काठमाडौं-मानसरोवर यात्राः यमद्वारदेखि कैलाश पर्वतको फेदीसम्म (फोटो फिचरसहित)

काठमाडौं-मानसरोवर यात्राः यमद्वारदेखि कैलाश पर्वतको फेदीसम्म (फोटो फिचरसहित)
कैलाश पर्वतको उत्तरी मोहडा

केदारबहादुर क्षत्री  |  साहित्य  |  भदौ २७, २०७६

पहिले पहिले मेरा साथीहरू यत्रतत्र घुमेर रमाउने गरेको देखेर मलाई यताउति घुम्न मन लाग्थ्यो । त्यसैले कर्मचारी संचय कोषको सेवामा रहुन्जेल बिदा लिएर देशका विभिन्न ठाउँ घुम्दै आएको थिएँ । कर्मचारी संचय कोषको सेवाबाट अवकाश भएपछि प्राप्त फुर्सदको समय कसरी उपयोग गर्ने र आफूलाई कसरी व्यस्त राख्ने भन्ने कुरा मनमा खेल्न थालेको थियो । घुम्नु एक प्रकारले सोख पनि बनिसकेको भएकाले फुर्सदलाई कहीँ कतै घुम्न गएर प्रकृतिको अनुपम आनन्द लिने विचार मनमा खेल्न थालेको थियो । 

यस्तैमा साथीहरूबाट सुन्दै आएको ‘कैलाश–मानसरोवर’को यात्राको चर्चा सम्झना आएकाले ‘कैलाश–मानसरोवर’ यात्राको व्यवस्थापन गर्दै आएको फिस्टेल ट्राभल्ससँग सम्पर्क गर्दा केही नेपाली र अधिकांश भारतीय यात्री भएको एउटा टोली जान प्रबन्ध हुँदै गरेको जानकारी पाएँ । मैले आफूलाई त्यही टोलीमा समावेश गराएँ ।

यात्रा प्रबन्धक फिस्टेल ट्राभल्सले चीन प्रवेशको भिसालगायतका कानुनी प्रक्रिया पूरा गरेपछि हामी ३३ जना यात्रीको टोली काठमाडौंबाट केरुङको बाटो मानसरोवर जान भदौ १२ गते प्रस्थान गर्‍यो ।

पहिलो दिन
काठमाडौंको लाजिम्पाटमा जम्मा भएका सबै तीर्थयात्रीहरू बिहानको खाजा खाएर ८ बजे ट्राभल्सले व्यवस्था गरेको बस चढेर यात्रा आरम्भ गर्‍यौँ । ककनीको बाटो मर्मत सम्भारका लागि बन्द भएकाले गल्छी हुँदै करिब साढे चार घण्टापछि नुवाकोटको त्रिशूली पुगेर खाना खायौँ । पहाडको बाटो भए पनि बस, ट्रक, माइक्रोबस, मिनीबस मनग्य ओहोरदोहोर गरिरहेका थिए । त्रिशूलीमा खाना खाइसकेपछि हाम्रो टोली रसुवाको स्याब्रुबेँसीका लागि प्रस्थान गर्‍यो । 

त्रिशूलीसम्म सामान्य लागिरहेको यात्रा अब भने केही फरक महसुस हुन थाल्यो । यसको कारण अरू केही थिएन– त्रिशूली–लहरेपौवा खण्डसम्म केही कालोपत्रे सडकको यात्रा भए पनि लहरेपौवादेखि उताको बाटो जताततै खाडल, पानीका डोबिल्का पार गर्नुपर्‍यो । मानिसहरू बसभित्रै कहिले कता र कहिले कता ढल्किएका हुन्थे । पहाड नै नदेखेका र पहाड देखेर पनि पहाडी बाटो नहिँडेका यात्रीका लागि यो भयंकर त्रासद जस्तै थियो । 

कतै इन्धन सकिएर त कतै बिग्रिएर थन्किएका ट्रक तथा कन्टेनरले ट्राफिक नै जाम हुँदोरहेछ । त्यसैले पहिलो दिन बिहान ८ बजे नै यात्रा सुरु गरेको टोली रातिको एक बजे मात्र स्याब्रुबेँसी पुगेको थियो । यात्राको व्यवस्थापन गरिरहेको ट्राभल्सले बुक गरेको होटल स्मल स्टारमा पुगेर चिसो खाना खाएर सुत्यौँ । भोलिपल्ट बिहान ६ बजे नै तयार हुनु थियो । 

