मार्क्सवादबारे लेनिन र माओका केही भनाई

मार्क्सवादबारे लेनिन र माओका केही भनाई

हस्तबहादुर के.सी.  |  जीवनदर्शन  |  माघ २७, २०७५

कार्ल मार्क्स मार्क्सवादका प्रवर्तकका रूपमा मात्र होइन, वैज्ञानिक साम्यवादका सिद्धान्तकारका रूपमा पनि चर्चित छन् । उनले आफ्ना राजनीतिक मित्र फ्रेडरिक एंगेल्सको सहयोगमा मार्क्सवाद सिद्धान्तको प्रतिपादन गरेका थिए । मार्क्स–एंगेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन घोषणा गरेपश्चात् मार्क्सवाद सिद्धान्तको रूपमा प्रतिविदित भएको मानिन्छ । मार्क्सवादलाई वैज्ञानिक, गतिशील सिद्धान्त मात्र मानिँदैन । यसलाई सर्वहारा वर्गको मुक्तिको सैद्धान्तिक पथप्रदर्शक अथवा मार्गदर्शक सिद्धान्तको रूपमा लिइन्छ । 

मार्क्सवाद सिद्धान्तका रूपमा यसले पहिलो चरणमा आफूलाई विकास गरिसकेको छ । मार्क्सवादको गुणात्मक विकास तथा दोस्रो चरणमा लेनिनवादको विकास भएको देखिन्छ । मार्क्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो आयाम तथा नयाँ चरणमा माओवादको विकास हुँदै परिष्कृत हुँदै आएको छ । यो निरन्तर सृजनात्मक विकासको गतिमा अगाडि बढिरहेको मात्र होइन, आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिङ्गो अमेद्य इकाइका रूपमा मार्क्सवाद लेनिनवाद र माओवादलाई लिने गरिएकोे छ । पछिल्लो विकास माओवादलाई मार्क्सवाद लेनिनवादले ग्रहण नगर्ने हो भने कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्दैन भन्ने जब्बरजस्त मत छ । यही कारण नै आज संसारभरका प्रतिक्रियावादी तथा संशोधनवादीहरूले माओवाद एवं माओवादीहरूमाथि सैद्धान्तिकरूपमा भ्रम सिर्जना र भौतिकरूपमा भीषण हमला गरिरहेका छन् । 

मार्क्सवाद–लेनिनवादको स्थापना सबै खाले प्रतिक्रियावाद, संशोधनवाद र अवसरवाद विरुद्धको भीषण वर्गसंघर्ष र वैचारिक संघर्षका क्रममा भएको हो । माओवादको स्थापना पनि नियमसंघर्षका बिचबाट भए पनि त्यसको जगचाहिँ मार्क्सवाद नै हो ।

मार्क्सवादका प्रवर्तक मानिने कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ मा जर्मनीको पर्सियाअन्तर्गत ट्रियर सहरमा भएको थियो । उनका चार दाजुभाइ र पाँच दिदीबहिनी थिए । जसमध्ये मार्क्स माइला थिए । 

१८४१ अप्रिलमा मार्क्सले भियना विश्वविद्यालयबाट दर्शनशास्त्रमा डाक्टरी (विद्यावारिधि) गरेका थिए । उनले डेमोक्रेटिक प्रकृति दर्शन र एयकुलरको प्रकृति दर्शनबिचको विषयमा मार्क्सले थेसिस तयार गरेका    थिए ।

उनले सन् १८४३ जुन १९ मा जर्मनीको सानो सहर क्रेश्चनारवमा जेनी बेस्टफालेनसँग विवाह गरेका थिए । 

मार्क्सलाई धेरै भाषाका जानकार तथा सिद्धान्तकारका रूपमा चर्चा गर्ने गरिन्छ । ग्रीक, ल्याटिन, जर्मनी र अंग्रेजीको उत्कृष्ट ज्ञाता मानिने उनीसँग इटालियन र स्पेनिस भाषा लेख्न र पढ्न सक्ने अद्भूत क्षमता    थियो । 

कार्ल मार्क्स सर्वहारा वर्गको महान् सिद्धान्तकारमा होइन मार्क्सवादको प्रतिपादन विश्व इतिहासमा एउटा युगान्तकारी परि घटना समेत  थियो । सन् १८४७ मा लन्डनमा सम्पन्न कम्युनिस्ट लिगको दोस्रो महाधिवेशनले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मेवारी दिइएको थियो । मार्क्स–एंगेल्सले एक वर्ष लगाएर कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पारेका थिए । र, सन् १८४८ फेब्रुअरी १२ मा लन्डनबाट मार्क्स र एंगेल्सद्वारा संयुक्तरूपमा कम्युनिस्ट घोषणापत्र जारी गरेका थिए । 

