जर्जर नेपाली क्रिकेटको अन्त्यहीन कथा (नेपाली क्रिकेटको टाइमलाइनसहित)

जर्जर नेपाली क्रिकेटको अन्त्यहीन कथा (नेपाली क्रिकेटको टाइमलाइनसहित)

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ ३०, २०७६

वृटिसहरूले भारतमा उपनिवेश कायम गर्न थालेसँगै बेलायतीहरूको प्रिय खेल क्रिकेट एसियामा प्रवेश गरेको मानिन्छ । क्रिकेटको उत्पत्ति भन्दा पनि विकासको श्रेय इंग्ल्यान्डले लियो । आज क्रिकेटको जननीका रूपमा इंग्ल्यान्ड मानिने गरेको छ ।

विश्वमा सर्वाधिक लोकप्रिय खेल फुटबल बनेको छ । त्यसपछि धेरै देशको प्रतिनिधित्व र जनसंख्याको लोकप्रियतालाई मापन गर्दा क्रिकेट दोस्रो रोजाइमा पर्छ । इंग्ल्यान्डले आफ्नो साम्राज्य जहाँजहाँ पुर्‍यायो, त्यहाँत्यहाँ क्रिकेटको विकास द्रुत गतिमा भयो । सामान्य अर्थमा क्रिकेटको साम्राज्य वृटिस साम्राज्यसँगै फैलियो तर फुटबल जति सहज छ, क्रिकेट त्यति सहज नभएकाले जति फैलिनुपथ्र्यो त्यति फैलिन भने सकेन । परिणामतः फुटबलको तुलनामा विश्वव्यापी हुन सकेन क्रिकेट । तर, जति देशमा क्रिकेट लोकप्रिय छ, त्यतिले आधा विश्वको जनसंख्याको प्रतिनिधित्व भने गर्छ ।

त्यही विश्वको ठूलो जनसंख्यामा सानो हिस्सा रहेको नेपाल पनि क्रिकेट इतिहासको पुरानो साक्षी मानिन्छ । राणाकालमै नेपालमा क्रिकेट भित्रिएको मानिन्छ । वि. सं. १९९२ मा ठूला घरनाहरूले अंग्रेजले खेल्ने क्रिकेटको नक्कल गर्न सुरु गरे । अझ उनीहरूले रवाफ र शानका लागि क्रिकेट खेले । त्यसपछिका ९८ वर्ष अर्थात् नेपाली क्रिकेटले एक दिवसीय मान्यता पाउँदासम्म धेरै उतारचढावपुर्ण संघर्ष गरेको छ ।

क्रिकेटको बढ्दो लोकप्रियतासँगै नेपाली क्रिकेटको संघर्ष र सफल्ताको कथा सँगै जोडिएर आउनु जरुरी छ । त्यसो त अहिले पनि नेपालमा क्रिकेट मात्र होइन, धेरै कुराहरू वामे सरिरहेका छन् तर स्वतन्त्र रूपमा फैलाउनुपर्नेमा फैलिन नपाउँदैमा तिनलाई ओझेल पारिन्छ अर्थात् ‘सेप’ लागिहाल्छ । वर्ष गनिन्छ तर उपलब्धि जहाँको त्यहीँ हुन्छ । त्यसपछि बाँकी रहन्छ त केवल वर्तमानमा ‘विगतको पश्चात्ताप ।’

नेपाली क्रिकेट पनि यस्तै भइरहेको छ । नेपालभन्दा पछि विश्व क्रिकेटमा उदय भएको र आतंकवादले जर्जर भएको अफगानिस्तानको क्रिकेटले अहिले नेपाललाई गिज्याइरहेको छ । उसले अहिले टेस्ट राष्ट्रका रूपमा आफूलाई विश्वसामु उदय मात्र गराएको छैन, शक्ति राष्ट्रलाई हराएर तहल्का मच्चाइरहेको पनि छ । नेपाली क्रिकेट भने एकपछि अर्को गर्दै अन्त्यहीन विवादको शृंखलामा निरन्तर फसिरहेको छ ।

नेपालको क्रिकेटको औपचारिक यात्रालाई मान्दा सन् १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता गरेको पनि अब २४ वर्ष भइसकेको छ । तर, नेपाल अहिले पनि विश्व क्रिकेटमा वामे सर्दै गरेको राष्ट्रको रूपमै परिचित छ । सन् १९९६ मै एसीसी र आईसीसीले ‘एसोसिएटेड’ राष्ट्रको मान्यता दिएपछि नेपाली क्रिकेट फैलनुपर्ने थियो तर त्यस्तो भएन । समय रेखामा केही उपलब्धिहरू भए तर प्रभावकारी भएनन् र एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताका लागि २२ वर्ष संघर्ष गर्नुपर्‍यो ।

नेपाली क्रिकेट विस्तारै अघि बढिरहेकै थियो । सामान्य विवादबीच क्रिकेटको लोकप्रियता सन् २०१० को दशकमा ह्वातै बढ्यो, जब नेपालले क्रिकेटको छोटो फम्र्याट टी– २० मा विश्वकपका लागि स्थान बनायो । तर, त्यति नै बेला नेपाली क्रिकेट इतिहासमै जर्जर अवस्थामा पुग्यो । राजनीतिक हस्तक्षेपको कारण देखाउँदै सन् २०१६ मा नेपाल प्रतिबन्धमा पर्‍यो । त्यसयताका खेलाडीले भोगेका दुखद् चार वर्षको पीडाबारेमा चर्चा गर्नु अर्को दुखद् अवस्था हुनआउँछ ।