दोस्रो दिन

बिहान ६ बजे उठेको यात्रा टोली नित्य कर्म सकेर होटलवालाले तयार गरेको रोटी–तरकारी खाएर ७ बजे हामीले यात्रा आरम्भ गर्‍यौँ । अग्लाअग्ला पहाड, पहाड कपेर बनाएको साँघुरो अनि ओरालो–उकालो बाटो, कछुवा गतिमा बस, माथिबाट खसेको पहिरोको ढुंगाले किच्याएर कामै नलाग्ने गरी थन्किएको ट्रक, बिग्रिएर बाटोमा रोकिएका कन्टेनरहरूको जाम, जसलाई प्रहरी नै आएर हटाउनुपरेको थियो, यी सबै अवरोध छिचोल्दै हाम्रो टोली बिहानको खाना खान नेपाल र चीनको सीमावर्ती बजार टिमुरेमा पुगेको थियो । 

 

केरङ र सागा बीचको खेती 

खाना ठाउँअनुसार उत्कृष्ट नै भन्नुपर्छ । यसपछि काठमाडौंबाट चढेर गएको बस हामीले खाना खाएकै होटलको जिम्मामा छाडेर हिड्यौँ । आधा घण्टा हिँडेपछि रसुवागढीस्थित सीमा, अध्यागमन कार्यालयमा पुग्यौँ । नेपाल–चीन सिमानाबाट करिब १० किलोमिटरजति पर पहिरो गएकाले सफा नहुन्जेल हामीलाई जान दिइएन । र, करिब चार घण्टा त्यहीँ बितायौँ । पहिरो सफा भएपछि चिनियाँ बस चढेर हामी केरुङतर्फ प्रस्थान गर्‍यौँ । पहाडकै बाटो भए पनि सफा, कालोपत्रे गरिएको सडकमा आरामदायी यात्रा भयो– चीन प्रवेश भएपछि । करिब चार घण्टा यात्रा गरेपछि दुवैतिर पहाडले छेकेको, देब्रेपट्टिको पहाडमा केही मैदान परेको ठाउँमा रहेछ सानो केरुङ बजार, जहाँ हाम्रो टोली साँझ साढे ७ बजेतिर पुगेको थियो ।

स्थानीय होटलमा बास भयो । हाम्रो टोलीका शेर्पा साथीहरूले आफ्नो अर्थात् हाम्रो रुचिको खाना बनाउनुभयो । दाल, भात, तरकारी, अचार मजाले खायौँ र आरामदायी विस्तरामा निदायौँ । बिहान उठ्दा ६ बजिसकेको थियो । तेस्रो दिनको यात्राका लागि तयार हुनु थियो । त्यसैले नित्य कर्म सकेर रोटी, तरकारी, दूध, चना, कर्न फ्लेक्स आफ्नो रुचिअनुसारको खाजा खायौँ । त्यसपछि शेर्पा साथीहरू खाना बनाउन जुट्नुभयो । करिब ९ बजेतिर खाना खाएर मात्र हामीले यात्रा आरम्भ गर्‍यौँ । 

तेस्रो दिन

बिहान ९ बजे केरुङबाट सुरु भएको हाम्रो यात्रा झण्डै ५ घण्टाको थियो । यति समयमा चीनको अर्को शहर सागा पुगिँदोरहेछ । सागा पुग्नुअघि ब्रह्मपुत्र नदी तर्नुपर्ने रहेछ । केरुङबाट उकालै उकालो करिब ४ घण्टाको बस यात्रा गरेपछि तिब्बती पठार सुरु हुँदोरहेछ । बाटोको दायाँबायाँ जंगल देखिन्थ्यो । यो जंगलमा सम्भवतः चीन सरकारले आधुनिक भवन बनाउँदै गरेको देखिन्थ्यो । यही जंगलको बीच उकालोमा चिनियाँ अधिकारीहरूले हामीलाई बसबाट ओरालेर एक–एक गरी पासपोर्ट र भिसा जाँच गरेका थिए । चिनियाँ अधिकारीले यात्रा अघि बढाउन अनुमति दिएपछि हामीले करिब एक घण्टा मात्र यात्रा गर्‍यौँ । एक घण्टाको यात्रामा नै हामीले ब्रह्मपुत्र नदी तरेर सागा बजार पुगेर चिनियाँ अक्षरमा नाम लेखिएको होटलमा बासको व्यवस्था गरेर बजार हेर्न निस्कियौँ । 

यमद्वारबाट कैलाश जानेबाटोमा भेटिएको झर्ना 

 

