'आगोको वर्णमाला'मा कविताको वर्णमालाको खोजी

'आगोको वर्णमाला'मा कविताको वर्णमालाको खोजी

शैलेन्द्र अधिकारी  |  साहित्य  |  भदौ २८, २०७६

वर्तमान समयमा उत्तरआधुनिकताको दुश्चक्रबाट पृथक कम कुराहरू मात्रै छन् । कविता पनि उत्तरआधुनिक साम्राज्यको दलदलमा फस्दै गइरहेको छ । वर्तमानमा सबैभन्दा धेरै लेखिने र कम पढिने विधामा कविता सीमित भएको छ । अझ कविता कृति किनेर पढ्ने प्रचलन खस्कँदो छ, जुन दुखद छ । 

धेरै कारणहरू छन्, कविताको यो अवस्था आइपुग्नुमा । यो भर्चुअल जमानामा निकै धेरै लेखकले पाठकको बौद्धिक अवस्थाको मुल्याङ्कन गर्नै सकिरहेका छैनन् । सुन्दा नमीठो लागे पनि सत्य यही हो । कविले कवितामा जे दिइरहेको छ, पाठक त्योभन्दा धेरै अगाडि छ । लेखक र पाठकको तादात्म्य यहीँनेर मिलिरहेको छैन । जन्मजात प्रतिभाका कवि लेखकहरू यस्तो अवस्थामा पनि आफ्नो स्थान सुरक्षित बनाएर बसेका छन् । उनीहरूको कविता कृति किनिन्छ, पढिन्छ, चर्चा गरिन्छ । आर्जित प्रतिभाका कविहरू औसतमा छन् । त्यो नै उनीहरूको चरमोत्कर्ष पनि हो । 

बिग्रिएको र बिगारिएको छ चर्चाका लागि मात्रै लेख्नेहरूले, पुरस्कारका लागि लेख्नेहरूले, सामाजिक संजालमा लाइक, कमेन्ट प्राप्त गर्न र बढाउन लेख्नेहरूले कविताको स्तर कायम गर्न सकिरहेका छैनन् । हुनत यिनीहरू 'फुलटाइम' लेखक, कवि होइनन् तर यिनीहरू कविताको एक सुन्दर संसारका ऐँजेरु भने अवश्य हुन् । 

सैबीचमा 'आगोको वर्णमाला' पढेँ । जीवन खत्री चिनेकै कवि हुन् । अहिले साधनामा लागेछन् । अलिक अगाडिसम्म साहित्यिक अभियानमा लाग्थे । साहित्य लेख्नु र साहित्यिक अभियानमा लाग्नु फरक कुराहरू हुन् । अभियानमा लाग्दा नेता भइएला, कार्यकर्ता भइएला वा 'तपाईंको कृति/कविता गज्जब छ' भन्ने प्रशंसाका तालीहरू पाइएला र एकछिन गर्वले छाती फुलाइएला तर आफ्नो हैसियत आफैँलाई थाहा हुन्छ । त्यो प्रशंसा वा तालीको बोझ गह्रौँ हुन थाल्छ । त्यसैले उत्कृष्ट साहित्यकारलाई अभियानको कुनै जरुरी हुँदैन, छैन । उसले बुझेको हुनुपर्छ- साहित्य साधना हो, नारा होइन, प्रचार होइन र ताली त विल्कुलै होइन । 

उनन्चास थान कविताको सङ्ग्रह 'आगोको वर्णमाला'मा प्रथमतः विषयको विविधता रहेको छ । कविताको परंपरागत विषयलाई छोडेर कवि अगाडि बढेका छन् । तर, प्रस्तुतिको शैलीमा खासै नवीनता देखिँदैन । सरल, ग्राम्य जीवनका बिम्बलाई सहज किसिमले कवितामा प्रस्तुत गरिएकाले कविताले कृत्रिमताको बोझ बोकेर हिँडेको आभास हुँदैन । कतिपय ठाउँमा अनुप्रासयुक्त शब्द चयनले पनि कवितामा मधुरता थपेको देखिन्छ । पछिल्लो समयका कविहरूमा अनावश्यक बिम्बको प्रयोग गरेर शब्दको थुप्रोलाई कविता भनेर हिँड्ने रोगबाट कम्तीमा यी कवि मुुक्त देखिएका छन् । 

समाजमा विभेद छ, चाहे त्यो वर्गको रूपमा देखियोस् कि लिङ्गको रूपमा । जातको रूपमा देखियोस् कि भूगोलको रूपमा । एक 'पर्फेक्ट' कविका लागि कविताको विषय यहीँ छ, बिम्ब पनि यहीँ छ, शैली र शिल्प पनि यहीँ छ । 

कवितामा कवि आफू बाँचेको युगको सही र कलात्मक चित्रण गर्न सक्षम छ कि छैन भन्ने कुराले निकै धेरै कुराको उत्तर दिन्छ । आफू बाँचेको समाजको चित्रण जीवनले कलात्मक तवरले गरेका छन् । कवितामा वर्तमान मानिसको विसङ्गत जीवनको चित्रण छ, यान्त्रिक जीवन भोगाइको कथा छ र मानिसको आधुनिकताप्रतिको ढोङको चित्रण गरिएको छ ।

कसलाई थाहा छैन ? 

