कर्मसिद्धिको आकाङ्क्षा राख्ने मानिसहरू देवताहरूको पूजा आराधना गर्दछन्

कर्मसिद्धिको आकाङ्क्षा राख्ने मानिसहरू  देवताहरूको पूजा आराधना गर्दछन्

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  भदौ २८, २०७६

    कांक्षन्तः कर्मणां सिद्धिं यजन्त इह देवताः ।
    क्षिप्रं हि मानुषे लोके सिद्धि र्भवति कर्मजा ।। १२ ।।

अन्वय र अर्थ – कर्मणां = कर्महरूको, सिद्धिं = सिद्धि, कांक्षन्तः = इच्छा गर्नेहरू, इह = यस लोकमा, देवताः = देवताहरूको, यजन्ते = उपासना गर्दछन्, किन्तु, कर्मजा = कर्मद्वारा उत्पन्न, सिद्धिः = सिद्धि, मानुषेलोके = मनुष्य लोकमा, क्षिप्रं = चाँडै, भवति = हुन्छ, हि = यो निश्चय हो । 

भावार्थ – कर्मसिद्धिको आकांक्षा राख्ने मनुष्यहरू यस लोकमा देवताहरूको पूजा आराधना गर्दछन्, किन्तु मनुष्य लोकमा कर्मको सिद्धि छिटृै हुन्छ पनि ।

विशिष्टार्थ – प्राप्तिको प्राप्ति अर्थात् कैवल्यशान्ति वा सुख दुःखादि द्वन्द्व  विमुक्ति नै  सिद्धि हो । शब्द स्पर्शादि विषयलाई अतिक्रमण गरेर अविषय क्षेत्र चिदाकाशमा प्राणलाई प्रक्षेपण गर्नाले जुन स्थिरभाव आउंछ त्यसैको नाम सिद्धि हो । साधना सुविधाका लागि पहिलो क्रिया, दोस्रो क्रिया, तेस्रो क्रिया प्रभृति गुरूपदिष्ट विविध कर्मको जुन अनुष्ठान गर्नु पर्छ त्यसका पृथक् पृथक् फल छन्, यी सबै नै विभूति हुन् । ती सबै विविध कर्म कर्तव्यको बोध गरेर आदेशपालनको अनुरोधले आफ्नो स्वार्थ सिद्धिको इच्छा नराखेर आचरण गर्नु नै विधि हो । यसो गर्दा नै सिद्धि लाभ हुन्छ । किन्तु जुन साधकले हृदयमा दुर्वलता लिएर क्रियाकालमा तत् तत् कर्मको फल प्रति आसक्ति राखेर कर्म गर्दछन् मन मनै कैवल्य शान्तिको आकांक्षा गर्छन, यस्तो हुँदा तिनीहरूले  ‘इह’ अर्थात् धर्म क्षेत्र कुरुक्षेत्र रूप योगमार्गमा देवताहरूको आराधना गर्नु पर्दछ अर्थात् मनमा आकांक्षा वा कामना रहनाले प्रतिचक्रमा कर्म गर्दै गर्दै एक एक कर्म परिपाक हुँदै जाँदा तत् तत्  कर्मका अधिष्ठात्री देव–देवी साधकको लक्ष्यस्थलमा आविर्भूत भएर काम्यफल दिन्छन् । मनभित्र कामना हेतु बहुभाव विद्यमान हुनाले देव दर्शन भएर पनि बहुभावको बन्धनमा परेर तत् तत् कर्म फलको भोग गर्नु नै पर्दछ, कर्म क्षय हुँदैन, सुकृति लाभ त हुन्छ किन्तु शान्ति लाभ हुँदैन, ‘म’ हुन सक्दैनन् । किन्तु मानुषलोकमा कर्म अनुष्ठित भएको हुँदा सिद्धि अर्थात् प्राप्तिको प्राप्ति जुन कैवल्यशान्ति हो शीघ्र नै प्राप्त हुन्छ ।

