गृहिणी महिलाकाे कामकाे मूल्यांकन कहिले होला ?

गृहिणी महिलाकाे कामकाे मूल्यांकन कहिले होला ?

निर्जला कक्षपति  |  दृष्टिकोण  |  भदौ ३१, २०७६

कहिलेकाहीँ लाग्ने गर्छ, घरको कामबाट गृहिणी महिलाहरूलाई कहिले मुक्ति मिल्ने होला ? न ‘सन्चो छैन’ भन्न पाउनु, न ‘आज थकाइ लागेको छ’ भन्न पाउनु, न त ‘आज मलाई अल्छी लागेको छ’ भन्न पाउनु वा घरका सबै जनालाई ‘एक दिनलाई भोकै बसम्’ भन्न पाउनु !

सम्झँदै साह्रै दिक्क लाग्ने ! आफूलाई भोक नलागे पनि, खान मन नलागे पनि, पकाउन रत्तिभर जाँगर नचले पनि भान्साको काम गर्नै पर्ने र घर परिवारका सदस्यलाई पकाएर खुवाउनै पर्ने बाध्यतामा गृहिणी महिलाहरू छन् । बाफ रे ! जागिरको पनि निश्चित समयावधि हुन्छ । काम गरेपछि ‘रिटायर्डमेन्ट’ भन्ने हुन्छ । काम गर्न मन नलागेपछि राजीनामा दिन सकिन्छ । तर, यो घरको काम कस्तो काम हो, कहिल्यै ‘रिजाइन’ दिन पनि नसकिने, कहिल्यै ‘रिटायर्ड’ हुन पनि नपाउने ?

आज गर पनि त्यही काम, भोलि गरे नि त्यही काम । फेरि काम गरेर कहिल्यै नसकिने ! जति पढे पनि, जति नै ठूलो जागिर खाए पनि घरको कामले महिलाहरूलाई च्वाट्टै छोडेको पाइँदैन । अन्योन्याश्रित सम्बन्ध रहेको यो घरको कामबाट कतिपय महिलाहरूले मरेपछि मात्र मुक्ति पाउने गर्छन् ।

समय धेरै बदलिइसकेको छ, काम गर्नका लागि अत्याधुनिक सुविधाहरू उपलब्ध छन् । प्रविधिले गर्दा आजका महिलाहरूलाई ‘सुपर मम’ बनाइदिएको छ तर काममाथि काम भने थपिँदै गएको छ । पहिलेका धेरै महिलाहरू घरको काममा सीमित हुन बाध्य थिए तर अहिले बिहान घरको काम सकेर अफिस पुग्ने महिलाहरू धेरै छन् । ‘मैले अफिस गरेकी छु, घरको काम गर्दिनँ’ भन्न पाउने अवस्था रहँदैन ।

प्रायः अफिस गर्ने महिलाहरूको दिनचर्या यस्तो हुने गर्छ । बिहान ५ बजे उठ्यो, हत्त न पत्त मुख धोयो, दाल बसाल्यो, दाल बसाल्दा बसाल्दै घर कुचो लगायो, तरकारी काट्यो, खाना बनायो । यति भइसकेपछि बच्चालाई ८ बजे स्कुल पुर्‍याउनुपर्ने हुन्छ । बच्चालाई खुवाइवरी तयार गरी स्कुल पठायो अनि बल्ल श्वास फेर्ने मौका मिल्छ । अनि आफूले खाना खाएर १० बजे अफिस पुग्यो ।

फेरि बच्चा फर्किने समयमा आफू पनि हतार हतार फर्किएर बच्चा टिप्यो । बच्चालाई खुवाउने समय भएको हुन्छ । पुनः रातीको खानाका लागि जोरजाम गर्नुपर्ने बाध्यता हुन्छ । पकायो, खायो अनि सुत्यो । भोलि फेरि त्यही आजको जस्तै रुटिन हुन्छ । घरको कामले कहिल्यै नछाडेको देख्दा साह्रै दिक्क लाग्छ ।

अलिक राम्रो कमाइ भएका महिलाले त घरमा सहयोगी राख्न सक्लान्, कमाइ राम्रो नहुनेको त हरिविजोग नै हुन्छ र अझ घरमा काम गर्न नसक्ने वृद्ध बाआमा छन् भने त समस्या कति धेरै हुने होलान्, हामी सहजै अनुमान गर्न सक्छौँ । यी सब समस्यासँग विशेषगरी घरकी बुहारीले बढी मात्रामा जुधिरहनुपरेको हुन्छ ।

कुल जनसंख्याको आधा भन्दा बढी रहेका महिलाहरूमध्ये धेरै महिलाहरूको दिन यसरी नै बितिरहेको छ । राष्ट्र निर्माणमा लाग्ने महिलाहरूको संख्या नगण्य छ ।