सन् २०१३ मा नेपालले नेपाली क्रिकेटमा ऐतिहासिक फड्को मार्न सफल भयो । उक्त वर्ष नेपालले सन् २०१४ मा बंगलादेशमा तय भएको टी– २० विश्वकपका लागि स्थान बनायो । तर, नेपाली क्रिकेट क्रिकेटको वास्तविक फम्र्याटका रूपमा रहेको एक दिवसीय (५० ओभर) विश्वकपमा भने अझै पनि छनोट हुन सकेको छैन ।

त्यसपछि नेपाली क्रिकेटले आईसीसी प्रतिबन्धबीच सन् २०१८ मा एक दिवसीय मान्यता प्राप्त गर्‍यो । चार वर्षका लागि यो मान्यता पाएको नेपालले यसबीचमा उक्त मान्यतालाई बचाउन र तन्काउन धेरै प्रतियोगिताहरू खेल्नुपर्छ र निरन्तर जीतसहित उच्च आत्मविश्वास आवश्यक पर्छ । तर, यी सबै कुराहरू अहिले नेपाली क्रिकेटमा देखिन सकेका छैनन् । यद्यपि, नेपालमाथि लागेको तीन वर्षे लामो क्रिकेट प्रतिबन्ध फुकुवाको चरणमा छ । यसले नेपाली क्रिकेटलाई केही खुसी अवश्य दिएको छ तर अझै पनि अन्योल टरेको भने छैन ।

नेपाली क्रिकेटको अन्त्यहीन कथा यो प्रतिबन्ध अन्त्य भएसँगै नयाँ रूपमा उदाउनेछ तर अपेक्षा सकारात्मक गर्न सकिन्छ । यो वर्ष नेपाली क्रिकेटले खुसी हुने अर्को मौका पाउनेछ, जसका लागि आईसीसीले गठन गरेको स्वतन्त्र कमिटीले जिल्ला र प्रदेश हुँदै केन्द्रको निर्वाचनको मिति तय गर्‍यो । अब १० र ११ असोजमा केन्द्रको निर्वाचन भएमा असोजमा बस्ने आईसीसीको बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्नेछ । त्यसपछि नेपाली क्रिकेट स्वायत्त निकायका रूपमा अघि बढेको देख्न सकिनेछ ।

यद्यपि, त्यसपछि एकले अर्को पधाधिकारीलाई लडाउने खेल सुरु हुने पक्का छ किनकि यहाँ स्वदेशको भन्दा विदेशको मोह बढी छ ।

एक दिवसीय मान्यतासम्मको नेपाली क्रिकेटको टाइमलाइन :

सन् १९२० : क्रिकेट भित्रियो
सन १९४६ : क्रिकेट संघ स्थापना
सन् १९८८ : आईसीसीद्वारा एफिलिएट राष्ट्रको सदस्यता प्रदान
सन् १९९६ : एसीसी र आईसीसीद्वारा एसोसिएट राष्ट्रको मान्यता
सन् १९९६ : पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता (एसीसी ट्रफी)
सन् २००० : पहिलो पटक एसीसी ट्रफीको सेमिफाइनलमा
सन् २००१ : क्यानडामा एक दिवसीय विश्वकप छनोटमा सहभागी
सन् २००३ : काठमाडौंमा पहिलो पटक एसीसी आयोजना, इमर्जिङ टिम कपको उपाधि प्राप्त
सन् २००४ : पहिलो पटक पहिलो श्रेणीको क्रिकेट प्रतियोगितामा सहभागी
सन् २००७ : एसीसी फास्ट ट्र्याक कन्ट्रिज च्याम्पियनसीप उपाधि प्राप्त
सन् २००८ : आईसीसी डिभिजन– ५ मा सहभागी, तेस्रो स्थान सुनिश्चित
सन् २०१० : आईसीसी डिभिजन– ५ मा उपाधि चुम्दै डिभिजन– ४ मा बढुवा
सन् २०१२ : आइसीसी डिभिजन– ४ को विजेता हुँदै डिभिजन– ३ मा प्रवेश
सन् २०१२ : पहिलो पटक एसीसी इलाइट ट्रफी प्राप्त, फाइनलमा युएई र नेपालबीच टाई भएको थियो
सन् २०१३ : इटालीमा भएको आईसीसी डिभिजन– ३ को विजेता हुँदै डिभिजन– २ मा प्रवेश
सन् २०१३ : पहिलो पटक आईसीसी टी– २० विश्वकपको छनोट खेलमा सहभागी
सन् २०१४ : बंगलादेशमा भएको टी– २० विश्वकपमा सहभागी, समूह प्रवेशको प्ले अफमा हङकङ र अफगानिस्तानलाई पराजित
सन २०१५ : आईसीसी एक दिवसीय विश्वकपको छनोट खेलमा सहभागी, नवौँ स्थानमा रहँदा डिभिजन– ३ मा घटुवा  एवं सोही वर्ष पुनः डिभिजन– ३ को विजेता हुँदै २ मा पुग्न सफल
सन् २०१५ : आईसीसी वर्ल्ड क्रिकेट च्याम्पियनसीपका लागि छनोट  
सन् २०१६ : आन्तरिक विवादका कारण आईसीसीद्वारा नेपाल क्रिकेट संघमाथि प्रतिबन्ध
सन् २०१७ : आईसीसी वर्ल्ड लिगमा खराब प्रदर्शनपछि पुनः डिभिजन– २ मा घटुवा
सन् २०१८ : नामिबियामा भएको आईसीसी डिभिजन– २ मा उपविजेता हुँदै १ मा प्रवेश
सन् २०१८ : जिम्बावेमा भएको एक दिवसीय विश्वकप छनोटमा आठौँ स्थान प्राप्त गरेपछि एक दिवसीय मान्यता