मन् = वेद अर्थात् ज्ञान, उ =स्थिति, ज्ञान जसमा स्थित हुन्छ त्यही मनु वा मन हो । यसै मनु वा मनबाट जुन सबै वृत्ति उत्पन्न हुन्छ त्यही मनुष्य वा मानुष हो । यस मनोवृत्तिको उत्पत्ति स्थान नै मानुषलोक हो । भू्रमध्यस्थ आज्ञा नै मनको स्थान हो । मन विशुद्ध अवस्थामा शुद्ध सत्वमय हुन्छ । यस अवस्थामा यस मनले सुषुम्ना अन्तर्गत ब्रम्हनाडी भित्र जुन शुद्ध सत्वमय ब्रम्हकाश छ त्यसलाई आश्रय गरेर तल मूलाधारसम्म व्याप्त भएर प्रकाश पाउंछ, पश्चात् रजोमय प्राणका साथ मिल्नाले नै मन क्रियाशील हुन्छ, अनि त्यसबाट नाना वृत्तिको उदय भएर भ्रू र्भुर्वः आदि लोक समूहको प्रतिपालन भैरहन्छ । यो शुद्ध सत्वमय मनको आश्रय स्थान ब्रम्हाकाश नै मनुष्य लोक हो । यस मनुष्य लोकमा कर्मजसिद्धि शीघ्र हुन्छ अर्थात् क्रियाकालमा, कुनै चक्र प्रति वा आसपासका कुनै वस्तु प्रति लक्ष्य नगरेर एकमात्र अत्यन्त सूक्ष्म ब्रम्हनाडीको आकाशको अवलम्बन गरेर गुरूपदेश अनुसार प्राण चालनं गर्नाले नै त्यसको यस्तो प्रभाव छ कि मनको आकांक्षा मेटिएर विषयसंग टुट्छ र लक्ष्य एक मात्र तारकब्रम्ह नाद विन्दुमा अड्किन्छ । अतः यसबेला मन निरालम्बभावले व्योमाचारी हुनाले तथा अरू कुनै प्रतिबन्धक नरहनाले शान्ति वा कैवल्यस्थिति शीघ्र आउंछ । यो नै एक स्थिर निश्चय हो ।

तेज र चंचलतामय वर्ण नै क्षेत्रिय वर्ण हो । शरीरको रज तम प्रधान अवस्थामा अन्तराकाश कालो मिसिएको रातो रंगले रञ्जित हुन्छ । यस समयमा कुनै विम्ब नै लक्ष्य हुँदैन, जे देखिन्छ त्यो आवछाया–आवछाया अनि चंचलतामय, यो नै वैश्य वर्ण हो । अनि तमः प्रधान अवस्थामा अन्तराकाश गाढा अन्धकारले ढाकिएको हुन्छ त्यस अवस्थामा न प्रकाश न चंचलता, कुनै पनि लक्ष्य हुँदैन, धारण पनि हुँदैन, यही शूद्र वर्ण हो ।


  चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागशः ।
 तस्य कर्तारमपि मां विद्धपकर्तारमव्ययम् ।। १३ ।।

अन्वय र अर्थ – गुणकर्मविभागशः (गुणानां कर्मणां च विभागैः) = गुण तथा कर्मको विभाजन अनुसार, मया = मैले, चातुर्वण्र्य (चत्वारएववर्णाः) = मानव समाजको चार वर्ण विभाग, सृष्टं = सिर्जन गरेको छु, तस्य = त्यसको, कर्तारं = कर्ता भएर, अपि = पनि, मां = मलाई, अकर्तारं = अकर्ता, अव्ययं = अविनाशी, विद्धि = जान ।

भावार्थ – गुण र कर्म विभाग अनुसार मैले समाजलाई चार वर्णमा बिभाजन गरेको छु, त्यसको कर्ता भएर पनि मलाई अकर्ता तथा अव्यय जान ।

