नेकपामा वामदेवको 'तेस्रो उदय' : प्रभावशाली वा निष्प्रभावी ?

नेकपामा वामदेवको 'तेस्रो उदय' : प्रभावशाली वा निष्प्रभावी ?

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  भदौ २९, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रस्तावित उपाध्यक्ष वामदेव गौतम अन्य नेताहरूभन्दा निकै चलायमान नेता मानिनु हुन्छ । कहिले एक्कासि 'शक्तिशाली' र 'सफल नेता'मा आफूलाई देखाउने र कहिले एकदमै प्रभावविहीन र असफल नेताकाे पहिचानसमेत बनेकाे छ गौतमको । 

विगतलाई हेरेर पार्टीभित्र शक्ति र सफलताको हिसाबले भन्ने हाे अहिलेको वामदेवको अवस्थालाई पुनः तेस्रो पटक वामदेवकाे उदयकाे रूपमा नेकपाभित्र लिन थालिएकाे छ । वामदेवकाे विगतका उदयहरूले सरकारमा तीन/तीन पटक उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारीमा पुर्‍यायाे भने पार्टीभित्र विधानमा नै नभएकाे शक्तिशाली 'उपमहासचिव' बनायाे ।

विगतमा जस्तै 'उपाध्यक्ष' पद सिर्जना गर्नु र त्यसमा वामदेव गाैतमलाई प्रस्तावित गर्ने कार्य तत्कालीन एमाले र हालकाे नेकपामा समेत 'तेस्राे' पटकको वामदेवको 'सफलता' हो । अर्काे अर्थमा भन्नुपर्दा आफ्नो अनुकूलतामा गुट परिवर्तन गर्दा पार्टीभित्र पदैपद हात पार्न सफल गौतम अरूले चाहेर वा नचाहेर पनि यतिबेला झनै 'शक्तिशाली' नेताका रूपमा देखा पर्न थाल्नुभएकाे छ । 

लामो समय किसान महासंघको जिम्मेवारी सम्माहाल्नुभएका गौतमले आफ्ना निकट सहयोगीलाई अध्यक्ष बनाएर केही दिनअघि मात्रै त्यहाँबाट विश्राम लिनुभएकाे छ । अत्यन्त 'महत्त्वाकांक्षी' मानिने गौतमका लागि जति नै पद भए पनि नपुग्ने नेताका रूपमा समेत आलाेचना हुने गरेकाे छ। हाल पनि प्रस्तावित उपाध्यक्ष, संगठन विभाग प्रमुख र किसान महासंघको इन्चार्जको जिम्मेवारी वामदेवको काँधमा रहेकाे छ ।  

२०३२ सालको जेठ महिनामा तत्कालीन माले गठनको बेला  एउटा राष्ट्रिय भेला भएको थियो । सीपी मैनाली, माधव नेपाल, रामचन्द्र यादव, अमृत बोहरा, झलनाथ खनाल, मुकुन्द न्यौपाने, मणिलाल राई र गोविन्द न्यौपाने रहेको कोअर्डिनेसन केन्द्र बनाइयो, जसमा सीपी मैनाली, माधवकुमार नेपाल र रामचन्द्र यादव तीन जनाको ब्युरो बन्नेको थियो । यसरी निर्माण भएको कोअर्डिनेसन केन्द्रले पुष्पलाल समूहसँग छुट्टिएको मुक्ति मोर्चा समूहलाई एकताबद्ध गर्‍यो, जसमा जीवराज आश्रित, मोदनाथ प्रश्रित, मदन भण्डारी, वामदेव गौतम, सिद्धिनाथ ज्ञवालीलगायतका थिए ।

