डेंगु पहिचान गर्ने किट र रगत परीक्षण गर्ने मेसिन ल्याउन थप ५ करोड माग

डेंगु पहिचान गर्ने किट र रगत परीक्षण गर्ने मेसिन ल्याउन थप ५ करोड माग

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ ३०, २०७६

काठमाडौं ।  डेंगुका बिरामी बढेसँगै अस्पतालको खर्च पनि बढेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग थप रकम निकासा माग गरेको छ ।

विगत १५ दिनदेखि अस्पतालमा डेंगुका बिरामी बढेपछि अस्पतालको वार्षिक बजेट १५ दिनमै सकिएपछि अस्पतालले मन्त्रालयसँग थप ५ करोड रुपैयाँ निकासाको माग गरेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पतालमा डेंगु पहिचान गर्ने किट र रगत परीक्षण गर्ने मेसिन थप गर्न रकम माग गरेको स्रोतले बतायो ।

अस्पतालले डेंगु परीक्षण गर्ने किट प्रति किट ९५० रुपैयाँमा किने पनि बिरामीसँग भने परीक्षण शुल्क ५०० रुपैयाँ प्रति किट लिने गरेकव छ।

यसअघि राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निरीक्षणका क्रममा डेंगुको परीक्षण तथा उपचारका लागि आउने बिरामीसँग शुल्क नलिन अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए । तर, राज्यमन्त्री यादवले दिएको निर्देशन कार्यान्वयन हुन सकेको छैन ।

अहिले उक्त अस्पतालमा दैनिक ६०० बढी बिरामी डेंगु परीक्षण गर्न पुग्ने गरेका अस्पतालले जानकारी दिएको छ । अस्पतालले खर्च थेग्न नसक्ने भएपछि मन्त्रालयसँग थप बजेटको माग अस्पतालले गरेको बताएको छ ।