दु:खको पहाडमा धरावासी- २ : फर्म भर्न नजान्दा बीए पढ्न पाइएन

दु:खको पहाडमा धरावासी- २ : फर्म भर्न नजान्दा बीए पढ्न पाइएन

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  भदौ २७, २०७६

फर्म भर्न नजान्दा बीए पढ्न पाइएन

शनिश्चरे स्कुलमै स्वयंसेवी रुपमा पढाउँदै गर्दा त्यस स्कुलका प्रधानाध्यापक मोहन जोशीले भन्नुभएछ– ‘प्राविको शिक्षक सेवा खुलेको छ, भिडेर यही स्कुलमा आउनू ।’
नागरिकता थिएन धरावासीको । नागरिकता सिफारिसका लागि ५ रुपैयाँ पनि दिन्भएछ जोशी सरले ।

केशवकुमार बुढाथोकी गाउँपंचायतका प्रधानपंच हुनुहुँदोरहेछ । नागरिकता सिफारिस माग्न जाँदा बुढाथोकीले भन्नुभएछ– ‘किन चाहियो नागरिकता ?’

धरावासीले भन्नुभएछ– ‘शिक्षक सेवा भिड्न ।’

प्रधानपंच बुढाथोकीले यो जागिर खाने उमेर नभएर पढ्ने बेला भएको र पढ्ने भए सहयोग गर्ने बताउनुभएछ । धरावासीले पढ्ने इच्छा जाहेर गर्नुभएछ ।

बुढाथोकीले इलाममा उहाँको घरमा रहेका रुङालुलाई धरावासीलाई खान बस्न व्यवस्था गरिदिन तथा इलाम महेन्द्र क्याम्पसका क्याम्पस प्रमुखलाई ‘आवश्यक सहयोग’ गरिदिन पत्र लेखिदिनुभयो । र, सचिवलाई भन्नुभयो– ‘यिनलाई इलाम पुग्ने पैसा निकासा गरे सहयोग शीर्षकमा चढाउनू ।’

ती दुई पत्र र भाडा ३० रुपैयाँ लिएर धरावासी लाग्नुभयो इलामतिर । इलाममा रहेको बुढाथोकीको घरमा बसेर फर्म भर्न कलेज जानुभयो । कलेजमा फर्म भर्नेको दुइटा लाइन रहेछ । धरावासी एउटामा बसेर फर्म भर्नुभयो । उहाँलाई थाहा थिएा, के विषयमा फर्म भरियो । अरु साथीको हेरेर त्यहीअनुसार फर्म भरेर उहाँ हिँड्नुभयो । पछि नाम निस्कियो– व्यावसायिक शिक्षामा ।

२ वर्ष त्यहाँ पढ्नुभयो । आईएड सकेपछि पो उहाँलाई थाहा भयो– गल्ती गरिएछ । गल्ती किनभने उक्त क्याम्पसमा आईएड मात्र पढाइ हुनेरहेछ, बीएड पढ्न त काठमाडौं जानुपर्नेरहेछ, जुन कुरा धरावासीका हकमा संभव नै थिएन ।

‘आर्ट्समा फर्म भरेको भए बीएसम्म त्यहीँ पढ्न पाउनेरहेछु’, अझै पनि थकथकी लाग्छ सम्झँदा उहाँलाई ।

‘घुम्दै फिर्दै रुम्जाटार’ भनेझैँ पुनः फर्किनुभयो शनिश्चरे अर्थात् घर । त्यही स्कुल, जहाँ आफू पढ्नुभएको थियो, त्यहीँ पढाउन थाल्नुभयो धरावासीले– स्वयंसेवकका रुपमा । त्यही स्कुलमा उहाँले चर्चित साहित्यकारहरु दुबसु क्षेत्री, कृसु क्षेत्री, भीष्म उप्रेती, टंक उप्रेतीहरुलाई पनि पढाउनुभयो । ‘कतिलाई कक्षामा पढाएँ हुँला, कतिलाई कक्षाबाहिर’, धरावासी भन्नुहुन्छ, ‘तर साहित्यको गुरुचाहिँ सबैको नै हुँ म ।’ यसो भनिरहँदा धरावासीको मुहार पहिलोपल्ट उज्यालो देखियो । कारण– यी उल्लिखित सबै देशका विभिन्न क्षेत्रमा आफ्नो नाम र शाख राखेर बस्नुभएका व्यक्तित्व हुनुहुन्छ ।

