श्राद्ध, श्राद्धका प्रकार र विधि

श्राद्ध, श्राद्धका प्रकार र विधि

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २८, २०७६

काठमाडौं । श्राद्धको अर्थ हो श्रद्धा । पितृहरूलाई श्रद्धापूर्वक सम्झिएर उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु नै श्राद्ध हो । हिन्दु परंपरामा दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्य श्राद्ध हो । 

हिन्दु परंपरामा जन्म दिने मातापिताको जीवित हुँदा सेवा गर्नु, हेरचाह गर्नु, सम्मान र आदर गर्नु सन्तानको कर्तव्य मानिन्छ । जीवित हुँदा सेवा, सम्मान गरेजस्तै मातापिताको मृत्युपश्चात् दाहसंस्कार र कृया कर्म गर्नु तथा मृतक पितृहरूको सम्झना गर्दै श्राद्ध, स्मृति कार्य गर्नु पनि सन्तानको कर्तव्य हुन्छ ।

हिन्दु शास्त्रले पितामातालाई देवता समान मानेको छ । पितामाताबाट नै आफ्नो सृष्टि वा जन्म भएकाले र पितामाताकै हेरचाह, रेखदेख, ममताबाट आफू मानिसको रूपमा हुर्किने, प्रारम्भिक शिक्षा दीक्षा लिने भएकाले पितामातालाई नै प्रथम गुरु पनि मानेको छ । यसर्थ पनि आफ्ना पितामाताका निमित्त श्रद्धा सुमन चढाउने कार्यलाई  हिन्दु धर्मले महत्त्व दिएको छ । 

शास्त्रका अनुसार पहिलो पुस्ता पितामाता वसु स्वरूप, दोस्रो पुस्ता हजुरबुबा हजुरआमा रुद्र स्वरूप, तथा तेस्रो पुस्ता बुढो हजुरबुबा बुढीहजुरआमा आदित्य स्वरूप भएर श्राद्ध कर्म स्वीकार गर्छन् भन्ने मान्यता छ । 

हिन्दु शास्त्रमा हाम्रा जन्मदेखि गरिने विवाह, व्रतबन्ध, आशौच आदि विभिन्न कर्महरूमा पनि श्राद्ध गर्नुपर्ने उल्लेख छ । शास्त्रमा श्राद्धका धेरै भेद बताइएको छ तीमध्ये एकोद्दिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध, आभ्युदयिक श्राद्ध र तीर्थ श्राद्ध बढी प्रचलनमा छन ।

एउटा मात्र पितृको उद्देश्य लिएर गरिने श्राद्ध एकोद्दिष्ट, धेरै पितृको सम्झनामा गरिने पार्वण या महालय श्राद्ध, माङ्गलिक कार्य गर्नुअघि गरिने श्राद्ध आभ्युदायिक श्राद्ध वा वृद्धि श्राद्ध भनिन्छ । कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्धलाइ तीर्थ श्राद्ध भनिन्छ । 

प्रत्येक महिनामा पर्ने औंसी तिथिमा पितृहरुको श्राद्ध गर्नुपर्ने नीति शास्त्रमा उल्लेख छ । आश्विन कृष्णपक्ष प्रतिपदादेखि औँसीसम्मका पन्ध्र र पूर्णिमाको एक दिन गरी सोह्रवटा तिथिमा श्राद्ध गरेमा पार्वण श्राद्ध मानिने शास्त्रमा उल्लेख छ । शुक्ल वा कृष्ण जुनै तिथिमा बितेका भए पनि सोही तिथिलाई आधार मानेर प्रतिपदादेखि औँसीसम्मका पन्ध्र दिनमा पार्वण श्राद्ध गरिन्छ । पूर्णिमा तिथिमा गर्नुपर्ने श्राद्ध पनि औँशीमा गर्ने चलन छ । 

पितृपक्षमा श्राद्ध गर्नेले कपाल, नङ आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्षभर नै सात्विक भोजन गर्नुपर्ने नियम छ । पितृपक्षमा प्रतिप्रदादेखि औँशीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्छ । यस पक्षको चतुर्दशी तिथि र संयोगवश मघा नक्षत्र परेमा श्राद्ध गर्नु नहुने शास्त्रको भनाइ छ ।

