लोकसंवाद संवाददाता | समाचार | भदौ २६, २०७६
नेपाल सरकार र मलेसिया सरकारबीच भएको नयाँ समझदारीपत्रमा समावेश भएका आन्तरिक प्रक्रिया पूरा भएपछि करिब डेढ वर्षदेखि रोकिएको मलेसियाको रोजगारी खुलेको छ ।
नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालम्पुरमा बसेको संयुक्त बैठकले रोजगारी खुला गराउने सहमति गरेको नेपाली टोलीका संयोजक रामप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।
दुवै देशका प्रतिनिधि सहभागी प्राविधिक टोलीले सबै विषय टुंगोमा पुर्याएको र आजैदेखि नेपालीका लागि मलेसियाको रोजगारी खुला भएको घिमिरेको भनाइ छ ।
नेपाल सरकारले थप गरेका स्वास्थ्य संस्थालाई मलेसियाले मान्यता दिने, सुरक्षा गार्डमा मलेसिया जाने नेपाली कामदारको लागत तय गर्ने र मलेसियाले विदेशी कामदारलाई काममा लगाउनेसम्बन्धी डोमेष्टिक कानुन बनाउने विषयमा सहमति हुन बाँकी थियो ।
नेपालले सूचीकृत गर्न पठाएका १२२ स्वास्थ्य संस्थामध्ये हाल सूचीकृत भएका ३६ स्वास्थ्य संस्थाबाटै काम सुरु गर्ने सहमति भएको र नेपालले प्रस्ताव गरेका नयाँ स्वास्थ्य संस्थालाई सूचीकृत गर्नका लागि आगामी नोभेम्बर महिनाको पहिलो सातादेखि मलेसिया सरकारले परीक्षण (अडिट) सुरु गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ ।
नेपाली सुरक्षा गार्डले मलेसियामा रोजगारीका लागि जाँदा अन्य क्षेत्रमा काम गर्ने कामदारले जस्तै कुनै शुल्क तिर्नु नपर्ने व्यवस्था गर्न पनि दुवै देश सहमत भएका छन् भने मलेसिया सरकारले अहिलेसम्म डोमेष्टिक कामदारसम्बन्धी कानुन नबनाएकाले कानुन बनाउने प्रक्रिया सुरु गरिएको जानकारी नेपाली पक्षलाई दिएको थियो ।
यसपछि दुवै पक्ष अहिलेको व्यवस्थाअनुसार कामदार पठाउन र लिन तयार भएका हुन् । गत मंगलबारदेखि सुरु भएको दुई देशबीचको बैठक तीन दिनसम्म चलेको थियो । यो सहमतिसँगै १२ कात्तिक २०७५ मा भएको नेपाल र मलेसियाबीचको श्रम सम्झौता कार्यान्वयनमा आएको छ ।