अनि चिनियो साहित्य संसारमा

साहित्यप्रतिको रुचि त धरावासीमा बच्चैदेखि थियो । स्कुलमा हुने हरेकजसो कार्यक्रम र प्रतियोगिताहरुमा उहाँको सहभागिता हुने गथ्र्यो । र, प्रायः यस्ता प्रतियोगितामा पुरस्कारका हकदार उहाँ नै हुनुहुन्थ्यो । स्कुलकालमा लेखेका केही कविता, निबन्धहरु घर जलेसँगै जलेकामा उहाँलाई चित्त दुखिरहेको छ । ‘खासै स्तरीय र गतिला थिएनन् होला’, उहाँ भन्नुहुन्छ, ‘तर आफूले सिर्जना गरेका चिजको माया थियो ।’

विष्णुविभू घिमिरे गरिमा पत्रिकाका सम्पादक हुनुहुन्थ्यो । घिमिरेसँग धरावासीको चिनजान रहेछ । दुबसु क्षेत्री काठमाडौं आउने हुनुभएछ । विष्णुविभूलाई दुबसु राम्रो कवि भएको र माया गरिदिन भनेर चिठी लेखेर पठाउनुभएछ । दुबसुलाई विष्णुविभूले साँच्चै माया गर्नुभएछ । र, काठमाडौंको साहित्यिक माहोलमा दुबसु छिट्टै स्थापित पनि हुनुभएछ ।

दुबसुको यहाँको सम्पर्कले धरावासीलाई पनि फाइदा भएछ । यता अर्थात् काठमाडौंका प्रायः पत्रपत्रिकामा दुबसुका रचना छापिन थालेछन् । यही क्रममा दुबसुले नै धरावासीका रचना पनि काठमाडौंका पत्रिकामा छपाउन थाल्नुभएछ ।

भएछ के भने, धरावासीले विष्णुविभूलाई गरिमामा छाप्नका लागि कविता पठाउनुभएछ तर एउटा कविता पनि छापिदिनुभएनछ । एक पटक दुबसु झापा गएका बखत धरावासीले गरिमा अर्थात् विष्णुविभूका लागि निबन्धको ठेली नै पठाइदिनुभएछ । अचम्म ! धरावासीका निबन्ध निरन्तरजसो गरिमामा छापिएछन् । धरावासी भन्नुहुन्छ, ‘खासमा ममा कवि देख्नुभएनछ विष्णु दाइले, आखिर निबन्ध त छाप्नुभयो ।’ धरावासीलाई लागेछ– ‘मैले निबन्ध लेख्नुपर्छ ।’

अनि जन्मिएछ २०४८ सालमा पहिलो पुस्तक निबन्धकृति– ‘बालक हराएको सूचना ।’

अब राष्ट्रियस्तरको निबन्धकारमा परिचय बन्यो धरावासीको ।

‘बालक हराएको सूचना’ कभर काठमाडौंमा तयार भयो, भित्र झापामा छापियो । काठमाडौंमा उक्त पुस्तक भव्य कार्यक्रम गरी विमोचन भयो । ‘झापाबाट बोरामा किताब हालेर आएँ, कार्यक्रम राम्रो भयो, धेरै साहित्यकारसँग सम्पर्क पनि बढ्यो’, धरावासी सम्झनुहुन्छ ।

उहाँले समालोचना/समीक्षामा पनि कलम चलाइरहनुभएको रहेछ । त्यही बेला नपाली कांग्रेसको महाधिवेशन झापाको कलवलगुडीमा हुँदै थियो । विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासको समालोचना ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरु’ पुस्तक पनि सोही साता प्रकाशन भएर अधिवेशनमा कांग्रेसका तत्कालीन कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराईका हातबाट विमोचन गराउनुभएछ ।

