मृत्यु के हो ? एउटा चिकित्सकको बयान

मृत्यु के हो ? एउटा चिकित्सकको बयान

डा. स्कन्द शुक्ला  |  जीवनदर्शन  |  भदौ २६, २०७६

मानिस मरेपछि
केही पनि
सोच्न सक्दैन
मानिस मरेपछि
केही पनि
बोल्न सक्दैन ।

केही सोच्न नसक्ने
र, केही बोल्न नसक्ने
हुँदा मानिस
साँच्चै मर्छ ।
(भारतीय कवि उदय प्रकाशको कविताको अनुवाद)

मृत्युको परिभाषा गर्नु अति जोखिमपूर्ण काम हो । हुनत आदिकालदेखि नै मृत्युको परिभाषा गर्ने प्रयास हुँदै आएका छन् । विभिन्न धर्मगुरु, दार्शनिक, चिन्तक, साहित्यकारले यो जमर्को गरेका छन् । आधुनिक युगमा भने यो दायित्व वैज्ञानिकहरूले निर्वाह गरिरहेका छन् ।

२१औँ शताब्दीको प्रारम्भदेखि नै विकसित भएको अंग प्रत्यारोपण, कृत्रिम बुद्धिमत्ता र नैनो टेक्नोलोजीले हासिल गर्दै गइरहेको उच्चतम सफलता र विश्वासले मृत्युको सबै पुराना परिभाषा र धारणाले टेक्ने जमिन खस्किँदै गइरहेको छ । हामी जतिजति जीवन धान्ने क्रममा सफलता हात पार्दै गइरहेका छौँ, त्यतित्यति नै मृत्युलाई परिभाषित गर्ने कार्य पनि जटिल हुँदै गइरहेको छ ।

एक चिकित्सकका रूपमा म स्पष्टसाथ भन्छु– कसैलाई मृत घोषित गर्नु अत्यन्त दयनीय र दुःखद उत्तरदायित्वको परमसंवेदनशील क्षण हुन्छ । अस्पतालमा मलाई सम्झना छैन, मैले कति जनालाई मृत घोषित गरेको छु । उनीहरूको मृत्युको प्रमाणपत्र बनाएको छु । प्रमाणपत्रमा हस्ताक्षर गरेको छु । म अहिलेसम्म पनि मृत्युका बारेमा प्रत्येक दिन केही न केही जान्ने, सिक्ने, पढ्ने र नयाँनयाँ जानकारी बटुल्ने काम गरी नै रहेको छु ।

सूक्ष्म र स्थुल दुवै स्तरमा यसका विपरीत साधारण मानिस, जसलाई विज्ञानबारे थाहा छैन, उसले विज्ञानसम्मत ढंगले जीवनवृत्तिबारे बुझ्दैन । न मृत्यु दुवैलाई बिजुलीको स्विच अन–अफ जस्तो घटना चक्र सम्झिन्छ । हृदयगति रोकियो, मानिस मर्‍यो । दुर्घटना भयो, मानिस मर्‍यो । श्वास रोकियो, मानिसको इहलीला समाप्त ।

तर, स्थिति यति सरल र सहज होइन । जीवनको परिभाषा यति सहज र स्पष्ट भएको भए सबै खाले मृत्यु चिन्तनमा सधैँका लागि पूर्णविराम लाग्थ्यो ।

मर्नु एउटा प्रक्रिया हो, आकस्मिक घटना होइन । यसलाई बोधपूर्वक समग्रतामा बुझ्नुपर्छ । म दार्शनिक पाराको गफ गरिरहेको छैन । विज्ञानको विद्यार्थी हुँ, शब्द शब्द विज्ञानकै भाषा र भंगिमाअनुसार लेखिरहेको छु ।

मृत्यु अनेक प्रकारका हुन्छन् । वैज्ञानिक र डाक्टरले मृत्युलाई फरक फरक ढंगले परिभाषित गर्छन् ।

साधारण मानिसले मृत्युका एक–दुई प्रकार मात्रै बुझेका हुन्छन् । मानिसले श्वास फेर्न छाड्यो भने परलोक गमन भायो । हृदयको ढुकढुकी रोकियो, कालले लग्यो । नाडी छाम्यो, नाडी रोकिएको छ भने मानिस मर्‍यो ।