कोही यस्ता पुरुष व्यक्तित्व पनि छन्, जसले महिलाको हातले पकाएको खानाभन्दा मीठो खाना पकाउँछन् । अब महिलाहरूले पनि खाना पकाउँदा पुरुषहरूलाई सँगसँगै सहभागी गराउनु जरुरी भइसकेको छ । ‘हप्तामा कुनै एक थोक घरका पुरुषले पकाउने है’ भनेर बानी लगाउन सकिन्छ ।

अध्ययनले  के देखाएको छ भने, नेपालका महिलाहरूले २५ देखि ५० प्रतिशत समय घरको काममा खर्चिरहेका छन् । मानिसका लागि सबैभन्दा महत्त्वपूर्ण समय हुन्छ । जसरी कस्तुरीले समयमा आफ्नो सुगन्ध थाहा पाउन सक्दैन, त्यस्तै गरी मानिसले पनि समयमै आफ्नो सुगन्ध थाहा पाउन सकेन भने ऊ सधैँ पछि पर्छ । समय यति बलवान् छ कि समयलाई चिन्न सक्यो भने मानिस निकै माथि उक्लिन सक्छ । क्षमता, बुद्धि र विवेकशील भईकन पनि कति महिलाले समयको सदुपयोग गर्न पाएका छैनन् ।

घरको काम यस्तो काम हो, जुन कहिल्यै सकिँदैन । दिनको १५–१६ घण्टा घरको काममा जोतिएर पनि महिलाले गरेको घरको कामको मूल्यांकन छैन । बिहान १० बजेदेखि ५ बजेसम्म कसैले घरको काम गर्छ भने उसले महिनाको सजिलै २५ हजार देखि ३० हजार रुपैयाँ कमाउने गर्छ । तर, गृहिणी महिलाहरूले गरेको घरको कामको लेखाजोखा कसले गर्ने ? उल्टै तपाईंकी श्रीमतीले के काम गर्नुहुन्छ ? भनी हामीले कोही पुरुषलाई सोध्यौँ भने ‘केही गर्दिनन्, घरमा बस्छिन्’ भनेर जवाफ दिने गर्छन् ।

हाम्रो समाजमा सदियौँदेखि महिलाहरूले घरको काम गर्ने र पुरुषहरूले घरबाहिरको काम गर्छन् । तर, अहिले भने धेरै महिलाहरूले घरबाहिरको काम पनि गर्छन् र रुपैयाँ कमाउँछन् । महिलाहरूले पढेलेखेका छन् । आफ्नो खुटामा आफैँ उभिनुपर्छ भन्ने सोचमा तीव्र विकास भइरहेको छ । यस अवस्थामा महिलाले मात्र घरको काम गर्नुपर्छ भन्ने सोचमा व्यापक परिवर्तन आउनु आवश्यक छ ।

घरका पुरुषहरूले पनि भान्साको काम जान्नु आवश्यक भइसकेको छ । खाना पकाउने भन्ने कुरा पनि ‘प्राक्टिस’मै भर पर्ने कुरा हो । महिलाहरूले पनि पकाउँदै जाँदा मीठो खाना बनाउन जानेका हुन् । कोही यस्ता पुरुष व्यक्तित्व पनि छन्, जसले महिलाको हातले पकाएको खानाभन्दा मीठो खाना पकाउँछन् । अब महिलाहरूले पनि खाना पकाउँदा पुरुषहरूलाई सँगसँगै सहभागी गराउनु जरुरी भइसकेको छ । ‘हप्तामा कुनै एक थोक घरका पुरुषले पकाउने है’ भनेर बानी लगाउन सकिन्छ ।

मेरो एक जना साथीकहाँ माछा, मासु ल्याउँदा जहिल्यै उनका श्रीमान्ले पकाउने रहेछन् । अब त माछा, मासु पकाउन श्रीमानजी ‘च्यापियन’ भइसकेका छन् रे ! साथीले पकाएको माछा, मासु उनका श्रीमान्ले पकाएको माछा, मासुको अगाडि खल्लो हुन्छ रे !

हामी समतामूलक समाजको परिकल्पना गर्छौं, समतामूलक समाज हुनका लागि पुरुषको मात्र विकास भएर हुँदैन । महिलाको पनि उत्तिकै विकास हुनु जरुरी छ । महिलालाई घरको चौघेराबाट फुत्किन सक्ने बातावरण घरका सदस्यहरूले नै बनाइदिन जरुरी छ ।

अहिलेसम्म हेर्दा घरको काम अनुत्पादक कामको रूपमा लिइन्छ । यदि यसलाई उत्पादक बनाउन सकियो भने घरको कामलाई सम्मानजनक कामको रूपमा हेर्ने गरिन्थ्यो । घरको काम महिलाको काम मात्र होइन, घरमा बस्ने सबै सदस्यको हो र सबैले उत्तिकै जिम्मेवारीपूर्वक गर्नुपर्छ भनेर हामी सबैले बुझ्न सक्यौँ भने महिलाहरू घरको कामले थिचिने पो थिएनन् कि ?