बजार ठीकैको, करिब एक हजारजति घर भएको । बजारको बीच भएर एउटा सानो ढल भन्न मिल्ने खोला थियो । पसलहरूमा खाद्यान्न, लत्ताकपडा भन्दा पनि बढी निर्माण सामग्री बेच्न राखेको देखियो । डिपार्टमेण्टल स्टोरहरू निकै देखिन्थे । किनमेल केही भएन । चिया खाजा, खाना सबै बासको व्यवस्था गरेको होटलमा नै थियो ।

चौथो दिन

बिहान सदाझैँ ६ बजे उठेर नित्यकर्म सक्यौँ र खाजा खायौँ । यहाँ अन्य ठाउँको भन्दा फरक खाजामा केक थपिएको थियो । खाजा खाइसकेपछि यात्राको नेतृत्व गरिरहेका शेर्पाहरूले ७ बजे नै यात्रा आरम्भ गराए । ७ बजे सुरु भएको बस यात्रा ५ घण्टाको यात्रापछि रोकियो, खाना खानका लागि । शेर्पाहरूले बास बसेकै होटलमा खाना बनाएर लिएर आएका रहेछन्, रेडिमेड खाना । 

सागाबाट मैदान छाडेर उकालो लागियो, करिब आधा घण्टाजति उकालो चढियो, त्यसपछि भञ्ज्याङ जस्तो ठाउँमा पुगियो र ओह्रालो झरियो । उकालो चढ्दाजति समय लागेन । सागाबाट चाहिँ उकालो अनि ओह्रालो र मैदानको यात्रा । यो क्रम तीन– चार पटक दोहोरियो । यो बीचमा चौँरी र च्याङ्ग्राको हुल प्रशस्त देखिन्थ्यो । ठाउँठाउँमा चिनियाँ अधिकारीहरू यात्रु जाँच गर्थे । वन जंगलको नाम निशाना नै थिएन । ठाउँठाउँबाट हिमाल भने देखिन्थ्यो । टलक्क टल्किने कैलाश पर्वत पनि । 

सागाबाट हिँडेको १० घण्टामा मान सरोवर क्षेत्र पुगियो, करिब ५ बजेतिर । घाम अस्ताई नसकेकाले बसबाटै हामीले मान सरोवरको वरपरका केही भागको अवलोकन ग¥यौँ । नीलो रङको पानी ब्रह्मपुत्रको शिर, सायद सृष्टिकर्ता ब्रह्मा वास बसेको ब्रह्मलोक यस्तै हुनुपर्छ । एकातिर जमिन भए पनि तीनतिर भने अनन्तसम्म पानी नै पानी । अनुपम ! 
हामीले मुख मात्र धोयौँ, नुहाउन नपाइने रे ! पितृहरूको नाममा पानी चढायौँ– ‘ॐ पितृ देवो भवः ।’ भगवान शिवको पञ्चाक्षरी मन्त्र जप गर्‍यौ– ‘ॐ नमः शिवाय ।’ घर ल्याउन सरोवरको जल प्लाष्टिकको बोतलमा भर्‍यौँ ।

बाटोमा भेटिएको यात्रीहरुको विश्र्रामस्थल 

तीर्थयात्रीहरूको सुविधालाई ध्यानमा राखेर यो ठाउँमा बास बस्न भनेर लामालामा टहरा जस्ता घर बनाइएको रहेछ । एउटै कोठामा धेरैवटा पलङ राखिएको रहेछ । हाम्रो यात्रा व्यवस्थापकले पहिले नै बुक गरेको र खाना बनाउने काम स्वयं शेर्पाहरूले नै गरेकाले हामीलाई कुनै किसिमको झन्झट आइपरेन ।   

पाँचौँ दिन

बिहान अरू दिनभन्दा छिट्टै ५ बजे नै उठ्यौँ । त्यो रात करिब एक हजारभन्दा बढी मान्छे बास बसेको हुनुपर्छ त्यहाँ । बिहान सबेरै सबैतिर मान्छेहरूको खलबल मच्चिइरहेको थियो । शेर्पाहरूले आफ्ना यात्रीहरूका लागि स्नान गर्ने व्यवस्था गरेका रहेछन् । स्नानपश्चात् पितृहरूका नाममा जौको पिण्ड बनाएर अर्पण गरियो । त्यहीँ एक जना जोगी बस्दा रहेछन् । उनले हवन गर्ने व्यवस्था मिलाइदिए । घरबाटै लगेको चरु होम गरियो– ‘ॐ त्रयम्बकं यजामहे सुगन्धिं पुष्टिवरर्धनम्, उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीय मामृतात्’ मन्त्र पाठ गर्दै । 