त्यसपछि मोहनविक्रम समूहबाट अलग भई बनेको र नेत्रलाल अभागीको नेतृत्वमा रहेको दाङको सन्देश समूहसँग एकता गर्ने र पूर्वको रातो झन्डा समूहलाई पनि पार्टीमा समावेश गराउने जिम्मा लिएका वामदेव गौतमले वासु शाक्यसहितका नेताहरूलाई भेला गरेर देशमा भर्खरै कम्युनिस्ट सत्ता प्राप्त हुनसक्ने जस्ता महत्त्वांकाक्षी भनाइ राख्ने गर्थे । लुम्बीनी क्षेत्रमा क्रियाशील रहेका गौतम र पूर्वमा रहेका कोकेका नेताहरूसहित जम्मा भएर २०३५ पुस ११ मा एक सम्मेलन गरी नेकपा (माले) गठन भयो । मालेको गठनपछि सानाठूला थुप्रै क्रान्तिकारी कम्युनिस्ट समूहरूलाई एकताबद्ध गर्दै नयाँ पार्टी निर्माण र विस्तारमा अन्य नेताहरूको जस्तै वामदेव गौतमको पनि उत्तिकै भूमिका रहेको छ ।

महाकाली सन्धिदेखि वामदेव पक्षधरहरू पार्टीभित्र असन्तुष्ट हुनुहुन्थ्यो । छैटौँ महाधिवेशनसम्म त्यसैको निहुँमा राजनीतीकरण हुँदै बखेडा भयो । पार्टीभित्र कहिले सन्धिका कारण, कहिले नेताहरूबीचको टकरावका कारण आरोप प्रत्यारोप लगाउने क्रम बढ्दै गएका बेला त्यसको असर तल्लो तहका कार्यकर्ताहरूमा समेत पर्न गएको थियो ।

पाँचौँ महाधिवेशनसम्म आइपुग्दा गौतम मदन भण्डारीको पश्चिम क्षेत्रको बलिया सहयोगीका रूपमा देखापर्नुभयो । त्यसैको परिणाम माधवकुमार नेपाल महासचिव भएका बेला उहाँलाई विधानमै नभएको पद उपमहासचिव दिएर पार्टी जिम्मा लगाएका थिए । २०५१ सालमा तत्कालीन एमालेको तर्फबाट महासचिव माधवकुमार नेपाल सरकारमा गएपछि गौतमलाई पार्टी हेर्नेगरी उपमहासचिवको जिम्मेवारी दिइयो । पार्टी सरकारबाट फिर्ता भएपछि उहाँको उपमहासचिवको पद खोसियो । पद खोसिएपछि उहाँ रानो हराएको मौरी जस्तो पार्टीभित्र 'अराजक नेता' भएर देखापरेको आराेप लाग्याे ।

तत्कालीन महासचिव माधव नेपाल अल्पमतको सरकारमा जाँदा पार्टी संचालनका लागि उपमहासचिव पद सिर्जना गरी वामदेव गौतमलाई जिम्मा दिइएको थियो । सरकार ढलेपछि वामदेवको पद खोसियो । त्यसको रिस पोख्न वामदेव गौतमले आजसम्म पनि माधव नेपालमाथि जाइलाग्ने गरेकाे आराेप लाग्ने गरेकाे छ ।

यसका कारण माधव नेपालले तत्कालीन राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउने र वामदेवलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएर सरकार पठाउन पार्टी बाध्यकारी निर्णय गर्नुपरेकाे थियो । सरकारमा दोस्रो हैसियतमा रहनुभएका वामदेव गौतमले त्यसबेला के मात्रै गर्नुभएन ? स्थानीय निकायको निर्वाचनमा एमालेलाई पहिलो बनाउनेदेखि तत्कालीन माओवादी दबाउने कालो ऐन ल्याउने भूमिका खेलेको आराेप वामदेव गाैतमलाई लागेकाे छ । परिणामत:  केही समयमै  सरकारबाट हट्नुपर्ने अवस्था आयाे ।

त्यति मात्र होइन, २०५४ सालमा वामदेव गौतमले ठूलो संख्याका साथ एमाले फुटाएर नेकपा माले गठन गर्नुभएकाे थियाे । एमाले विभाजन गरेर जानेलाई तात्कलीन नेतृत्वले अनुशासनहीन, पार्टी महाधिवेशनको फैसलालाई नमान्नेलगायतका आरोप लगाएको थियाे भने वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले 'पिलो निचोरिएको' टिप्पणी गर्नुभएको  थियो । 

