पुरानो दम–खोकीबाट बच्ने उपाय

सीओपीडीको न्वारान

सीओपीडीको न्वारान धेरैपल्ट भएको इतिहास छ । पुरानो दम–खोकीलाई सीओपीडी भन्ने नाम दिइएको धेरे वर्ष अगाडिदेखि यो रोगका विषयमा वैज्ञानिकहरूले छलफल गरेका पाइन्छ । सन् १६७९ मा स्विट्जरल्याण्डका थिओफाइल बोनेटले सीओपीडीलाई ‘भोल्युमिनस लङ्ग्स’ अर्थात् फुलेको फोक्सो भनेका रहेछन् । सन् १७६९ मा इटालीका शरीर विज्ञानविज्ञ ग्रोभान्नी मोर्गेग्नीले ‘तुर्गिड लङ्ग्स’ भनेका थिए । सन् १८२१ म रेने लेनेकले ‘इम्फाइसिमा’ नाम राखे यस रोगको ।

विलियम ब्रिस्कोले सन् १९६५ मा यो पुरानो दम–खोकीलाई सीओपीडी भनेका हुन् ।

सीओपीडी भनेको के हो ?

पुरानो दम–खोकीलाई स्वास्थ्य विज्ञानका विशेषज्ञहरूले क्रोनिक अव्स्ट्रेक्टिक पल्मोनरी डिजिज अर्थात् छोटकरीमा सीओपीडी नामकरण गरेका छन् । क्रोनिक भन्नाले पुरानो बुझ्नुपर्छ । सास फेर्दा अक्सिजन फोक्सोमा पुग्छ र सास छोड्दा कार्बनडाइअक्साइड फोक्सोबाट बाहिर निस्कन्छ । पुरानो दम हुनेहरूलाई सास छाड्न गाह्रो पर्छ, जसको फलस्वरूप कार्बनडाइअक्साइडको मात्रा रगतमा बढ्छ ।

अव्स्ट्रेक्टिक भन्ने अंग्रेजी शब्दले सास छाड्दा अवरोध हुने कुरा बुझाउँछ । फोक्सोको रोगलाई अंग्रेजीमा पल्मोनरी डिजिज भनिन्छ  । यसरी  सीओपीडी भन्नाले फोक्सोको पुरानो सास फेर्न गाह्रो हुने रोग मान्नुपर्छ । सीओपीडीबाट पीडित महिला तथा पुरुषको रगतमा अक्सिजन कम भएर ओठ र जिब्रो नीलो हुन्छ । यसलाई अंग्रेजीमा सायनोसिस भनिन्छ ।

सीओपीडीलाई कसरी निदान गर्ने भनेर यो रोगका विषयमा विस्तृत अध्ययन गर्न नेसनल हार्ट, लङ्ग एण्ड ब्लड इन्ष्टिच्युट र विश्व स्वास्थ्य संगठनले स्थापित गरेको एउटा प्रोजेक्टलाई गोल्ड अर्थात् ग्लोबल इनिसिएटिभ फर क्रोनिक अव्स्ट्रक्टिभ लङ्ग डिजिज भनिन्छ ।

सीओपीडी धुम्रपान गर्नेहरूलाई हुने एउटा मुख्य रोग हो । सास फेर्दा सास फेर्ने श्वासको नलीभित्र धुलोका कणहरू र ग्यासले प्रभावित पार्दा श्वास नलीमा अवरोध आएर सास फेर्न गाह्रो हुन्छ । यो रोगलाई रोकथाम गर्नुका साथै यसलाई उपचार गरेर नियन्त्रण गर्न सकिन्छ ।

सीओपीडी भन्नाले क्रोनिक ब्रोङ्काइटिस, पल्मोनरी र इम्फाइसिमा नामक रोगहरू बुझ्नुपर्छ ।

क्रोनिक ब्रोङ्काइटिस भनेको के हो ?

कमसे कम वर्षमा ३ महिना, खोकी, दम र खकार निस्किएर लगातार दुई वर्षसम्म हुने फोक्सोको रोगलाई क्रोनिक ब्रोङ्काइटिस भनिन्छ । दम, खकार आउने अन्य फोक्सोका रोगहरू पनि हुनुुहुँदैन । सन् १९५९ मा शिवा सिम्पोजियमले फोक्सो कस्तो रोगलाई क्रोनिक ब्रोङ्काइटिस र कस्तोलाई इम्फाइसिस भन्नुपर्छ भन्ने विषयमा छलफल चलाएका थिए । सास फेर्ने साना नलीहरूलाई फुलाएर सास फेर्न सजिलो बनाउने औषधिलाई प्रयोग गर्दा दम एकदमै ठीक हुने, क्रोनिक ब्रोङ्काइटिसलाई केही मात्रामा फाइदा हुने तर इम्फाइसिमा एकदमै फाइदा नहुने कुरा स्पाइरोमेट्री नामक जाँचले देखाउँछ ।