यी सबै क्रिया सम्पन्न गरिसक्दा करिब एक बजेको रहेछ । शेर्पाहरूले तयार पारेको खाना खायौँ र करिब ६ किलोमिटर टाढाको दार्चेन भन्ने ठाउँमा गयौँ, बासका लागि । होटल, चिनियाँ प्रहरीहरूको बाक्लो उपस्थिति रहेको ठाउँ । कैलाश पर्वत परिक्रमा गर्न यो ठाउँमा बास बस्नुपर्नेरहेछ किनकि कैलाश पर्वतको दर्शन बिहानको समयमा उपयुक्त हुने भनेर यात्रा व्यवस्थापकले नै मिलाउँदा रहेछन् । लेक लाग्ला भनेर उचाइको यात्रा पनि क्रमशः गराउँदै लैजाने रहेछ । त्यसैले पाँचौँ दिनको वास दार्चेन भन्ने ठाउँमै बसियो ।

कैलाश परिक्रर्मा गर्ने क्रममा पैदल हिड्न नसक्ने यात्रीहरुका लागि घोड सवारी

छैटौँ दिन 

बिहान सबेरै उठेर नित्य कर्म सकेर खाजा खाएर २ किलोमिटर टाढा बसमा गयौँ– यमद्वारसम्म । यो एउटा प्राकृतिक ढुंगा माटोकै रहेछ, प्रवेशद्वार । द्वारको बीचमा घण्टा झुण्ड्याएको रहेछ । यो द्वार पार गर्नेले पछाडि फर्केर हेर्नुहुँदैन भन्ने किंवदन्ती रहेछ । रुद्राक्षको मालाधारीलाई साक्षात् ‘शिव’ ठानेर यमराज भ्रममा पर्छ भन्ने पनि किंवदन्ती रहेकाले यात्रा व्यवस्थापकले हामी सबैका लागि रुद्राक्षको माला पनि व्यवस्था गरेको रहेछ । 

बाटामा भेटिएका दृश्यहरु

यसपछि हामीले कैलाश परिक्रमा सुरु गर्‍यौँ । करिब ६ घण्टाको पैदल यात्रा गरेपछि डेरापुक भन्ने ठाउँमा पुगेर बास बसियो । यहाँबाट कैलाश पर्वत नजिकै देखिने रहेछ । हिँड्न नसक्ने यात्री होटलमा नै थकाइ मार्न थाले । मचाहिँ कैलाश पर्वतको फेदीमा पुगेर दर्शन गरेँ, ध्यानमा बसेँ, महामृत्युञ्जय मन्त्र पाठ गरेँ, तत्पश्चात् होटलमा फर्किएँ । 

खानामा जाउलोको व्यवस्था रहेछ । यो रात मलाई एकदमै टाउको दुःख्यो । नाक भतभती पोल्यो । निद्रा परेन । सास नै अड्केला जस्तो भयो । जसोतसो रात बित्यो । 

सातौँ दिन

भोलिपल्ट बिहान ३ बजे नै उठेर नित्य कर्म सकेर ५ बजे हलुका खाजा खाएर र खानाको प्याकेटको समेत व्यवस्था गरेर जुथुलपुक भन्ने ठाउँका लागि प्रस्थान गरियो । यो ठाउँमा पुग्न ६ किलोमिटर उकालो अनि ४ किलोमिटर ओरालो र १४ किलोमिटरचाहिँ करिब तेर्सो बाटो पैदल यात्रा गर्नुपर्ने रहेछ । जुथुलपुक पुगेर बास बसियो । 

मानसरोवर सिर भएको सागा पुग्नुअघिको ब्रह्मपुत्र नदी 

आठौँ दिन

बिहान ४ बजे नै उठेर खाजा खाइवरी ५ बजे यात्रा सुरु गरेर करिब ६ किलोमिटरको यात्रापछि बस पाइने ठाउँमा पुगियो । यो ठाउँमा ६ किलोमिटर यात्रा गर्न हामीलाई करिब ४ घण्टा लाग्यो । यहाँबाट बस चढेर दार्चेन भन्ने ठाउँमा नै फर्कियौँ । 

दार्चेन आइपुगेपछि कैलाश पर्वतको एक परिक्रमा हुँदोरहेछ । यही नै हाम्रो यात्राको अन्तिम विन्दु भएकाले यहाँबाट हामी फर्किने हाम्रो यात्राका लागि तयार चिनियाँ बसमा सवार भयौँ । यसले हामीलाई रसुवागढीसम्म ल्याइदियो, यसपछि फिस्टेल ट्राभल्सले अर्को बसमा काठमाडौं ल्याइदियो ।

तस्विर/ केदारबहादुर क्षेत्री