बालश्रम निवारणमा स्थानीय सरकार चनाखो हुनुपर्ने

बालश्रम निवारणमा स्थानीय सरकार चनाखो हुनुपर्ने

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ ३१, २०७६

बाल विकास समाजले ‘पारदर्शिता र जवाफदेहिता हाम्रो प्रतिवद्धता’ भन्ने मुख्य सन्देशका साथ बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख रमादेवी राईको प्रमुख अतिथ्यतामा सामाजिक परीक्षण तथा सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष, विद्यालयका शिक्षक, विद्यार्थी, सरकोकारवाला निकायहरूको सहभागिता रहेको थियो । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा विभिन्न दाताहरूको आर्थिक सहयोगमा बालबालिकाको हक अधिकार सुनिश्चित गर्नका निम्ति विभिन्न कार्यक्रम तथा परियोजनाहरू सञ्चालन गरेको थियो ।

बालश्रम निवारण कार्यक्रमको सन्दर्भमा १४ वटा जिल्लाका विभिन्न नगरपालिका तथा महानगरपालिकाहरूमा संस्था जोडिएको छ । नेपाल सरकारको बालबालिकासम्बन्धी नीति तथा योजनाहरूलाई समयअनुसार परिमार्जन गरी बालअधिकार प्रत्याभूतिसहित बालश्रमको अन्त्य गर्ने दिशामा संघ, प्रदेश र स्थानीय सरकारसँगको प्रत्यक्ष समन्वयमा संस्थाले विभिन्न दाताहरूको सहकार्यमा काम गरिरहेको छ ।

कार्यक्रममा इँटाभटटामा काम गर्ने ५५ जना किशोर किशोरीलाई ३ महिने व्यावसायिक तालिम दिई व्यवसायका लागि आवश्यक सामग्री निःशुल्क रूपमा वितरण गरिएको थियो ।

बाल विकास समाजले गरेको कामबाट बालश्रम अन्त्यका लागि ठोस सहयोग पुग्ने र यस प्रकारका कार्यमा संस्थासँग समन्वय गरी अगाडि बढ्ने प्रतिवद्धता स्थानीय जनप्रतिनिधिले व्यक्त गरेका थिए । नेपाली बालबालिकाहरूको हकहितका लागि संस्थाले गरेको काम सराहनीय रहेको र आफ्नै नगरमा यस किसिमका काम गरेर इँटा उद्योगमा काम गर्ने बालबालिका तथा किशोर किशोरीहरूको सरंक्षणमा ठोस भूमिका खेलेको कुरा उल्लेख गर्दै यसरी आर्थिक पारदर्शिताले सफलताका लागि सहयोग पुग्ने कुरा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख रमादेवी राईले बताउनुभयो । आर्थिक पारदर्शिता सबै ठाउमा आवश्यक रहेको र पारदर्शिताले काम गर्नका लागि थप ऊर्जा दिने कुरासमेत उहाँले बताउनुभयो ।

बालअधिकार सुनिश्चित गर्नका लागि राज्य, सरकार, नागरिक समाज, संघसंस्था, अभिभावक, बालबालिका सबै पक्षले साझा धारणा बनाएर अगाडी जाने हो भने सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

बालश्रम निवारणका लागि स्थानीय सरकारले विशेष पहल गर्ने र आफ्ना वडा तथा नगरमा रहेका बालश्रमको पहिचान गरी सोही अनुरूप कार्ययोजना निमार्ण हुन सक्यो भने बालश्रम अन्त्य गर्न सहज हुने धारणासमेत उप प्रमुख राईले राख्नु भयो ।

विभिन्न समस्यामा परेका बालबालिकाहरूसँग बाल विकास समाज यो आर्थिक वर्षमा जोडिएको कुरा बताउँदै पारदर्शिता र जवाफदेहिता हाम्रो प्रतिवद्धता भन्ने नारालाई संस्थाले मुख्य रूपमा आत्मसात गरेको कुरा संस्थाका अध्यक्ष सुवास गौतमले बताउनुभयो । बालश्रम निवारणसहित बालअधिकार प्रत्याभूतिका लागि दाताको सहयोग नभए पनि क्षमताले भ्याएसम्म कार्यसमिति पदाधिकारी तथा शुभचिन्तकबाट आर्थिक सहयोग जुटाएर भए पनि आफूले सकेको सहयोग सरकारलाई गर्ने प्रतिबद्धतासमेत अध्यक्ष गौतमले व्यक्त गर्नुभयो । बालबालिकाका हितका लागि बनेका नीति तथा योजनाहरूलाई कार्यान्वयन गर्न सरकारलाई संस्थाको तर्फबाट सहयोगी भूमिका रहने र स्थानीय सरकारले आफ्नो नगर तथा वडामा सबै किसिमका बालश्रम रोक्न तदारुकता देखाउन आवश्यक भएको कुरा अध्यक्ष गौतमले बताउनुभयो ।

बालबालिकाहरूलाई विद्यालयमा टिकाउने वातावरण बनाएर अभिभावकहरूलाई बालश्रमको जोखिमताका बारेमा सजग गराउन सरकारले ठोस पहल गर्ने हो भने बालश्रम अन्त्य हुन समय नलाग्ने कुरा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिले बताए । नेपाल सरकारले आज बाल दिवस मनाइरहँदा हजारौँ बालबालिकाहरू भोकभोकै छट्पटाइरहेका हुन सक्छन् । बाल दिवसको नारा घन्काइरहँदा हजारौँ बालबालिकाहरू श्रममा रहेका होलान्, यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिएर नीति कार्यान्वयनका लागि आफ्ना संयन्त्रहरूमा कडाइ गर्ने हो भने बालश्रम अन्त्य गर्न बेर नलाग्ने कुरा कार्यक्रममा सरोकारवालाहरूले बताए ।

बाल विकास समाजले तालिम दिएर आवश्यक सामग्री पनि निशुल्क रूपमा हामीलाई उपलब्ध गराएको हुनाले अबदेखि इँटा भट्टामा नगई आफ्नै गाउँमा बसेर तालिममा सिकेअनुसारको व्यवसाय गर्ने कुरा सामग्री पाउने किशोर कशोरीहरूले बताए । यसबाट उनीहरूको जीवनमा नै सकरात्मक परिवर्तन आउने हुनाले यसले बालश्रम रोक्न मद्दत हुने विश्वास संस्थाका महासचिवले व्यक्त गरे ।