सोह्र श्राद्ध : धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष

सोह्र श्राद्ध : धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  भदौ २७, २०७६

नेपाली हिन्दुहरूको महान् चाड वडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँको उल्लास र चटारो देश विदेशमा पनि बढिरहेको देखिन्छ । दशैँको सन्दर्भ आउँदा वडादशैँका विभिन्न चरण छन् । जब सोह्र श्राद्ध सुरु हुन्छ, तब दशैँ र तिहार आएको उत्साह सुरु हुन्छ । सोह्र श्राद्ध सकिनेवित्तिकै नवरथा सुरु हुन्छ र यससँगै वडा दशैँ भित्रिन्छ भन्ने ठानिन्छ ।

सोह्र दिनसम्म चल्ने सोह्र श्राद्धमा आफ्ना दिवंगत पितृहरूलाई सम्झिने गरिन्छ । वास्तवमा सोह्र श्राद्धको धार्मिक, सांस्कृतिक पक्ष के हो त ? प्रा.डा. देवमणि भट्टराईसँग लोकसंवादले गरेको कुराकानी प्रस्तुत छ ।

आफ्ना पितृहरूलाई श्रद्धापूर्वक सम्झिने काम हो श्राद्ध । श्राद्धमा आआफ्नो परम्पराअनुसार कसैले पिण्ड दान दिन्छन्, कसैले ब्राह्मण भोजन गराउँछन् । र, हामी शुक्ल यजुर्वेदीहरूका लागि पिण्ड दान नै विशेष गरेर मुख्य कर्म हो । हामीले पिण्ड दान गर्नै पर्छ । श्रद्धापूर्वक आफ्ना पितृहरूलाई आफूले जुटाएका सामग्रीहरू समर्पित गर्ने भाव नै श्राद्ध हो ।

पितृ भन्नेवित्तिकै हाम्रा मातापिता आदिले गरेका समस्त पितृहरू कर्ताको आत्मामा अदिष्ठित भएर आउँछन् महालयमा । महालय भनेको एक किसिमको पर्व हो । त्यो पर्वमा सबै पितृहरूजतिलाई हामीले तर्पण दिइन्छ, जति हामीसँग सम्बन्धित हुन्छन् । महा भनेको महान् र आलय भनेको मेला । जस्तोः पितृहरूको भेटघाट हुने, मेला हुने, पर्व मनाउने भएकाले यो महालय पर्वमा हामी महालय श्राद्ध गर्छौं । यसमा हाम्रा समस्त पितृहरू आउने गर्छन् ।

सामान्यतया यो आश्विन कृष्ण प्रतिपदादेखि लिएर आश्विन शुक्ल प्रतिपदासम्मको सोह्र दिनको समयलाई महालय भनेर भनिन्छ । प्रतिपदाको दिन आफ्ना पितृहरूको तिथिहरू गरियो र त्यो दिनेचाहिँ सोह्रै दिनसम्म गर्ने पक्ष छ । पञ्चमीदेखि गर्ने पनि पक्ष छ । सकिन्छ सोह्रै दिन गर्ने, सकिँदैन भने पञ्चमीदेखि गर्ने, सकिँदैन सृष्टिदेखि गर्ने, सकिँदैन अष्टमीदेखि गर्ने, दशमी, एकादशीदेखि गर्ने पक्षहरू छन् । त्यो पनि सकिँदै सकिँदैन भने, ती सोह्र दिनमध्ये आफ्नो पिताको जुन तिथि हो, सबैलाई सम्झिएर गर्ने जतिलाई तर्पण दिइन्छ, त्यतिलाई पिण्ड दिइन्छ ।

हाम्रो सनातन वैदिक धर्मले के भन्छ भने, जो कर्ता छ, त्यसको कर्ताको श्राद्धको दिन उहाँहरू ढोकामा आएर प्रतीक्षा गर्नुहुन्छ । श्राद्ध गरिसकेपछि उहाँलाई पिण्ड दिइन्छ, तर्पण दिइन्छ र त्यसपछि उहाँहरू सन्तुष्ट भएर आशीर्वाद दिएर जानुहुन्छ । त्यो कथमकदाचित महालय पक्षमा बिरामी इत्यादिका कारणले हुन सकेन भने पञ्चमीसम्म गर्नुपर्‍यो, त्यो पनि सकिएन भने अष्टमी, द्वादशीका दिन गर्नुपर्‍यो र त्यो पनि सकिएन र बाँकी छ भने कार्तिकको मसान्तभित्र जुराएर गर्नुपर्छ । त्यो पनि गर्न सकिएन भने मंसिर १ गतेदेखि उता फेरि पितृहरू निराश भएर फर्किन्छन् भन्ने छ ।

त्यो फेरि गर्न मिल्दैन, त्यो नमिल्ने भएकाले अब के गर्ने भने त्यसका लागि एउटा वैदिक मन्त्र छ । त्यसलाई १० महिनासम्म अर्थात् अर्को महालय जहिलेसम्म आउँदैन, त्यहाँसम्म त्यो मन्त्र बिहान, बेलुका जाप गर्नुपर्छ अनि मात्रै १० महिना जाप गरेपछि त्यो महालय गर्न नभ्याएको, नसक्दा कारणवस त्यस्तो गर्दाखेरि पनि त्यसको निराकरण हुन्छ भनेको हुनाले महालय श्राद्धलाई एउटा पर्वको रूपमा र यसलाई गर्नै पर्ने कर्मको रूपमा, कर्तव्यको रूपमा लिइएको छ ।