जड हुनु, श्वास नफेर्नु, हृदयको ढुकढुकी रोकिनु, केही दशक पहिलासम्म मानिसलाई मरेको घोषणा गर्नु पर्याप्त प्रमाण थिए । तर, चिकित्सा विज्ञानको प्रगतिसँगै नयाँनयाँ उपकरण बने । कृत्रिम जीवन सपोर्ट गर्ने मेसिन बने । यी मेसिनले रोगीलाई कृत्रिम श्वास प्रदान गर्ने कार्य प्रारम्भ गरे । हृदयको ढुकढुकीलाई बाहिरी सहयोगद्वारा जारी राख्ने सुविधा भए । हृदयको ढुकढुकी कायम रहनासाथ शरीरमा रक्त संचालन प्रक्रिया भइरह्यो । शरीरमा अक्सिजनको आपूर्ति भइरह्यो अक्सिजन पाएर हृदयले आफ्नो काम गरिरह्यो । मृत्यु खै त ?

यी सबै गतिविधि रोकिँदा मृत भन्ने परिभाषामा विराम लाग्यो तर यस्ता गतिविधि संचालन भइरहेका देहलाई पनि डाक्टरहरूले मृत भन्न थाल्नुपर्‍यो । कारण, यी देहधारीको मस्तिष्क मृत हुनपुग्यो । ‘ब्रेन डेथ’को अवधारण विकसित हुनुमा ‘लाइफ सपोर्ट सिस्टम’को भूमिका रह्यो ।

विज्ञानको प्रगतिसँगै अंग प्रत्यारोपणको चमत्कार प्रारम्भ भयो । कुनै व्यक्तिले मर्नुपूर्व ‘मेरो आँखा, कलेजो, हृदय, मिर्गौला झिकेर आवश्यकता भएका मानिसमा प्रत्यारोपण गरियोस् ।’

यस अवस्थामा मृत्युको निर्क्योल कसरी गर्ने ? मात्रै नाडी छामेर वा स्वासको आवागमन निरीक्षणले मृत्यु प्रमाणित गर्नु पूर्ण हुनसक्छ र ?

तपाईं हामी सबैलाई थाहा नै छ– मस्तिष्क शरीरका समस्त अंग उपअंगको नियन्त्रक हो । शरीरका सबै अंगले मस्तिष्कबाट तन्त्रिकातन्त्रका माध्यमले निर्देश पाउँछन् । तर, कैयौँ प्रकरणमा शरीरका यी अंग स्वतन्त्र अथवा स्वायत्त पद्धतिअनुसार कार्य गर्छन् । अंगहरूको यस्तो लक्षणा र अभिव्यञ्जनाले गर्दा कुनै व्यक्तिको मस्तिष्क नष्ट हुँदा पनि यी अंग कैयौँ पटक केहीबेरसम्म र कहिलेकाहीँ लामो समयसम्म काम गरिरहन्छन् । डाक्टरहरूका लागि यो अत्यन्त जटिल परिस्थिति हुन्छ । यस्तो बेला मानिसलाई मृत घोषित गर्न ठूलो धर्म संकट उत्पन्न हुन्छ ।

यस्ता कैयौँ सन्दर्भमा बिरामीका आफन्तजनले पैसाका लागि डाक्टरहरूले लासको उपचार गरेको लाञ्छनासमेत लगाउने गर्छन् । डाक्टरको धर्म संकटबारे सामान्यजनलाई थाहा हुने कुरै आउँदैन ।

कुनै व्यक्तिको हृदयगति रोकियो, रोकिई नै रह्यो । यस्तो परिस्थितिमा सबैभन्दा पहिला शरीरका ती अंग मर्ने क्रम प्रारम्भ हुन्छ, जुन अंगहरूलाई अक्सिजन आपूर्ति गर्नु शरीरको पहिलो प्राथमिकता हुन्छ । मस्तिष्क मानव शरीरको सबैभन्दा संवेदनशील अंग हो । मस्तिष्कका केही खास भाग झनै संवेदनशील रहेका हुन्छन् । यस्तोमा सबैभन्दा पहिला मस्तिष्कको यही सबैभन्दा संवेदनशील भाग मृत्युगामी हुन्छ, त्यसपछि शेष मस्तिष्कको पालो आउँछ । र, त्यसपछि क्रमशः शरीरका अन्य अंग अस्त हुने शृंखला प्रारम्भ हुन्छ ।