सास फेर्ने नलीहरूलाई फुलाउने आस्थालिन जस्तो औषधि प्रयोगपछि  रेकर्ड गरिएको फोक्सोको जाँचले  एफभीआई १२ प्रतिशतभन्दा ज्यादा फाइदा भएको देखिएमा दम हुने सम्भावना हुन्छ । गिना अर्थात् ग्लोबल इनिसिएटिभ फर आस्थ्माले यो १२ प्रतिशतलाई प्रयोगमा ल्याएको हो ।

माथि उल्लेखित फोक्सो जाँच गर्ने पद्धति सन् १८४६ मा जोन हचिन्सनले पत्ता लगाएका थिए । हचिन्सनले पत्ता लगाएको मेसिनले भाइटल क्यापासिटी मात्र थाहा पाउन सकिन्थ्यो । सन् १९४९ मा टोफेन्यु र पिनेलीले एक सेकेण्डको भाइटल क्यापासिटी पत्ता लगाउने पद्धति प्रयोगमा ल्याएका हुन् । हिजोआज पनि स्पाइरोमेट्रीलाई फोक्सोको रोग निदानमा प्रयोग गरिन्छ ।

धेरैजसो खोकी दमले हो वा क्रोनिक ब्रोङ्काइटिसले गराएको हो भन्ने कुरा चिकित्सकहरूले छुट्याउन सक्छन् । केही प्रतिशत दम–खोकीद्वारा पिडित बिरामीहरूमा यी दुई रोग छुट्याउन सकिन्न । यस्तो अवस्थालाई आस्थ्मा–सीओपीडी ओभरल्याप भनिन्छ । यसमा आस्थ्मा र क्रोनिक ब्रोङ्काइटिसमा पाइने लक्षणहरू पाइन्छन् । यसै कारणले गर्दा यिनीहरूलाई छुट्याउन गाह्रो पर्छ तापनि अनुभवी चिकित्सकहरूलाई यो रोग उपचार गर्न त्यति मुस्किल पर्दैन ।

क्रोनिक ब्रोङकाइटिस र दमका लक्षणहरू मिल्दाजुल्दा भएकाले यिनीहरूलाई एकअर्कासँग छुट्याउन कहिलेकाहीँ त्यति सजिलो हुँदैन । यसै कारणले गर्दा दमलाई विशेषज्ञहरूले पहिले एउटै समूहमा राखेका थिए । यी फोक्सोका रोगहरूमा धेरै लक्षणहरू फरक भएको पाइएकाले अमेरिकन थोरासिक सोसाइटीले सन् १९८७ मा र युरोपियन रिम्पिरेटरी सोसाइटीले सन् १९९५ मा दमलाई सीओपीडी भन्न छाडेका छन् ।

इम्फाइसिमा भनेको के हो ?

पल्मोनरी इम्फाइसिमा सीओपीडी समूहमा पर्छ । स्टेथेस्कोप पत्ता लगाउने फ्रान्सवासी लेनेकले फोक्सोको श्वासप्रश्वास प्रणालीमा मद्दत पुर्‍याउने तल्लो भागका सास फेर्ने नलीहरू र अल्भियोलाई रोगग्रस्त हुने फोक्सोको रोगलाई इम्फाइसिमाको नाम दिएका थिए । चिकित्सकहरूले बिरामीलाई जाँचेर इम्फाइसिमा भएको शंका गर्न सक्छन् । छातीको एक्सरेले पनि इम्फाइसिमा देखाउन सक्छ । तर, इम्फाइसिमाको निदान गर्न सिटी स्क्यानले ठूलो मद्धत पुर्‍याउँछ  । सिटी स्कयानले विभिन्न प्रकारका इम्फाइसिमाको निदान गर्छ  र यसले अन्य प्रकारका फोक्सोका रोगहरू पनि पत्ता लगाउन मद्धत गर्छ ।

सास फेर्ने तल्लो भागको नली अर्थात् टर्मिनल ब्रोङ्कोलपछि सास फेर्न मद्धत गर्ने नली रेस्पिरेटोरी ब्रोङ्कोल, अल्भियोलाइमा जाने नली अल्भेलर डक्ट  र अल्भियोलाई आउँछन् ।

यी माथि उल्लेख गरिएका सबै श्वास नलीहरूलाई एसिनस भनिन्छ । इम्फाइसिमा यही एसिनसका विभिन्न भागहरू प्रभावित भएर फोक्सो रोग ग्रस्त हुन्छ ।

इम्फाइसिमाको एक किसिममा एसिनसको अघिल्लो भाग अथवा बीचको भाग वा प्रोक्सिमल एसिनस अथवा सेन्ट्रिलोवुलर इम्फाइसिमा प्रभावित हुन्छ । यो किसिमको इम्फाइसिमा धुम्रमान गर्नेहरू र कोइला कारखानामा काम गर्नेहरूमा ज्यादा पाइन्छ ।