चाडपर्वको सन्दर्भमा हाम्रा देवकार्य र पितृ कार्य मुख्य दुई कार्य हुन्छन् । अहिलेको महालय श्राद्धको सन्दर्भचाहिँ दशैँसँग जोडिने हुनाले दशैँ भनेको अत्यन्तै ठूलो शक्ति संचयको पर्व हो । त्यो शक्ति संचयको पर्व भएकाले त्योभन्दा पहिला पितृहरू तृप्त गर्ने, आशीर्वाद लिने र त्यसपछि म शुभकर्म गर्दै छु भनेर एक किसिमको पितृहरूसँग अनुमति लिनुपर्ने हुन्छ ।  र, अनुमति लिँदाखेरि ती सीमित पितृहरूबाट मात्रै नभएर आफूसँग सम्बन्धित सबै पितृहरूबाट अनुमति लिनुपर्ने भएकाले हामीले पहिला पितृहरूलाई तृप्त गर्ने अनि त्यसपछि उत्सव मनाउने भएकाले दशैँको उत्सव, टीका, प्रसाद, जमरा आदि प्रसंगहरू जोडिन्छन् ।

नियमित अथवा एउटा तिथि परेको श्राद्ध एक जनाको मात्रै हुने भयो तर महालयमा चाहिँ सबै पितृहरूलाई मानिन्छ । त्यति भएर मात्रै भएन उनीहरूलाई तर्पण पनि दिने र पिण्ड पनि दिनुपर्छ ।

शास्त्रीय मान्यताअनुसार सनातन वैदिक धर्मले सबैलाई आफ्ना पितृहरू तृप्त गर्ने, श्रद्धा गर्ने, आफ्नो गच्छेअनुसार पितृ कर्मको रूपमा पाटी, पौवा, धर्मशाला बनाउने गरिन्छ । त्यसै यसमा आधिकारिक रूपमा भन्दा पनि जुन पिताको पुत्र हो, अथवा आफ्ना बुबाआमाको जो हो, त्यो सबैका लागि अधिकार छ । गर्ने विधि सबैका आआफ्ना परम्पराअनुसार होलान् तर मान्नचाहिँ सबैले आफ्ना पितृहरूप्रति केही न केही समर्पण गरेर, त्याग गरेर, कृतज्ञता ज्ञापन गरेर उहाँहरूबाट आशीर्वाद लिने परम्परा छ । प्रक्रियाहरू मात्रै केही फरक हुन सक्छन् ।

जस्तो : हाम्रो सनातन वैदिक धर्मले त सिधा दान आदि गरेर गर्ने परम्परा छ । नेवारहरूको विशेषगरी गाईको पूजा गर्ने र उनीहरूको चलनअनुसारको केही न केही पद्धतिगत रूपमा फरक कुराहरू हुन सक्छन् ।

शास्त्र त मूल रूपमा वैदिक भनेको एक अर्ब ९५ करोड वर्ष पुरानो वैदिक शास्त्र छ, लिखितमा त्यो पनि । त्यसमा अलिअलि हाँगाहरू फाट्दै छिन्न हुँदै जादाँखेरि केही कुरा अलिअलि वरपर मात्रै भएका हुन् । मूलतः मान्ने स्रोत त एउटै हो । पितृ मान्यतामा कुनै फरक छैन । गर्ने प्रक्रियामा थोरथोरै फरक छ ।

अहिले मान्छेमा आस्था बढेको छ । तर, कस्तो आस्था भन्दाखेरि अहिले मान्छे यति व्यस्त भयो कि उसले भनेको जसरी गर्न नपाएको मात्रै हो, भित्रैदेखि गरौँ भन्ने भावना नभएको होइन । समय दिन नसकेको हो । त्यसैले यस्ता कर्म त्यस्तो न्यून भएको जस्तो लाग्दैन मलाई ।

जस्तो : श्राद्धका लागि पात किनेर ल्याउनुपर्ने, त्यसपछि पातहरू जंगलबाट ल्याउनुपर्ने, त्यसपछि आफैँले गाँस्नुपर्ने, यी यावत कुराहरूका लागि अहिलेको मान्छेको व्यस्तताले ती सबै कुराहरू सम्भव भएन । किनेर भए पनि त्यो मान्छेले काम चलाएको छ । जसरी भए पनि कामचाहिँ चलेको छ । तर, यसलाई व्यवस्थित रूपमा कसरी गरौँ भन्ने उसलाई पनि जिज्ञासा छ । उसलाई समयले त्यो दिएको छैन । त्यसैले जे भएको छ, कमसे कम पितृको नाममा त्यो राम्रोसँग चलेको छ भन्नुपर्छ ।

पद्धति अनि विधि एउटै छ । वैदिक शास्त्र एउटै छ तर परिस्थितिअनुसारले भएको छ । त्यस्तै, अहिलेको अवस्थामा अलिकति भिन्नै भए पनि कामचाहिँ भइरहेको छ ।

श्राद्ध धान्नै नसक्ने विधि होइन किनभने ‘ठीक छ तिमीसँग सम्पत्ति छैन, तिमीसँग केही पनि छैन । सागसम्म भए पनि पितृका नाममा समर्पण गरेर खाऊ, त्यो पनि श्राद्ध हो । गाइलाई घाँस देऊ, त्यो पनि श्राद्ध हो’ भनेको हुनाले हामीले अहिले मान्छे बोलाउने, छुवाछुतको कुरा गर्ने जस्ता नगरेर बरु सीमित रूपमा गर्ने, श्रद्धा भक्तिपूर्वक गर्ने, पितृलाई एकदमै हृदयदेखि सम्झिने भनेको हुनाले त्यहाँ हामीले धेरै मान्छे बोलाउनुपर्ने आवश्यकता हुँदैन । त्यसैले श्राद्ध धान्नै नसक्ने स्थितिमा भएको जस्तो मलाई लाग्दैन ।