शहर कागजको फूल फुलाउँछ

अत्तर छर्कन्छ र लोभ्याउँछ भमरा

शहरमा व्यापारीहरू कागजकै फूल बेच्छन्

र, किन्छन् ग्राहकहरू पनि !

कवितामा सीमान्तकृत समुदायको कथा प्रस्तुत भएको देखिन्छ । देशले जीवन नभेटेर, आफन्तजनको अपनत्व नभेटेर, अझ सिधा भाषामा भन्दा सरकारको अभिभावकीय भूमिका नभेटेर परदेशमा बैँससँग जीवन साटिरहेका 'सबाल्टर्न'हरूको मर्माहत जीवनी कवितामा प्रस्तुत भएको छ । 

हातभरि औँठी लगाएर, शनि सङ्कटाको मन्दिर धाएर बनेका प्रगतिशीलहरूप्रति कवितामा व्यङ्ग्य गरिएको छ । कवितामा ईश्वरीय सत्ताप्रति प्रश्न उठाइएको छ । धर्मको नाममा केही धर्मभिरुहरूले सोझासिधामाथि गरेको अन्यायको कथा कवितामा बिम्बात्मक शैलीमा प्रस्तुत गरिएको छ ।  

जीवनका कवितामा समसामयिक विषय पनि अभिव्यक्त भएको छ । परिवर्तनको आकांक्षाले शहीद बनेका सपूतको रगतले शासकलाई धिक्कारिरहेको सन्दर्भ, आमाको ठेला सम्झेर परदेशमा पसिना बगाइरहेको छोरोको कथा, सपना पनि देख्न नसकेर सास फेर्नैै मात्र बाँचिरहेका असङ्ख्य युवाहरूको जीवनीलाई पनि उनले कवितामा सुन्दरताका साथ उनेका छन् । 

जीवनका कविताका केही सीमाहरू पनि यस किताबमा भेटिन्छ । ‘आमाहरूको गन्थन’ शीर्षकमा आमाले छोरो कविता गर्नी भनेर हिँडिरहेछ भन्दै कवि हुनु आमाहरूले नरुचाउने वा लिकबाट बाहिरको जीवन बाँच्नु हो भन्ने कमसल सन्दर्भ प्रस्तुत गरिएको छ । विश्व परिप्रेक्ष्यका विषय कवितामा अटाउनु पर्थ्यो, त्यसबाट पनि कवि थोरै चुकेका छन् । सधैँ कविले यो भएन, त्यो भएन भनेर गुनासो मात्रै गरिरहने हो र ? 

अबको कविता भूपिको युगमा छैन, रिमालको युगमा छैन न त हरिभक्त कटुवालको युगमा नै छ । बिम्बको जालोमा राखेर आफैँले पनि नबुझिने कविता लेख्ने मोहन कोइरालाको समय पनि यो होइन । खासमा जीवनले थोरै बुझेका पनि छन् र नबुझेका भए बझ्नुपर्छ पनि– कुनै अमुक कविको जस्तो शैली र शिल्पले आफ्नो छुट्टै परिचय बनाउँदैन । आफू आफैँ जस्तो हुनुपर्छ । जीवन मात्रै होइन, कविता पनि सरल हुनुपर्छ ।  

कविता चित्रकारको क्यानभास जस्तो हुनुपर्ने कि समाजको ऐना जस्तो ? यस्ता प्रश्नहरू कवितामा बकबास हुन् । कविता कविता जस्तो हुनुपर्‍यो । पानीमा मिश्री घोलिएजस्तो पाठकको मनमा थाहै नपाईकन बस्नुपर्‍यो र त्यसको मिठास आउनुपर्‍यो । 'आगोको वर्णमाला' यही मार्गमा थोरै अगाडि बढेको छ तर यात्रा लामो छ । जे होस्, वर्तमानका कविहरूमा जीवनले आफूलाई पनि राम्रै प्रतिस्पर्धीको रूपमा उभ्याएका छन् ।

विधा : कविता

प्रकाशक : युरेका प्रकाशन

पृष्ठ : १६०

कृतिकार : जीवन खत्री

मूल्य : रु. २२५/-