठाउँदै आफूले पदबाट राजीनामा दिएको जानकारी गराएका थिए ।

बोल्टनलाई हटाएपछि चार्ल्स कुपरम्यानले कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्नेछन्। उनी बोल्टनका सहायकका रूपमा कार्यरत थिए ।

विदेश नीतिका विज्ञ बोल्टन ट्रम्पले इरानविरुद्ध अपनाएको कडा रवैयाका प्रमुख योजनाकार मानिन्थे । ट्रम्पले इरानी नेताहरूसँग छलफल गर्न चाहेको भन्ने विषयको बोल्टनले प्रतिवाद गरेका थिए ।
उनले उत्तर कोरिया, रुस र अफगानिस्तानसँग पनि अमेरिका कडा रूपमा प्रस्तुत हुनुपर्ने अडान राख्दै आएका थिए ।

बोल्टनकै कारण गत फेब्रुअरीमा उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरणसम्बन्धी शिखर वार्ता सफल हुन नसकेको अमेरिकी अधिकारीहरूको आरोप छ ।