भन्न सकिन्छ– व्यक्तिको मस्तिष्क मर्नासाथ शरीरका सबै अंग तत्क्षण मरी हाल्दैनन् । सबै अंगहरूको ‘अक्सिजन आवश्यकता’ बेग्लाबेग्लै हुन्छ र सबै अंगको मृत्यु फरक–फरक समयमा हुन्छ ।

सोच्नुहोस् त ! कुनै पनि मानव अंग मर्नु भनेको के हो ? सामान्य अर्थमा जब कुनै अंगले आफ्नो नियमित काम गर्न छाड्छ, त्यसबेला त्यस अंगलाई मरेकै भनिन्छ । तर, अंग स्वयंको निर्माण भने लाखौँ तन्तु र कोशिकाबाट भएको हुन्छ । अंगको बनोट र संरचना बुझेपछि यो कसरी भन्न सकिन्छ, अंगको निर्माणमा संलग्न सबै तन्तु र कोशिका अथवा अधिसंख्यक कोशिका एकै पटकमा मरे ?

चिकित्सकीय दृष्टिमा अंगभित्र आएका ती त्रुटि, जसले गर्दा अंगले आफ्नो नियमित कार्य समुचित ढंगले सम्पादन गर्न नसकोस्, त्यो नै मुत्यु हुनु हो । कुनै पनि अंगले काम नगर्नु वा काम गर्न अक्षम हुनु बिजुलीको स्विच अन–आफ गरेजस्तो एक झट्कामा हुने प्रक्रिया होइन । शरीरका समस्त अंग प्रायः विस्तारै काम गर्न अयोग्य हुँदै जान्छन् । कहिलेकाहीँ मात्रै अकस्मात रूपमा अंग बेकम्मा हुन्छन् र तिनले आफ्नो कार्यसम्पादन गर्ने योग्यता गुमाउँछन् ।

जुनबेला कोशिका मर्ने क्रम प्रारम्भ गर्छन् र पूर्णतया मर्छन्, त्यो बेला कोशिकामा अनेक किसिमका परिवर्तन हुन आउने गर्छन् । ‘प्याथोलोजिस्ट’का लागि यो परिवर्तन अवलोकन/परीक्षण गर्नु महत्त्वपूर्ण हुन्छ । साधारण मानिसका लागि यो बुझ्न र बुझाउन गाह्रो छ । यसै कोशिकीय मृत्युले कोशिकाको विशेष प्रकारको मृत समूह बनाएर कुनै पनि व्यक्तिको मस्तिष्कीय क्रियाकलापलाई बाधित तुल्याउँदै अक्षम बनाउनु नै ‘मस्तिष्को मृत्यु’ अर्थात् ‘बे्रन डेथ’ हो । ‘ब्रेन डेथ’ हुँदा व्यक्ति मृत भएको मानिन्छ ।

‘ब्रेन डेथ’को अर्थ मस्तिष्कको मृत्यु मात्रै होइन, ‘ब्रेन डेथ’को पूर्ण आशय हो– ‘मस्तिष्कको समस्त भाग सधैँका लागि पूर्ण रूपेण निस्तेज भएर व्यक्तिलाई मृत घोषित गरिएको छ ।’

मृत घोषित गरिएको व्यक्तिका केही अंग अझै सक्रिय अवस्थामै रहेका हुनसक्छन् ।

(चिकित्साशास्त्रमा एमडीका साथै इक्युनोलोजीमा डीएम गरेका स्कन्द शुक्ला बाथ रोग विशेशज्ञका रूपमा कार्यरत छन् । साहित्यप्रति उनको विशेष अनुराग छ । यस विधामा उनका कैयौँ पुस्तक प्रकाशित छन् । उनको लेखनमा चिकित्सकीय जीवनमा प्रस्फुटित विभिन्न समबन्ध–घटना–भावस्थितिको सहज निरूपण अभिव्यक्ति भएको पाइन्छ – सं.)