श्राद्धमा प्रमुख रूपमा ब्राह्मणपूजन, भोजन, पिण्डदान र दक्षिणादान गरिन्छ । ब्राह्मणहरूले भोजन गरुन्जेल कर्ताले प्रतिनिधि ब्राह्मणको अगाडि पितृसूक्त पाठ गर्ने नियम छ । 

श्राद्ध गर्ने अघिल्लो दिन श्राद्धकर्ताले केश मुण्डन संस्कार गरी एक छाक मात्र खानुपर्छ । केश मुण्डन गरी एक भक्तको नियम ग्रहण गरेपछि श्राद्ध आरम्भ भएको मानिन्छ । श्राद्ध सुरु गर्नुअघि श्राद्ध गर्ने अनुमति मिलोस् भनेर प्रायश्चित गोदान गर्ने विधान छ । एक भक्त बसेका व्यक्तिकी विवाहिता पत्नी नै श्राद्धपाक हुनुपर्ने नियम छ । 

एकोद्दिष्ट वा तिथि श्राद्ध रोकिएमा लगत्तै आउने अर्को महिनाको त्यही तिथिमा, कृष्ण पक्षको  अमावस्या (औँशी) तिथिमा गर्ने चलन छ । पार्वण (महालय) रोकिएमा जुन कारणले रोकिएको हो, त्यो मुक्त हुनासाथ गर्ने चलन छ । 

चन्द्रमानअनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन कृष्ण अमावस्य तिथिसम्मका सोह्र तिथिमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो ।

शास्त्रले आश्विन कृष्णपक्ष पितृहरूलाई तृप्त तुल्याउने समय मानेको छ, त्यसैले यसलाई पितृपक्ष भन्दछन् । पन्ध्र दिनको यस पक्षमा मानिसले आफ्ना पितृहरूलाई प्रति दिन जल तर्पण गरेर मृत्युतिथिमा श्राद्ध गर्छन् ।

अविवाहित अवस्थामा मृत्यु भएकाको भने आश्विन कृष्णपक्ष पञ्चमी तिथिमा श्राद्ध गर्नु उचित मानिन्छ । कुलका सबै दिवङ्गत महिलाहरूको आश्विन कृष्णपक्ष नवमी तिथिमा श्राद्ध गरिन्छ । यो माताको श्राद्धका लागि उत्तम मानिन्छ । सन्यास लिएकाहरूको आश्विन कृष्णपक्ष चतुर्दशी तिथिमा श्राद्ध गरिन्छ । दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्युलगायतका अकाल मृत्युवरण भएकाले आश्विन कृष्णपक्ष अमावस्या तिथिमा सबै पितृहरूको श्राद्ध गर्नुपर्ने उल्लेख छ ।

श्राद्धमा ब्राह्मण चाहिने भएकाले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण थापिन्छ । पहिले पार्वण श्राद्ध गर्दा ब्राह्मण नै अंगाडि राखेर पूजा गर्ने परंपरा रहेको तर यो अचेल हराउँदै गएर श्राद्धमण्डपमा कुशको ब्राह्मण राखिएको हो । 

ब्राह्मण निमन्त्रणापछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चार जना ब्राह्मणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकरदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम उच्चारण गर्दै विधिपूर्वक पिण्डदान गरिन्छ । गाईको दूधमा पकाएको खीर वा मुछिएको जौको पिठोको डल्लोलाई पिण्ड भनिन्छ । पितृहरूका लागि अति प्रिय खाद्यवस्तु मानिन्छ । 

एकोद्दिष्ट श्राद्धमा ठूलो वेल, पार्वण श्राद्धमा ठूलो अमला जत्रो तथा तीर्थ श्राद्धमा शमीपत्र प्रमाणको बनाई पिण्डवेदीमा कुशमाथि तुलसीपत्र, कालो तिल, मह, घिउ मिसाई श्राद्ध विधानअनुसार कर्ताले दाहिने हातको साहिँली औँलामा कुशको पवित्र लगाई पितृको नाम, गोत्र प्रवर र वसुरुदादित्य स्वरूप उल्लेख गरी वेदीमा पिण्ड अर्पण गर्नुपर्छ । पार्वण श्राद्ध अपराह्नमा गर्नू भन्ने शास्त्रहरुको भनाइ छ ।