आमाका दुःख सुन्ने आफू र आफ्ना दुःख सुन्ने आमा हुनुहुन्थ्यो । २०५८ सालमा आमा पनि बित्नुभयो । अब धरावासीका दुःख सुनिदिने कोही भएन । ‘आमालाई केही सुख दिन थालेको मात्र के थिएँ, आमा बित्नुभयो’, धरावासी भन्नुहुन्छ, ‘म नराम्रो शोकमा परेछु ।’सीताजी (धरावासीकी स्वर्गीय श्रीमती)ले धरावासीको विक्षिप्त अवस्था देखेर भन्नुभएछ– ‘अब आमालाई सम्झिएर कति चिन्ता गर्नुहुन्छ ? बरु आमालाई सझिएरै एउटा किताब लेख्नुस् ।’

उहाँले यसपछि पनि निबन्धलेखनमा निरन्तरता दिनुभयो । २०५३ सालमा गाउँकै एउटा मिलमा काम गर्ने मजदुरकी १३ वर्षीया छोरीमाथि बलात्कारपछि हत्या भएछ । त्यो हृदयविदारक दृश्यले उहाँलाई पोलेछ र तत्काल लेख्नुभएछ– ‘नारीभित्र त्यस्तो के छ हजुर ?’

उहाँका अनुसार यो निबन्ध एक घन्टामा लेखिएको हो । तर, रमाइलो के भने यही निबन्ध उहाँलाई थप चिनाउने र चम्काउने निबन्ध बन्यो ।

सीताराम उप्रेती झापा गएको बेला धरावासीसँग केही न केही रचना मागेर ल्याउनुहुँदोरहेछ । त्यस पटक उहाँले यही निबन्ध दिएर पठाउनुभएछ । उप्रेतीले उक्त निबन्ध ‘गोधूलि’ नामक पत्रिकामा छपाउनुभएछ । उक्त पत्रिकाबाट साभार गरेर दाहाल यज्ञनिधिले रेडियो नेपालबाट ‘साहित्य संसार’ कार्यक्रम, जुन देशभर अत्यन्त लोकप्रिय थियो, पढ्नुभएछ, त्यो पनि पटक पटक ।

साझाले नछापेको निबन्धसंग्रह

त्यसताका तुलसी भट्टराई साझा प्रकाशनका महाप्रबन्धक हुनुहुन्थ्यो । धरावासीले तुलसी भट्टराईलाई निबन्धसंग्रहको पाण्डुलिपि बुझाउनुभयो पुस्तक छाप्नका लागि । भट्टराई हटेर गणेश रसिक जीएम हुनुभयो । २०५३ सालमै झापामा अन्तराष्ट्रिय साहित्य महोत्सव हुने भयो । धरावासीको इच्छा त्यही महोत्सवमा उक्त पुस्तक विमोचन गर्ने रहेछ ।

भट्टराईले उक्त पाण्डुलिपि दर्तै गर्नुभएको रहेनछ । त्यहीबीचमा धरावासीको भेट भएछ, तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव ध्रुवचन्द्र गौतमसँग । उहाँले गौतमसँग आफ्नो गुनासो राद्यनुभएछ । गौतमले साझाबाट झिकेर प्रज्ञाप्रतिष्ठान ल्याए समयमै छापिदिने बताएपछि उक्त पुस्तक प्रज्ञाप्रतिष्ठानबाट छापिएछ ।

त्यसपछि धरावासीको ‘लीलालेखन’ पुस्तक आयो । आफूले १० हजार र दुबसु क्षेत्रीले १७ हजार रुपैयाँ लगानी गरेर प्रकाशन गरेको उक्त पुस्तक छापिएपछि पो धरावासीलाई थाहा भएछ– नेपाली साहित्यमा त लीलालेखनबारे केही आएकै रहेनछ । त्यसपछि ईन्द्रबहादुर राईले प्रतिपादन गरेको लीलालेखनलाई नेपालमा निकै दिग्गज हुँ भन्ने र राम्रै

समालोचक हुँ भन्नेहरुबीच बहस र विमर्शको विषय बनाउनुभयो धरावासीले । आज पनि धरावासीको अर्को परिचय बनेको छ– लीलालेखन ।

२०५५ सालमा अर्को निबन्ध आयो– ‘उत्तमजंग सिजापतिको आलु ।’

