अमेरिकामा रहेका भारतीय समुदायकाे कार्यक्रममा मोदीसँगै अमेरिकी राष्ट्रपति ट्रम्प उपस्थित हुने

अमेरिकामा रहेका भारतीय समुदायकाे कार्यक्रममा मोदीसँगै अमेरिकी राष्ट्रपति ट्रम्प उपस्थित हुने

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ३१, २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालको पहिलो अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ । अमेरिकामा रहेका भारतीय समुदायले उनको सम्मानार्थ ह्युस्टनमा २२ सेप्टेम्बरका दिन आयोजना गरेको सार्वजनिक कार्यक्रममा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी जाँदै हुनुहुन्छ । कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्बोधन गर्ने समाचार प्राप्त भएको छ  ।

भारतीय प्रम नरेन्द्र मोदी संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन २१ सेप्टेम्बरमा अमेरिका जाने कार्यक्रम छ । २३ देखि २७ सेप्टेम्बरसम्म उहाँ महासभामा सहभागी हुनुहुनेछ । दोस्रोरो कार्यकालको मोदीको यो पहिलो अमेरिका भ्रमण हुनेछ । मोदीको सम्मानार्थ अमेरिकाको भारतीय समुदायले २२ सेप्टेम्बरका दिन ह्यूस्टनमा 'हाउडी मोदी' कार्यक्रम आयोजना गर्ने भएको छ । यस कार्यक्रममा ५० हजार भन्दा बढी भारतीयले  भाग लिने अनुमान गरिएको छ ।

मिडिया रिपोर्ट्सका अनुसार दिल्ली तथा वासि‌ंगटनका अधिकारीहरूले यस कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिका लागि प्रयास गरिरहेका बेला अमेरिकी राष्ट्रपतिले ह्युस्टनको कार्यक्रममा उपस्थिति जनाउने समाचार आएको छ ।

यस सार्वजनिक कार्यक्रमका अतिरिक्त मोदीले अमेरिकी कम्पनीका सीईओसँग 'राउण्ड टेबल' गर्ने कार्यक्रम पनि रहेको छ । अमेरिकी अधिकारीहरूले यी दुवै कार्यक्रममध्ये कुनै एक कार्यक्रममा अमेरिकी राष्ट्रपतिले भारतीय प्रमको साथ दिने बताएकामा राष्ट्रपति ट्रम्पले ह्युस्टनको कार्यक्रममा सहभागी हुने स्वीकृति दिनुभएको समाचार छ ।

भारतीय प्रम नरेन्द्र मोदी सन्  २०१४ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक अमेरिका जानुभएको थियो । त्यसबेला पनि न्यूोर्कको मेडिसिन स्क्वायरमा उहाँले भारतीय समुदायले आयोजना गरेको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । त्यस कार्यक्रममा धेरै अमेरिकी सांसद उपस्थित थिए ।

सन् २०१६ मा भएको दोस्रो अमेरिका भ्रमणमा मोदीले 'सिलिकन भ्याली'मा आयोजित सार्वजनिक कार्यक्रममा उपस्थिति जनाउनुभएको थियो । सन् २०१९ को भारतीय प्रमको रूपमा हुन गइरहेको तेस्रो भ्रमणमा ह्युस्टनको 'हाउडी मोदी' कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको खण्डमा यो अमेरिकी इतिहासको पहिलो घटना हुनेछ ।

अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले भारतीय समुदायले आयोजना गरेको सार्वजनिक कार्यक्रममा सहभागिता जनाएका छैनन् ।