महाकाली सन्धिदेखि वामदेव पक्षधरहरू पार्टीभित्र असन्तुष्ट हुनुहुन्थ्यो । छैटौँ महाधिवेशनसम्म त्यसैको निहुँमा राजनीतीकरण हुँदै बखेडा भयो । पार्टीभित्र कहिले सन्धिका कारण, कहिले नेताहरूबीचको टकरावका कारण आरोप प्रत्यारोप लगाउने क्रम बढ्दै गएका बेला त्यसको असर तल्लो तहका कार्यकर्ताहरूमा समेत पर्न गएको थियो ।

‘हाम्रो निर्णयलाई इतिहासले उच्च मूल्यांकन गर्नेछ’ भन्दै पार्टी फुटाउनुभएका गौतम ’पार्टी विभाजन गल्ती थियो, म आत्मालोचना गर्छु’ भन्दै २०५८ मा एमालेमै फर्कनुभयाे । तर, वामदेवकै शब्दमा साँवा पनि फर्काउन सकेनन् । मालेको एउटा समूह मात्रै लिएर फर्किनुभयाे वामदेव । त्यसयता पनि वामदेव पार्टीीभत्र विभिन्न उत्तारचढाव भोग्दै आउनुभएको छ ।  राजदरबारमा टीका लगाउन जानेदेखि पहिलो संविधानसभा निर्वाचन हारेपछि 'मलाई किन हराएको ?' भन्दै तत्कालीन माओवादी अध्यक्ष प्रचण्डसम्म जाने वामदेवको जीवनको उत्तारचढावभित्रै पर्ने  विषय हाे  ।

शक्तिबाहिर हुँदा पनि वामदेवले शक्ति अभ्यास गर्ने नेताभित्र पर्नुहुन्छ । सत्ता बाहिर रहँदा पनि सत्तालाई प्रभावित गर्ने नेताहरूको कोटीमा  वामदेवकाे नाम आउँछ । राजनीतिका जब्बर खेलाडीका रूपमा परिचित वामदेव गौतमलाई टाढासम्म हेर्ने र  धैर्य गर्ने शक्ति निकै कमजोर भएको नेताका रूपमा लिइन्छ । 

ओलीसँग निकटता

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष  ओली र नेता वामदेवबीच सम्बन्ध निकै उत्तारचढावपूर्ण छ । कुनै बेला केपी ओली लुम्बिनी अञ्चलको इन्चार्ज हुनुहुन्थ्यो । त्यतिबेला वामदेव गौतम भूमिगत रूपमा पूर्वतिर आएका बेला ओलीको लुम्बिनी इन्चार्ज  खाेसिएकाे  थियो ।  त्यसपछि दुवै नेता जेल पर्नुभयाे । केन्द्रीय कारागारमा दुवै नेताको भेट त भयो तर खासै कुराकानीसमेत नहुने अवस्था थियाे ।

नेता ओली गोलघरमै रहेका बेला गौतम छुट्नुुभएकाे थियाे । दुवैको भेट २०४५ सालतिर मात्रै भएकाे बताइन्छ। २०४५ सालमा चौथो महाधिवेशनमा मदन भण्डारी र माधव नेपालसँगै रहेका गौतम जेलबाट छुटेपछि भने 'दोस्ती' गर्न थालेको बताइन्छ । त्यसैको फल स्वरूप २०४९ सालतिर आइपुग्दा उहाँहरू दुवै जना मिलेर माले मार्क्सवादी एकीकरण भााड्नसमेत  लागेकाे आराेप लाग्ने गरेको छ ।  

तर, मदन भण्डारीले बोलाएर 'अब आइन्दा यस्तो नगर्नू, गरे पार्टीबाटै निकालिदिने' बताएपछि दुवै जना चुप लागेको सन्दर्भ  पार्टीभित्र बारम्बार उठ्ने विषय हो । दुवै नेताको सम्बन्ध भने २०५४ सालको आसपासमा राम्रै थियो । जब महाकाली सन्धिको पक्ष र विपक्षमा नेताहरू विभाजित भए, त्यसबेला ओली र गौतमको सम्बन्ध नराम्रोसँग बिग्रियो । त्यसपछि उहाँहरूको सम्बन्ध एकै पटक वामदेवले पार्टी मिसाउँदा मात्रै सुल्झिएको थियो ।