यात्रा उपन्यासतर्फको

२०५० सालमा मदनमणि दीक्षितको अगुवाइमा केही नेपाली साहित्यकारहरु भारतको आसाम भ्रमणमा जाने भए । त्यहाँ घुम्दा धरावासीले त्यहाँका नेपाली मूलका दाजुभाइ, दिदीबहिनीका जे जस्ता दुःख र पीडा देख्नुभयो, त्यसलाई साहित्यमा चित्रण गर्ने सोच बन्यो । नयाँ शैलीले विषय उठाउनुपर्ने सोचमा हुनुहुन्थ्यो उहाँ । तर, समस्या के थियो भने, ती विषय उठाउँदा नेपालीहरु रहेका अन्य ठाउँहरु, जहाँ धरावासी पुग्नुभएको छैन, त्यहाँका विषय, पात्र र सन्दर्भ पनि जोड्नुपर्ने भयो । आफूले नदेखेका ठाउँ र पात्र अनि नभोगेका सन्दर्भहरु कुदाउन निकै चुनौती थियो । उहाँले उपाय निकाल्नुभयो– ईन्द्रबहादुर राईको ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ कथाका पात्र समातेर अगाडि बढ्नु उपयुक्त हुनेछ । अनि जन्मियो– ‘शरणार्थी ।’

‘यसरी लेख्दा कतिपय आफूले कथा उपन्यासमा पढेका, कतिपय देखे भेटेका र कति वास्तविक पात्र समेटेर लेखिएछ’, धरावासी भन्नुहुन्छ । यही पहिलो उपन्यास नै दुईवटा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र भारतको नर्थ बंगाल युनिभर्सिटीमा पढाइ होला भन्ने उहाँलाई लागेको थिएन रे !

अघिल्ला पुस्तकहरु क्तिपय आफैँ छापिएका, कतिपयबाट पैसा नआएको भए पनि शरणार्थीबाट भने मनग्य पैसा र नामसमेत आएको धरावासी बताउनुहुन्छ ।
आमाको शोकमा ‘आधा बाटो’

बुबा उमेरमै बित्नुभयो । आमाले दुःख कष्ट गरेर ठूलो परिवारलाई भरथेग गर्नुभयो । आमाका धेरै दुःखको साक्षी र सहयोगी बन्नुभयो धरावासी । विस्तारै कृषि विकास बैंकमा जागिर खान थालेपछि भने परिवारमा केही सहज भएको थियो । आमाले चुर(सुर्ती)को व्यापार गरी नै रहनुभएको थियो तर त्यसले मात्र परिवार धान्न गाह्रो थियो ।

२०४३ सालमा कृषि विकास बैंकमा जागिर खान थालेपछि धरावासीको परिवारमा निकै सजिलो भयो । निरन्तरको दुःखमा केही मह्लम लाग्यो ।

आमाका दुःख सुन्ने आफू र आफ्ना दुःख सुन्ने आमा हुनुहुन्थ्यो । २०५८ सालमा आमा पनि बित्नुभयो । अब धरावासीका दुःख सुनिदिने कोही भएन । ‘आमालाई केही सुख दिन थालेको मात्र के थिएँ, आमा बित्नुभयो’, धरावासी भन्नुहुन्छ, ‘म नराम्रो शोकमा परेछु ।’सीताजी (धरावासीकी स्वर्गीय श्रीमती)ले धरावासीको विक्षिप्त अवस्था देखेर भन्नुभएछ– ‘अब आमालाई सम्झिएर कति चिन्ता गर्नुहुन्छ ? बरु आमालाई सझिएरै एउटा किताब लेख्नुस् ।’

धरावासीलाई श्रीमतीको कुरो जँचेछ । २०५९ सालमा लेख्नुभएछ– ‘आधा बाटो ।’ र, ७० हजार रुपैयाँ सरसहयोग मागेर र ४० हजार विस्तारै तिर्ने शर्तमा आफैँ छपाउनुभएछ ।

४२ वर्षको उमेरभित्रका आफ्ना कथा छन् आधा बाटोमा । ‘सामान्य मान्छेका घरभित्र झिनामसिना कुरा छन् आधा बाटोमा’, धरावासी भन्नुहुन्छ, ‘तर त्यही कथा आममान्छेको कथा बनेछ ।’

मैनाली कथा पुरस्कारका लागि लेखिएको थियो ‘झोला’