विशिष्टार्थ – मानुषलोकमा सिद्धि वा नैष्कम्र्यावस्थाको प्राप्ति शीघ्र हुन्छ, यो सत्य हो परन्तु शक्तिलाभ हुँदैन किन कि वर्ण भेद गरिसकेपछि अधिकारी भेद पनि हुन्छ । ब्राम्हण, क्षत्रिय, वैश्य, शूद्र यी चार वर्ण छन् । यी सबैको सत्व, रज, तम यी तीन गुणको कर्म विभाग अनुसार अलग अलग क्रिया भएको छ । सत्वको कर्म प्रकाश गर्नु हो, रजको कर्म क्रिया गर्नु हो र तमको कर्म क्रियालाई स्थिर गर्नु हो । शरीरमा यी तीन गुण सबै समयमा समान रहन्न् । विषय संसर्ग भेदले मनमा जुन जुन भावान्तर हुन्छ, त्यसमा गुणको पनि तारतम्य हुन्छ । शरीरको सत्व प्रधान अवस्थामा अन्तराकाश शुभ्र ज्योतिले परिपूर्ण हुन्छ । त्यसमा सारा विश्वले स्थिरभावले प्रकाश पाउंछ । यो विश्व प्रकाशक वर्ण नै ब्राम्हण वर्ण हो । शरीरमा सत्व, रज, गुण प्रधान हुँदा अन्तराकाश हल्का रातो रंगले रञ्जित हुन्छ, अनि जे जस्तो प्रतिफलित हुन्छ त्यो सबै चंचलतामय तथा तेजले परिपूर्ण हुन्छ । यो तेज र चंचलतामय वर्ण नै क्षेत्रिय वर्ण हो । शरीरको रज तम प्रधान अवस्थामा अन्तराकाश कालो मिसिएको रातो रंगले रञ्जित हुन्छ । यस समयमा कुनै विम्ब नै लक्ष्य हुँदैन, जे देखिन्छ त्यो आवछाया–आवछाया अनि चंचलतामय, यो नै वैश्य वर्ण हो । अनि तमः प्रधान अवस्थामा अन्तराकाश गाढा अन्धकारले ढाकिएको हुन्छ त्यस अवस्थामा न प्रकाश न चंचलता, कुनै पनि लक्ष्य हुँदैन, धारण पनि हुँदैन, यही शूद्र वर्ण हो ।