२०६२ सालमा तत्कालीन विद्रोही माओवादीका अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराईलगायत नेतासँग रोल्पामै पुगेर वामदेव र युवराज ज्ञवालीले तत्कालीन एमालेका तर्फबाट ‘छ बुँदे सम्झौता’ गरेर आएपछि ओली र वामदेवको सम्बन्धमा दरार आएको थियाे । वामदेवलाई पार्टीमा कारबाही नै गर्नुपर्ने प्रस्ताव केपी ओली र विष्णु पौडेलले राख्नुभएकाे थियो । पार्टीसँग सल्लाह नै नगरी हतियार उठाएको पार्टीसँग वामदेवहरूले सहमति गरी एमालेलाई समाप्त पार्न खोजेको आरोप ओलीले लगाउनुभएकाे थियो । विश्वभरका राजनीतिक पार्टी र देशले माओवादीलाई कसरी हेर्छन्, अब आफूहरूलाई पनि त्यसैगरी हेर्ने भए भन्दै ओली र पौडेलले वामदेवलाई कारबाही गर्नुपर्ने प्रस्तावसमेत पार्टीमा राख्नुभएको थियाे । 

पछिल्ला दुई महिनायता गौतम प्रधानमन्त्री ओलीका निकट सहयोगी बन्नुको कारण पनि यसैको परिणाम हो । नेकपाको दोस्रो स्थायी कमिटी बैठकमा फरक मत राखेर ओली कित्ताबाट बाहिरिएको आभास दिनुभएका गौतमलाई फकाउन ओलीका हरकसरत कामयावी बने, जसको फल स्वरूप पहिलो पटक सिंगापुरबाट स्वास्थ्य उपचार गरी स्वदेश फर्कंदा वामेदव गौतम स्वागतका लागि विमानस्थल पुग्ने अवस्था सिर्जना भयाे ।

त्यही बेला पार्टीले बोलाएको कार्यकर्ता भेलामा पनि गौतममाथि कारबाहीको प्रस्ताव आयो । १४ वटा अञ्चल प्रतिनिधिको टिममध्ये झण्डै नौवटा समूहले गौतमलाई कारबाही गर्न माग गरेर भेलामा मत राखेका थिए । पछि पार्टी महासचिव माधव नेपालले नै आफूले गौतमलाई माओवादीसँग वार्तामा पठाएको र आफूसँगैको सहमतिमा रोल्पा सम्झौता भएको बताएपछि गौतम त्यसबेला कारबाहीबाट बच्नुभएकाे  थियाे । त्यसपछि बनेका दुईवटा सरकारमा भने नेता ओलीकै प्रस्तावबाट वामदेव उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुभएको थियाे  । 

पछिल्ला पाँच वर्षयता धेरैजसो समय वामदेवले ओलीलाई साथ दिइरहनुभएको छ । नवौँ महाधिवेशनपछि केही केही समयबाहेक ओली गौतम एकैसाथ अघि बढेको देखिन्छ । बर्दियाबाट चुनाव हारेपछि केही समय बिच्किएका गौतम अहिले ओली कित्तामा उत्साहपूर्वक लागिपर्नुभएकाे छ । नेपाली कम्युनिस्ट राजनीतिका अनौठा र विलक्षण पात्र वामदेव गौतम सानासाना विषयले उत्साहित  हुने  र साना विषयमै निरुत्साहित बन्ने गर्ने चरित्र प्रदर्शन गर्दै आउनुभएको  छ । 

पछिल्ला दुई महिनायता गौतम प्रधानमन्त्री ओलीका निकट सहयोगी बन्नुको कारण पनि यसैको परिणाम हो । नेकपाको दोस्रो स्थायी कमिटी बैठकमा फरक मत राखेर ओली कित्ताबाट बाहिरिएको आभास दिनुभएका गौतमलाई फकाउन ओलीका हरकसरत कामयावी बने, जसको फल स्वरूप पहिलो पटक सिंगापुरबाट स्वास्थ्य उपचार गरी स्वदेश फर्कंदा वामेदव गौतम स्वागतका लागि विमानस्थल पुग्ने अवस्था सिर्जना  भयाे ।  