‘आधा बाटो’को विमोचनबाट फर्कंदै गर्दा प्रज्ञाप्रतिष्ठानका तत्कालीन सदस्यसचिव सनत रेग्मीसँग भेट भएछ धरावासीको । रेग्मीले मैनाली कथा पुरस्कारका लागि कथा मागिरहेको र एउटा कथा पठाउन भन्नुभएछ ।

धरावासी झापा फर्कंदै गर्दा गाडीमा निकै सोचमग्न हुनुभएछ कथाका लागि । विषय खोज्दै जाँदा झट्ट आएछ चन्द्रशमशेरको सतिप्रथा उन्मूलन । हो, त्यही विषयमा कथा लेख्नुभएछ– ‘झोला ।’

उक्त विषय तत्कालीन राजनीतिक परिवेशमा आलोचनाको विषय बन्ला कि भन्ने त्रास पनि रहेछ धरावासीलाई । धेरै दिन उक्त कथा कतै नपठाई राख्नुभएछ । अन्ततः प्रतियोगिताका लागि पठाउनुभएछ । तर, उक्त कथाले सान्त्वनासम्म पनि पाएन ।

अझ रमाइलो त के भयो भने, सान्त्वनासम्म नपाएको ‘झोला’ आजसम्मकै प्रिय र चर्चित कथा बनेको छ मात्र होइन त्यस कथामाथि चलचित्र बनेर ओस्कार अवार्डका लागि मनोनीत पनि भइसकेको छ ।

एक दिन विर्तामोडमा रहेको जीविका इन्टरप्राइजेजमा एक जना साथीले एउटा पत्रिकामा नारायण ढकालले लेखेको लेख देखाए– झोलाबारेको । नेता सीपी मैनालीले ढकाललाई ‘समकालीन साहित्य’ पत्रिकामा ‘झोला’ कथा छापिएको र आजसम्म त्यतिको कथा आफूले नपढेको बताउनुभएछ अनि ढकालले लेख्नुभएछ ।

त्यहीबेला एचबीसी एफएममा अच्युत घिमिरेले पढ्नुभएछ भने रेडियो नेपालबाट नवराज लम्सालले पनि उक्त कथा पढ्नुभएछ । ‘अनि त कथा पूरै भाइरल भयो’, धरावासी भन्नुहुन्छ, ‘निकै चर्चित र प्रिय बन्यो यो कथा ।’

झापाकै एक जना प्रेस सञ्चालकले आफू धरावासीको प्रशंसक भएको र एउटा किताब छापिदिन मन भएको बताएछन् । यही कथासहितको पाण्डुलिपि दिनुभएछ उहाँले । भन्नुहुन्छ, ‘ती भाइले यो किताब २ हजार प्रति छापेर घरमै ल्याइदिएर प्रेस बन्द गरेर विदेश गए ।’

चलचित्रमा ‘झोला’

२०६० सालमै छापियो झोला कथासंग्रह । धरावासीका भाइसाथी यादव भट्टराई, जो चलचित्र क्षेत्रमा हुनुहुन्थ्यो, उहाँले झोला कथालाई चलचित्र बनाउने प्रस्ताव गर्नुभएछ ।

धरावासीले सहजै उक्त प्रस्ताव स्वीकार गरेर सहमतिपत्रमा हस्ताक्षर गरिदिनुभएछ । चलचित्र बन्यो, बन्यो मात्र होइन, नयाँ तरंग नै ल्याइदियो यस चलचित्रले नेपाली सिनेमाका क्षेत्रमा । र, विश्वप्रसिद्ध चलचित्र पुरस्कार ओस्कारमा समेत मनोनीत भयो ।

अँ, धरावासीको लेखन उपन्यासतर्फ बढ्दै थियो ।

तुलसीप्रसाद भट्टराई महाप्रबन्धक हुँदाको समयमै साझा प्रकाशनमा बुझाएको कविताको पाण्डुलिपिको उमेर पनि छ वर्षको भइसकेको थियो तर त्यस पाण्डुलिपिले पुस्तकका रुपमा बाहिर आउने मौका पाइरहेको थिएन ।

विश्वम्भर चञ्चल महाप्रबन्धक हुनुहुन्थ्यो साझाका । धरावासीले चञ्चलसँग गुनासो गर्नुभयो । चञ्चलले उक्त पाण्डुलिपि हराएकाले पुनः पाण्डुलिपि पठाइदिन भन्नुभएछ । र, भन्नुभएछ– ‘पुरानै दर्ता नम्बरमा दर्ता गरौँला ।’

