राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माण कार्य सुरु नगरे अनुदान नपाइने बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई, भक्तपुरले बिहीवार यहाँ आयोजना गरेको निजी आवास पुनर्निर्माण कार्यक्रमसम्बन्धी गोष्ठीमा उहाँले कात्तिक मसान्तभित्र घरको जग पनि नहाल्ने लाभग्राहीले अनुदानको रकम नपाउने बताउनुभयो ।
तेस्रो किस्ता आगामी माघ मसान्तसम्म लिई सक्नुपर्नेगरी घर निर्माण सुरु गर्न आग्रह गर्दै उहाँले गाउँगाउँमा रहेका इञ्जिनियरलाई गाउँ नछाड्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, 'विभिन्न परीक्षा र अन्य वहानामा कोही पनि इञ्जिनियरले गाउँ नछाड्नुहोस्, काम गर्न मन नलागे बिदा लिनुहोस् तर गाउँ नछाड्नुहोस्, गाउँ छाड्ने र प्रभावकारी रूपमा काम नगर्ने इञ्जिनियरलाई अब बिदाइ गरिन्छ ।' उहाँले वडादेखि नगरपालिकासम्मका प्रमुखलाई दैनिक काममा नजाने इञ्जिनियरलाई हाजिर नगराउन आग्रह गर्नुभयो ।
उहाँले स्थानीय जनप्रतिनिधि र इञ्जिनियरले एकै पटक परिचालन हुँदै आआफ्नो क्षेत्रमा कहिलेसम्म पुनर्निर्माणको काम सम्पन्न गराउने भन्नेबारेमा लक्ष्य निर्धारण गर्दै योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले आफैँ धितो जमानी बसेर सहुलितयमा तीन लाख रुपैयाँसम्मको ऋण दिने भने पनि भूकम्पपीडितले ऋण लिन नसकेको अवस्था र कारण पहिचान गर्न इञ्जिनियरलाई निर्देशन दिँदै उहाँले जनप्रतिनिधिले यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।
नक्कली भूकम्पपीडितले घर बनाएका छन् भने त्यसको पहिचान गरी कानुनी रूपमा पहिलो किस्ता फिर्ता गर्ने र घर बनाउनै नसकेर नबनाएकाको हकमा भने समस्या पहिचान गरेर समाधान खोज्ने उहाँको भनाइ थियो । कार्यक्रममा प्राधिकरण भक्तपुर एकाईका प्रमुख ध्रुव गैडालगायत विभिन्न व्यक्तिले पुनर्निर्माणको पछिल्लो अवस्थाबारेमा आफ्ने प्रस्तुतीकरण राख्नुभएको थियो ।