त्यसपश्चात् विश्व सर्वहारा वर्गले मार्क्सवाद र मार्क्सवादी दर्शनलाई आफ्नो मुक्तिको सैद्धान्तिक अस्त्रका रूपमा लिइरहेका छन् । 

मार्क्सवादबारे स्पष्ट पार्दै स्वयं मार्क्स–एंगेल्सले (सङ्कलित रचनाहरू भाग ३, पृष्ठ १२ मा) लेखेका छन्– जसरी दर्शनले सर्वहारा वर्गमा आप्mनो भौतिक हतियार प्राप्त गर्छ, त्यसरी नै सर्वहारा वर्गले  दर्शनमा आप्mनो  बौद्धिक हतियार प्राप्त गर्छ । 

दर्शनका बारेमा मार्क्सको ठहर थियो– प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो ।

मार्क्सवाद र मार्क्सवादी दर्शनमा सर्वहारा वर्गले संसारलाई ठिकसँग बुझाउने र त्यसलाई फेर्ने एक अचुक बौद्धिक अस्त्रका रूपमा लिइन्छ । मार्क्सवादबारे थप व्याख्या गदै लेनिनले (सङ्कलित रचनाहरू भाग १९, पृष्ठ २५ मा) लेखेका छन्– माक्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खासरूपले मजदुर वर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ । मार्क्सको दर्शन सर्वहारा वर्ग र त्यसका राजनीतिक तथा सैद्धान्तिक प्रतिनिधिहरूका लागि प्रभावशाली र शक्तिशाली हतियार साबित  भएको निष्कर्ष निकाल्दै माओले (आफ्नो चुनिएका रचनाहरू अङ्ग्रेजी संस्करण भाग ५, पृष्ठ १६० मा) भनेका छन्– मार्क्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ : मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात् वर्ग सङ्घर्षको सिद्धान्त तर जगचाहिँ मार्क्सवादी दर्शन हो । यदि यसलाई मनन गरिएन भने हाम्रो एउटा साझा भाषा वा साझा तरिका हुने छैन, हामी चिजहरूलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्क मात्र गरिहगेका हुनेछौँ । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि, थुप्रै दुःखकष्टबाट जोगिनेछ र धेरै गल्तीहरू हट्नेछन् । 

मार्क्स–एंगेल्सद्वारा कम्युनिस्ट घोषणापत्र जारी भएपश्चात् तत्कालीन दुनियाँमा हलचल पैदा गर्दै आफ्नो घोषणापत्रमा उल्लेख गरेका थिए–युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ– साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् । कुन यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनी बदनाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ जसले आफूभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरूलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ? तथ्यबाट दुई कुरा प्रस्ट हुन्छ । युरोपका सारा सत्ताधारीहरूले साम्यवादलाई अब एक शक्ति मानिसकेका छन् । अब कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि आफ्ना विचारहरू, आप्mना उद्देश्यहरू, आफ्ना प्रयासहरू खुलस्त बताउनुपरेको छ र साम्यवादको हाउसम्बन्धी दन्त्य कथाको सट्टामा पार्टीको आफ्नो  घोषणापत्र प्रस्तुत गर्नुपरेको छ ।

कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स दुवैको संयुक्त प्रयासबाट मार्क्सवादको प्रतिपादन भएको विषयमा लेनिनले (सङ्कलित रचनाएँ दश खण्ड मे खण्ड ५ मा) भनेका छन्– मार्क्सवाद मार्क्सका विचारहरू र उनको शिक्षाको व्यवस्थित शृङ्खला हो । उन्नाइसौँ शताब्दीमा मार्क्सवादका तीन संघटक तत्त्वको उल्लेख गर्दै संसारका तीन अधिकतम उन्नत देशहरूमा पैदा भएका तीन मुख्य विचारधाराहरू शास्त्रीय जर्मन दर्शन, शास्त्रीय अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र सामान्य फ्रान्सेली क्रान्तिकारी शिक्षाहरूसँग संलग्न फ्रान्सेली समाजवादलाई मार्क्सले अगाडि बढाए । र, त्यसलाई आफ्नो प्रतिभाले परिपूर्ण बनाए । 

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाज साम्यवाद यसका आधारभूत मान्यता हुन् भन्ने कुरा मार्क्सले विज्ञानद्वारा निक्र्यौल गरेर मार्क्सवाद तथा मार्क्सवादी दर्शनका क्षेत्रमा ठुलो योगदान पुर्‍याएका छन् ।