चञ्चल पनि हट्नुभयो साझाबाट । २०६० साल फागुनमा नवराज कार्की आउनुभयो महाप्रबन्धक भएर । उहाँसँग पनि भेटेर गुनासो गर्नुभएछ धरावासीले । कार्कीले कविता नबिक्ने, साझा नोक्सानमा जाने भएकाले बरु उपन्यासको पाण्डुलिपि दिन भन्नुभएछ ।

धरावासी ‘राधा’ उपन्यास लेखनको अन्तिम चरणमा हुनुहुँदोरहेछ । एक महिनाभित्र पाण्डुलिपि बुझाए तुरुन्तै छापिदिने कुरा भएछ तर धरावासीले एक महिनाभित्र पाण्डुलिपि बुझाउन सक्नुभएनछ ।

पाण्डुलिपि पढेर नवराजले भन्नुभएछ– ‘गज्जब छ ।’

पहिले कविताको तालझैँ होला भन्ने ठानेर होला धरावासीले सोध्नुभएछ– ‘दाइ, छाप्न सकिन्छ भने मात्र दिन्छु, नभए निजी प्रकाशनबाट निकाल्छु ।’

नवराजले जसरी भए पनि राधा साझाबाटै प्रकाशन गर्ने आश्वासन दिनुभएछ ।

पुस्तक समयमा आएन ।

त्यही समयमा साझाको टोली दार्जिलिङ जाने भयो । झापामा उक्त टोलीलाई धरावासीहरुले व्यापक स्वागत गरेर बिदाइ गर्नुभयो । साझाका सल्लाहकार विनय रावलले धरावासीलाई पनि सँगै जान भन्नुभयो । निकै कर गर्नुभयो तर धरावासीले आफूलाई साझाको औपचारिक निम्तो नभएकाले नजाने बताउनुभयो ।

दुर्भाग्य ! उहाँहरु सवार गाडी दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा विनय ठहरै हुनुभयो । ‘म सँगै गएको भए !’, उक्त त्रासद दृश्य सम्झँदा धरावासी निकै विचलित बन्नुभयो । त्यसपछि आफूलाई ‘डिप्रेसन’ जस्तै भएको उहाँ बताउनुहुन्छ ।

यहीबीचमा धरावासीले जनयुद्धको कथालाई लिएर ‘तपाईं’ उपन्यास लेख्नुभयो । उक्त उपन्यास प्रकाशन पनि भयो तर दुर्भाग्य ! उक्त उपन्यास बजारमा आएको पत्तै पाएनन् पाठकले । अथवा भनौँ, उक्त उपन्यास धरावासीकै शब्दमा ‘फ्लप’ भयो । उहाँलाई लागिरहेको छ, ‘तपाईं’ पुनः प्रकाशन गरूँ ।

देश राजाको प्रत्यक्ष शासनको विरुद्धको आन्दोलनमा थियो अथवा भनौँ लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको थियो । काठमाडौंमा साहित्य महोत्सव हुने भयो । धरावासीलाई पूर्व र भारतका सिक्किम, असम, दार्जिलिङतिरका स्रष्टा ल्याउने जिम्मा दिइयो । उक्त कार्यक्रममा काठमाडौं आउनुभयो धरावासी ।

साझा प्रकाशनमा नेतृत्व परिवर्तन तीब्र हुने गथ्र्यो । साझामा शैलेन्द्र साकार अध्यक्ष हुनुभयो । नवराज कार्कीसँग पुनः गुनासो गर्नुभयो धरावासीले । नवराजले जसरी भए पनि उक्त पुस्तक साझाबाटै प्रकाशन हुने आश्वासन दिनुभयो फेरि । महोत्सव सकेर धरावासी फर्कनुभयो झापा । १५ दिनपछि साझाकै एक कर्मचारीले चैतमै किताब प्रेसमा गएको बताए । सँगै साझाबाट प्रकाशन भएका २० वटा किताब त्यस वर्षको मदन पुरस्कारका लागि दर्ता हुने जानकारी पनि गराए र भने– ‘तपाईंको राधा पनि जाँदै छ, राधाबाट साझाले मदन पुरस्कारको अपेक्षा गरेको ।’

