धरहराको २६ प्रतिशत भौतिक प्रगति

धरहराको २६ प्रतिशत भौतिक प्रगति

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २६, २०७६

ऐतिहासिक धरहरा पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । पुनर्निर्माण प्राधिकरणमा बिहीवार भएको धरहरा पुनर्निर्माण प्रगति समीक्षा कार्यक्रममा निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीका कन्ट्र्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले उक्त जानकारी दिनुभएको हो ।
आफूलाई प्राप्त निर्माणस्थलका हिसाबले ६७.५ प्रतिशत प्रगति भएको उहाँको भनाइ छ ।

धरहरा पुनर्निर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको कङ्क्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको छ । त्यसैगरी गोश्वारा हुलाक रहेका भवनहरू भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरू हाल्ने कार्य चलिरहेको छ ।

समीक्षा कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरू समानान्तर रूपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो । त्यस क्रममा उहाँले गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्नसमेत जोड दिनुभयो ।

धरहरा पुनर्निर्माणको सुपरीवेक्षण गरिरहेको परामर्शदाता कम्पनी केज कन्सल्ट र स्वाइल टेस्ट जेभीका तर्फबाट पुनर्निर्माणका क्रममा देखिएका विभिन्न विषयहरूबारे प्रस्तुतीकरण गरिएको थियो ।

समीक्षामा धरहरा पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्यहरू, निमित्त सचिवलगायतको उपस्थिति थियो ।

यसैबीच दशैँलाई लक्षित गरेर तेबहालबाट टुँडिखेल निस्कनका लागि केही दिनभित्रै अस्थायी पैदल मार्ग खोल्नेगरी काम भइरहेको छ । सञ्चय कोष र साविकको गोश्वार हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ । खिचापोखरीदेखि तेबहालसम्म बाटो खुलिसकेको छ । अब यी दुई बाटो जोडिनेछन् । पछि यहाँ स्थायी सडक रहनेछ ।