म स्वाभिमानी स्वास्नीमान्छे

म स्वाभिमानी स्वास्नीमान्छे

आस्था केसी  |  साहित्य  |  भदौ २७, २०७६

मनुस्मृतिको व्याज खाएर
नघोकाऊ सती, सावित्रीका कथाहरू
वर्तमानमा कोर्रा लगाएर
नबुझाऊ भविष्यका पहेलीहरू ।

म स्वाभिमानी स्वास्नीमान्छे हुँ ।

समयको मूलप्रवाहमा बाँध लगाएर
नसिकाऊ कुरूप धर्मशास्त्रका पाठ
इतिहासको बन्दरगाहमा हराइरहेका
खण्डहर तिम्रा सन्दर्भहीन ग्रन्थहरू
भो नसिकाऊ– सभ्यताहीन नैतिकताहरू ।

रामका आरोपहरूले मात्रै
जल्दैनन् कोही सीताहरू अब
र, चल्दैनन् हुकुमहरू रावणका
लड्दालड्दा थाकेर
हार मञ्जुर नभएपछि
अरुणमा हामफालेझैँ गरी
अनुयायीहरूसँगै अब अरुणहरूमा
हामफाल्दैनन् कोही योगमायाहरू
बरु युगौँदेखिको साहस बटुलेर
भीषणतामा जीवन खोजिरहेछन्
कुमारी बुढा र दिलमायाका अनुयायीहरू ।

म गतिवान् नदी हुँ युगको
मूल प्रवाहमा बाँध लगाएर
मेरो वेगलाई ब्रेक नलगाऊ
मेरो अस्तित्वमा धावा बोलेर
अस्मिताको धज्जी नउडाऊ ।

म पवन हुँ– नयाँ सन्देशको
खुसी हराएका ओठभित्र पसेर
मुटुका पत्रपत्र स्पर्श गर्दै
कुदिरहेछु भ्रमका पर्दा च्यात्न ।

व्युँझिरहेछन् निद्राहरू
र, विप्लव बोलिरहेछन्
नूतनताका खोजीहरूमा ।


म सुरुवात हुँ संभावनाको
सृष्टिका चक्रलाई ‘इश्यु’ बनाएर
आदिम रागहरूमा
नपढाऊ कोकशास्त्रका पहेलीहरू ।

बादशाहका हुकुमी फर्माइसहरू
अब इतिहासमा मात्र संभव छ
आधा आकाशलाई हमेशा पन्छाएर
रथको एक पाङ्ग्रालाई जहिल्यै छेउ लगाएर
जब सृष्टिको निरन्तरतामा
खडा गरायौ एक प्रश्न चिह्न
कि स्त्रीले तिमीभन्दा जहिल्यै
एक कदम पछाडि हिँड्नुपर्छ
अथवा स्थापित बनाउन खोज्यौ
एउटा सफेद झूट
कि महिला पुरुषभन्दा तल्लो दर्जाको मान्छे हो ।

म त गर्जन हुँ– सत्यको
तिम्रो वर्तमान धराशायी बनाउँदै
धज्जी उडाएर अट्टहास गर्ने
तागत छ मसँग ।

म त स्वाभिमानी स्वास्नीमान्छे हुँ
युगका विरुद्ध हुङ्कार गर्नसक्छु
तिम्रो बालुवाको महल
जुन कुनैबेला ढल्न सक्छ
– मेरो हुङ्कारले ।

युगको गर्जनसँगै स्वाभिमानी नारीहरू
जाग्दै विप्लव
अँगालिरहेछन्
युद्धका विभीषिकाहरू ।