साधनापूर्वको अवस्था नै साधकको शूद्र वर्ण हो । जबसम्म यो अवस्था रहन्छ तबसम्म अन्धोले जस्तै शरीरको परिचर्या वा सेवा मात्र हुन्छ, बाहिरको विषय बाहेक भित्रको कुनै केहीमा अधिकार हुँदैन । जब साधनामा प्रवृत्त भएर वायुलाई आकर्षण गरेर एक स्थानबाट अर्को स्थानमा आदान प्रदान गर्न सकिन्छ तब मेरुदण्डका शीरा प्रशिराको जडता विस्तारै विस्तारै नष्ट भएर एक स्वच्छन्दता आउंछ र अन्तरमा एक शक्तिको वृद्धि हुन्छ, त्यसमा क्रमैसंग अंध्यारो हट्दै जान्छ र अन्तरमा नजाने के छ यस्तो एक बोध हुन्छ, अनि शरीरको भित्र बाहिर चंचलताको वृद्धि हुन्छ । साधनामा जबसम्म यो अवस्था रहिरहन्छ तवसम्म साधकको यो वैश्य वर्ण हो । पछि जब श्वास सूक्ष्म भएर श्वेत रक्तिमोज्ज्वल ज्योतिले अन्तर आलोकित हुन्छ तब शरीर र मन दुवैमा एक तेजको संचार हुन्छ, त्यसै तेजले साधनाक्लेश तुच्छ हुन्छ, इच्छानुरूप प्राणको उत्थान पतन हुनाले त्यसको सहायताले चक्र समूहका विविध स्थानहरू प्रस्फुटित तथा दृष्टिगोचर हुन थाल्दछन् । तिनै तिनै स्थानको विभूति वा शक्ति विशेष आफ्नो आयत्तमा आउंदछ । यो अवस्था नै साधकको क्षत्रिय वर्ण हो । अन्तमा यस अवस्थाको परिपाक भएपछि जब रजोगुणको चंचलता र तेज घट्छ र अन्तरको लालिमा हटेर उज्ज्वल श्वेत वर्णको विकास हुन्छ तब शरीर र मन दुबै शान्त, उद्वेग रहित तथा प्रसन्न हुन्छन् । यो अवस्था नै साधकको ब्राम्हण वर्ण हो । प्रणवमूल वेदमा अधिकार पाएर ब्रम्हविद्यालाई पूर्णरूपले प्रशोधित गरेर ब्रम्हबल लाभ गर्नु छ भने साधकले सद्गुरूपदिष्ट क्रियाको अनुष्ठानद्वारा द्विज भएर वैश्य, क्षेत्रिय, ब्राम्हण क्रमैले साधन मार्गको चरम सीमामा आउनु पर्दछ, नत्र भने कसैमा पनि केही हुँदैन । त्यसकारण शास्त्रमा वर्ण भेद पछि अधिकारी भेदको विधान छ । ब्रम्हबल एक विभूति अर्थात् श्रेष्ठतम शक्ति विशेष हो, अतः ब्राम्हण नवनेसम्म कसैलाई पनि त्यो शक्ति लाभ हुँदैन । किन्तु परागति वा मुक्ति शक्ति हैन अवस्था विशेष हो । त्यसकारण यसमा अधिकारी भेद छैन । भक्ति पूर्वक इष्ट मन्त्रको अवलम्बन गरेर जो कोहीले पनि आत्मानुसन्धानको चेष्टा गर्दछ भने ब्राम्हण क्षत्रियको के कुरा ‘स्त्रियो वैश्या स्तथा शूद्राः’ स्त्री वैश्य तथा शूद्र जुन वर्णको वा जुन जातिको भए पनि कुनै भेद छैन उसले परित्राण अथवा कैवल्य शान्ति पाउंछ । साधनमार्गमा गुरूपदिष्ट विधान क्रममा एक मात्र मनुष्य लोक नै ती सबैको आश्रय  स्थल हो ।

यो जुन तीन गुणको कर्म विभाग अनुसार चार वर्ण भएको छ त्यो अहं  ‘’ को नै क्रिया हो । किन कि अहं र अहंत्व यी दुई पृथक् जस्तो लागे पनि वास्तवमा पृथक् छैनन्, त्यस्तै –विशुद्ध चैतन्य र अविशुद्ध चैतन्य पनि दृश्यतः पृथक् भए तापनि वस्तुतः पृथक् छैनन् । चैतन्य नित्य, शुद्ध, बुद्ध तथा अकर्ता हुनाले पनि प्रभुको जुन तत्–त्व अर्थात् माया हो त्यसबाट नै अविशुद्ध भएर क्रम अनुसार स्थूलबाट स्थूलतम विश्वरूप लिएर प्रकट हुनु भएको छ र मिश्रित तीन गुणका चार वर्ण बनाउनु भएको छ ।

    न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा ।
    इति मां योऽभिजानाति कर्मभिर्न स वध्यते ।। १४ ।।
क्रमशः

यो पनि 

ज्ञान र कामना परस्पर विरोधी हुन्

आत्मा मन अनि बुद्धिभन्दा पनि श्रेष्ठ

संसारमा कर्म नै एक मात्र बन्धन हो

‘म’ को जन्म नभएपछि  मरण पनि हुँदैन

मनमा बहुज्ञान रहनेले  बहुविश्वासको बहुत्वमा रहनुपर्छ