स्वास्थ्य लाभ गरी स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीलाई सांसद सदस् समेत नरहेका गौतम अचानक स्वागतका लागि विमानस्थल पुग्नुलाई ओली-गौतम सम्बन्ध नजिकिएको रूपमा त्यही बेला नै अर्थ्याउन थालियो । एयरपोर्ट जाने कुरा कसैलाई थाहै थिएन । वामदेवले त्यहाँ जाने र स्वदेश फर्किएर आएका ओलीलाई समेत 'सरप्राइज' दिनुभएको थियो। प्रधानमन्त्री ओली स्वदेश फर्किएलगत्तै ओली-गौतम ‘डिनर’ भेट भएको थियो । त्यस क्रममा ओलीले पूर्व स्कुल विभागमा पूर्वमाओवादीहरूले गरेको दाबीलाई मिलाउन गौतमलाई जिम्मेवारी  दिनुभएको थियाे । ओलीले जिम्मा दिएको दोस्रो दिनमै स्कुल विभागमा अर्का अध्यक्ष दाहाल लचिलो बन्न तयार भएपछि विभागीय प्रमुखहरू टुंग्याउन दुई दिन लागेको थियो । विभागमा वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरूको सहभागितामा पनि गौतमकै हात रहेको छ ।

गत पुसमा सम्पन्न स्थायी कमिटीको बैठकमा गौतमले फरक मत राखेपछि ओली-गौतमबीचको सम्बन्धमा पुनः खटपट आएको थियो । त्यसयताका सचिवालय बैठकमा पनि गौतमले ओलीलाई साथ दिएनन् । पार्टी एकीकरण अन्तिम चरणसम्म पुग्दा पनि ओलीलाई साथ नदिनुभएका गौतम पछिल्लो समय ओलीको प्रमुख सल्लाहकारकै रूपमा देखापर्न थाल्नुभएकाे थियो ।  

असारको अन्तिम साताबाट ओली-गौतमको सम्बन्धमा सुधार आएपछि भने गौतमले बेरोकटोक बालुवाटार छिर्ने 'सुविधा' प्राप्त गर्नुभएकाे छ । गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्म दिनसमेत मनाउने अवसर प्राप्त गर्नुभएकाे थियाे । त्यसयता गौतमसँग प्रधानमन्त्री ओलीसँग निरन्तर संवाद हुने गरेकाे छ । संगठन विभागमा प्रस्ताव गरेपछि गौतम फुरुङ्ग पर्दै ओलीसँग निकट हुनुभयो ।

माधव नेपाललाई कर्नरमा पार्ने कसरत

ओली र गौतम मिलेपछि एकीकरणका मुख्य पात्र माधव नेपाललाई पार्टीभित्र कर्नरमा पार्ने कोसिस सुरु भएको छ । स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र जिल्ला कमिटीमा समेत बलियो उपस्थिति भएका नेता नेपाललाई कर्नरमा पार्न दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण भएको १५ महिनापछि नेकपाभित्र तेस्रो वरीयतामा झलनाथ खनाल ल्याउन पनि ओलीले-गौतमको निकटताले काम गरेकाे बताइन्छ ।

खनालले पार्टी एकीकरण गर्न गठन गरिएको समन्वय समिति हुँदासम्म वरिष्ठता ठीकै रहेको भन्दै एकीकरणको घोषणा हुँदा किन परिवर्तन गरियो भनेर आपत्ति जनाउँदै आएको र माधव नेपालले ओलीसँग सधैँ बार्गेनिङ पावर बढाउँदै लगेपछि ओलीले गौतमको साथ लिएर नेपाललाई कर्नरमा पार्ने कोसिस गर्नुभएकाे देखिन्छ । अहिले माधव नेपाललाई कर्नरमा पार्न सकियाे भने आफू आगामी महाधिवेशनमा अघि बढ्न सकिन्छ कि भन्ने दाउमा वामदेव गाैतम रहनुभएकाे देखिन्छ ।