अर्को किसिमको इम्फाइसिमालाई पानएसिनार इम्फासिमा भनिन्छ ।  यो किसिममा एसिनसका सबै भाग रोग ग्रस्त हुन्छन् र अल्फा– १ एण्टी ट्रिपसिनको कमी पनि हुन सक्छ ।

तेस्रो किसिमको इम्फाइसिमालाई तल्लो भागको अर्थात् डिस्टल पारासेप्टल इम्फाइसिमा भनिन्छ । यसमा अल्भियोलाईमा जाने नलीहरू प्रभावित हुुन्छन् । यस किसिमको इम्फाइसिमा सँगसँगै अरू किसिमका इम्फाइसिमा पनि पाइन्छन् । यस किसिममा  युवायुवतीहरूमा फोक्सोभित्र हावा छिरेर हुने न्युमोथोराक्स नामक रोग हुने सम्भावना ज्यादा हुन्छ ।

यी माथि उल्लेख गरिएका इम्फाइसिमाका प्रकारहरू पत्ता लगाउन विशेष किसिमको छातीको सिटी स्क्यान जसलाई एचआर सिटी स्क्यान भनिन्छ, त्यो गराउनुपर्छ । हिजोआज यो जाँच नेपालका धेरै ठाउँमा उपलब्ध छ । यो जाँच केही मात्रामा खर्चालु भएकाले आर्थिक अवस्था कमजोर हुने बिरामीहरूलाई भने आर्थिक संकट पर्न सक्छ ।

दम नामसँग अधिकांश मानिसहरू परिचित छन् । दम पनि सीओपीडी जस्तै सास फेर्न गाह्रा हुने, खोकी लाग्ने, सास फेर्दा छाती बज्ने र छाती भारी हुने रोग हो । दम बाल्यकालमा पनि हुन सक्छ तर सीओपिडी भने ४० वर्ष नाघिसकेका चुरोटप्रेमीहरूलाई ज्यादा हुन्छ । दममा आउँदे जाँदै गर्छ । दममा विशेष प्रकारका रक्तकोषहरू, सीडी फोर प्लस, टी–लिन्फोसाइट्स, इओसिनोफिल्स, इन्टरल्युकिन (आईएल– ४ र आईएल– ५) पाइन्छन् ।

क्रोनिक ब्रोङ्काइटिसमा अर्कै किसिमका रक्तकोषहरू पाइन्छन् । दमलाई क्रोनिक ब्रोङ्काइटिससँग छुट्याउन स्पाइरोमेट्रीले पनि मद्धत गर्छ । क्रोनिक ब्रोङ्काइटिस भएका बिरामीहरूका श्वास नलीभित्र सीडी ८ प्लस, टी–लिम्फोसाइट्स, न्युट्रोफिल्स र सीडी ६८ प्लस, मोनोसाइट्स र म्याक्रोफेजेज पाइन्छ ।

धेरैजसो खोकी दमले हो वा क्रोनिक ब्रोङ्काइटिसले गराएको हो भन्ने कुरा चिकित्सकहरूले छुट्याउन सक्छन् । केही प्रतिशत दम–खोकीद्वारा पिडित बिरामीहरूमा यी दुई रोग छुट्याउन सकिन्न । यस्तो अवस्थालाई आस्थ्मा–सीओपीडी ओभरल्याप भनिन्छ । यसमा आस्थ्मा र क्रोनिक ब्रोङ्काइटिसमा पाइने लक्षणहरू पाइन्छन् । यसै कारणले गर्दा यिनीहरूलाई छुट्याउन गाह्रो पर्छ तापनि अनुभवी चिकित्सकहरूलाई यो रोग उपचार गर्न त्यति मुस्किल पर्दैन । 

यो आलेखमा पुरानो दम–खोकीका विषयमा उल्लेख गरिएका  कुराहरूले यो रोग कस्तो किसिमको हो भन्ने कुरा प्रष्ट पार्छ । यो रोगका विभिन्न पक्षबारे पाठक वर्गलाई क्रमशः जानकारी गराइनेछ । यो रोग हाम्रो देशमा पनि एउटा ठूलो समस्याका रूपमा देखिएको तथ्यलाई ध्यानमा राखी यस रोगको विषयमा विस्तृत विवरण गरिएको जानकारी दिने नै छु । यो लेख सर्वसाधरणका लागि मात्र नभएर स्वास्थ्यकर्मीहरूका लागि पनि धेरै उपयोगी हुनेछ ।


प्रा.डा. डिबी कार्की,बरिष्ठ मुटुराेग विशेषज्ञ हुनुहुन्छ ।