अभिव्यक्ति शृङ्खला–१२ मा जानु काम्बाङका ७ कविता र ११  गीत  प्रस्तुत

अभिव्यक्ति शृङ्खला–१२ मा जानु काम्बाङका ७ कविता र ११  गीत  प्रस्तुत

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ ३१, २०७६

काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रत्येक वर्ष आयोजना गर्ने नियमित वार्षिक सृजना वाचन कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को १२ औँ संस्करणमा बेलायतको अक्सफोर्ड निवासी कवि तथा गीतकार जानु काम्बाङ लिम्बू प्रस्तुत  हुनु भएकाे छ ।  

सेप्टेम्बर १४, २०१९ का दिन नर्थलण्डनको हाइवेकम, मिडल्याण्डमा आयोजित उक्त शृङ्खलामा जानुले दुई भागमा विभाजन गरेर आफ्ना सृजना प्रस्तुत गर्नु भएकाे थियाे ।कार्यक्रमको सुरूमा सात कविताहरू वाचन गर्नु भएकी  जानुले दोस्रो खण्डमा एघारओटा गीत सुनाउनु भयाे ।

 जानुको एउटा लोकप्रिय गीत तारा लक्समले गाएर सुनाउनु भएको कार्यक्रममा  जानुको गीतमा बनेको एउटा गीत एउटा गजलको म्यजिक भिडियो समेत प्रर्दशन गरिएको थियो । जानु काम्बाङको गीत र कविताका बारेमा डा‍. रूपक श्रेष्ठले समीक्षात्मक भनाइ राख्नु भएकाे थियाे । उक्त कार्यक्रममा जानुको पछिल्लो कृति ‘आँसुको लय’ गीतसङ्ग्रहको विमोचन गरिएको थियो ।  

ताप्लेजुङ स्थायी घर हुनु भएकी कवि तथा गीतकार लिम्बू बेलायतमा साधनारत सक्रिय स्रष्टा मध्येमा पर्नु हुन्छ । गीत, कविता, कथा, नियात्रा, मुक्तक र गजल विधामा सशक्तरुपमा कलम चलाउँदै आएकी उहाँका ‘शिविरमा ईश्वर’ कविताकृति, ‘अनुभव’ र ‘जानु’ गीति एल्बम र  ‘नउघ्रेको जून’ कथासङ्ग्रह र ‘आँसुको लय’ गीतसङ्ग्रह प्रकाशित छन् । बाल्यकालदेखि नै साहित्यमा रूचि राख्ने जानुका दर्जनौँ सृजनाहरू बेलायत तथा नेपाल आदि देशबाट निस्किने विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । उहाँका दर्जनौँ गीत चर्चित छन् ।

स्थापनाकालदेखि नै प्रतिभा प्रतिष्ठानले निमियत रुपमा हरेक वर्ष गर्दै आएको ‘अभिव्यक्ति शृङ्खला’मा यसअघि चोक गुरूङ, दयाकृष्ण राई, टंक वनेम, किशोर गुरूङ, अञ्जु अञ्जली, नोर्देन तेन्जिङ भुटिया, शशी थापा सुब्बा, रक्ष राई, निर्मला परिवेश राई, डा. रूपक श्रेष्ठ र गणेश राई प्रस्तुत भइसक्नु भएको छ । 

प्रतिष्ठानकी अध्यक्ष दिपा लिम्बू राईको अध्यक्षता र डा. रूपक श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा काम्बाङलाई दोसल्ला र ताम्रपत्रद्धारा सम्मानित गरिएको थियो ।  

जानु काम्बाङको प्रस्तुति सकिएपछि अन्य स्रष्टाहरूले पनि सृजना वाचन समेत गर्नु भएको थियो  । कवि तथा बाँसुरीवादक सेमन्त राईले मुक्तक र बाँसुरीको धुन प्रस्तुत गर्नु भएकाे थियाे भने नानु राना, लाहाङ चेम्जोङ, अमित थेवे, टंक राई लगायतका कविहरूले कविता वाचन भएको थियो । 

समारोहमा रिटायर्ड मेजर भवानी पन्धाक, बेलायत भ्रमणमा रहेका ‘मेरो अनलाइन टिभी’का निर्देशक विश्वराज सामेखाम, ताप्लेजुङ समाज युकेका अध्यक्ष बुद्धिमान दर्नाल, अक्सफोर्ड नेपाली समाजका अध्यक्ष पुष्पा राई, याक्थुम माङगेना चुम्लुङ युकेका अध्यक्ष कमला लिम्बू, लिङदेन समाज युकेका अध्यक्ष कृष्ण लिङदेन, किरात राई यायोक्खा युकेका उपाध्यक्ष प्रेम राई, किरात राई कलाकार संघ, युकेका उपाध्यक्ष निर्मला मादेन, लिम्बूवान  नागरिक समाज युकेका महासचिव लाहाङ चेम्जोङ र गायक तारा लक्सम, बिसी राईका साथै गायिका पुष्पा राईलगायतको उपस्थिति रहेको थियो ।