२०६३ वैशाखमा लोकतन्त्र पुनःस्थापना भयो । असारमा वियोगी बुढाथोकी र दुबसु क्षेत्रीले राधा उपन्यासको विमोचन कार्यक्रम राखिदिनुभयो काठमाडौंमै ।

भदौमा मदन पुरस्कार घोषणा भयो । नभन्दै धरावासीको राधा उपन्यासले मदन पुरस्कार पायो । ‘एक जना पत्रकार भाइले फोन गरेर राधाले मदन पुरस्कार पाएको सुनाउनुभयो’, धरावासी भन्नुहुन्छ, ‘काठमाडौंबाहिर बसेर पनि मदन पुरस्कार पाउने सरुभक्तपछि म नै भएँ ।’

त्यही दिन बेलुका कान्तिपुर टेलिभिजनले सोधेछ– ‘पुरस्कारको पैसाले के गर्नुहुन्छ ?’

धरावासीले भन्नुभएछ, ‘घर फिनिसिङ गर्छु ।’

यसो भनेकामा उहाँको धेरै आलोचना पनि भयो रे त्यसबेला । तर जनकप्रसाद हुमागाईंले चाहिँ प्रशंसा गर्नुभयो रे !

‘मैले जे गर्ने हो, त्यही भनेँ’, धरावासी भन्नुहुन्छ, ‘मेरो घर पूरा गर्न पैसाको अभावले सकिरहेको थिइनँ, पुरस्कारमा पैसा आयो, त्यसैले पूरा गरेँ ।’
अझ सबै काम सकेर पनि २० हजार रुपैयाँ बचेको थियो रे !

अहिले राधा उपन्यास युवाकवि, समालोचक, अनुवादक महेश पौड्यालको अनुवादमा अंग्रेजी भाषामा पनि प्रकाशन भइसकेको छ ।

यहीबीचमा धरावासीले जनयुद्धको कथालाई लिएर ‘तपाईं’ उपन्यास लेख्नुभयो । उक्त उपन्यास प्रकाशन पनि भयो तर दुर्भाग्य ! उक्त उपन्यास बजारमा आएको पत्तै पाएनन् पाठकले । अथवा भनौँ, उक्त उपन्यास धरावासीकै शब्दमा ‘फ्लप’ भयो । उहाँलाई लागिरहेको छ, ‘तपाईं’ पुनः प्रकाशन गरूँ ।

धरावासी निबन्धबाट आख्यानमा छिरेपछि आख्यानको पनि उपन्यासमा यसरी जम्नुभयो कि उहाँलाई अब उपन्यासले छाड्दै छाडेनन् । अर्को उपन्यास पनि आयो– ‘टुँडाल ।’ टुँडाल कुनै अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा लेखिएको हो तर त्यसमा नेपाली समाज र संस्कृतिको पक्ष उजागर छ । यही उपन्यासले धरावासीलाई देश पनि घुमायो र विदेश पनि उडायो । ‘टुँडालले मलाई युरोप घुमायो’, धरावासी भन्नुहुन्छ, ‘युरोपबाट फर्किएर फेरि दुईवटा उपन्यास लेखेँ– गेष्टापो र कागजको मान्छे ।’

यहीबीच केशवकुमार बुढाथोकी, जो धरावासी स्कुल पढ्दा शनिश्चरेका प्रधानपंच हुनुहुन्थ्यो, जसले आफ्नो घरमा इलाममा राखेर धरावासीलाई आईएड पढाउनुभएको थियो, उहाँले सुवर्णशम्शेरबारे पुस्तक लेख्न सुझाउनुभएछ । ‘सुवर्णशम्शेर,निष्ठाको राजनीतिक यात्रा’ पुस्तक त्यसैको परिणाम थियो । अब धरावासी साहित्यकार मात्र नभएर राजनीतिक पुस्तक लेखक पनि बन्नुभयो ।

बीचमा अमेरिका जानुभयो धरावासी । पाँच वर्ष अमेरिका बस्दा पाँचवटै पुस्तक लेख्नुभयो– दुई उपन्यास, दुई नियात्रा र एउटा सैद्धान्तिक पुस्तक ‘लीलाबोध ।’

धरावासीको एउटा निबन्धको पाण्डुलिपि साझा प्रकाशनमै प्रकाशनको पर्खाइमा छ ।

पत्रकारिता यात्रा

धरावासीको साहित्यलेखनसँगै पत्रकारितामा पनि रुचि थियो । झापामा तारा बरालले ‘साप्ताहिक विचार’ नामक अखबार चलाउनुहुन्थ्यो, २०४० सालतिर । धरावासी शिक्षक नै हुनुहुन्थ्यो । उक्त पत्रिका ‘कांग्रेसी पत्रिका’ भनेर चिनिन्थ्यो । वास्तविक नाममा लेख्न निकै गाह्रो थियो । पंचायतको निशानामा पर्ने खतरा हुन्थ्यो भने भएको अस्थायी जागिर पनि गुम्ने खतरा हुन्थ्यो । तर, उक्त पत्रिकाको बजार भने निकै राम्रो थियो ।

उहाँले उक्त पत्रिकामा शनिश्चरेबाटै नामविना रिपोर्टिङ गर्नुभयो ।

२०४३ सालमा कृषि विकास बैंकमा नाम निस्कियो । यसपछि इलाम सरुवा भयो उहाँको । इलामबाट पनि डेढ वर्ष रिपोर्टिङ गर्नुभयो, विनानाम । यसपछि भद्रपुर सरुवा भयो । भद्रपुर आएपछि उहाँले स्तम्भलेखन सुरु गर्नुभयो । उसबेला सोही पत्रिकामा राजेश ढुंगानाले ‘मुक्त पातो’ स्तम्भ लेख्नुहुँदोरहेछ । बीचमा राजेशले उक्त स्तम्भ लेख्न छाड्नुभएछ । सोही स्तम्भलाई धरावासीले निरन्तरता दिनुभएछ ।

‘निकै कडा राजनीतिक टिप्पणी लेखिन्थ्यो त्यो स्तम्भमा’, धरावासी सम्झनुहुन्छ, ‘र, सबैभन्दा धेरै पढिने पनि त्यही स्तम्भ हुन्थ्यो ।’

पंचायतको बेला, कृषि बैंकको जागिरे, वास्तविक नाममा लेख्ने कुरै थिएन । उहाँले ‘अव्यय’ नाममा उक्त स्तम्भ लेख्नुभएछ । तर, प्रकाशक÷सम्पादक तारा बरालले भने अव्यय आफैँ भएको बताउने गर्नुहुँदोरहेछ– धरावासीलाई अप्ठ्यारो पर्ला भनेर ।

पाँच वर्ष लेखेपछि २०४६ सालको राजनीतिक परिवर्तनपछि भने ‘मुक्त पातो’ लेख्ने ‘अव्यय’ म नै हुँ भनेर धरावासीले लेख्नुभएछ ।

२०५० सालमा पुरुषोत्तम दाहालले रेडियो नेपालमा चलाइरहनुभएको लोकप्रिय कार्यक्रम घटना र विचारका लागि काठमाडौंबाहिरबाट १२ जना स्ट्रिङ्गर खोज्ने कुरा भएछ । भरत भुर्तेलले नागरिकता बोकेर काठमाडौं हिँड भन्नुभएछ धरावासीलाई । धरावासीले रेडियो नेपालमा निवेदन दिएर छनोट हुनुभयो र घटना र विचार र परिवेश कार्यक्रमका लागि झापाबाट रिपोर्टिङ गर्नुभयो ।

धरावासीको अबको यात्रा भने कृषि विकास बैंकको जागिर, साहित्यलेखन र विभिन्न पत्रपत्रिकामा स्तम्भलेखनमा लाग्यो । स्पेसटाइम, नेपाल समाचारपत्रलगायतका अखबारमा स्तम्भ लेख्न थाल्नुभयो उहाँले । सक्रिय पत्रकारिताबाट केही टाढा रहनुभयो धरावासी ।

कृषि विकास बैंकमा २४ वर्ष जागिर खाएर अवकास लिनुभएका धरावासी अहिले भने पूर्णकालीन लेखक भन्न रुचाउनुहुन्छ ।

याे पनि 

दुखैदु:खको पहाडमा उभिएका कृष्ण धरावासी